काठमाडौं– नेपाली सेनाले चीनबाट १४ टन स्वास्थ्य सामाग्री ल्याएको छ। चीनको ग्वाङ्जाओबाट नेपाल एयरलाइन्सको जहाजमार्फत नेपाली सेनाले दोस्रो पटक स्वास्थ्य सामाग्री ल्याएको हो। स्वास्थ्य सामग्री लिन जहाज बुधबार नै चीन उडेको थियो।
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले यस अघि जेठ ६ गते १८.९ टन स्वास्थ्य सामग्री पहिलो चरणमा ल्याएको जानकारी दिए। प्रवक्ता पाण्डेका अनुसार, २८ हजार पीसीआर किट, पीपीईलगायतका स्वास्थ्य सामग्री ल्याइएको छ।
नेपाली सेनाले बुधबारको पत्रकार सम्मेलनमा २८ टन स्वास्थ्य सामग्री दोस्रो लटमा ल्याउने बताए पनि १४ टन मात्रै सामग्री आएको छ। उनका अनुसार ३० वटा पोर्टेबल एक्सरे मेसिन रहेकाले अहिले हवाईमार्गबाट सबै सामान ल्याउन सकिएन र बाँकी सामग्री अब स्थलमार्गबाट तातोपानी भन्सार नाका हुँदै नेपाल ल्याईने छ।