काठमाडौं- नेपालमा कोरोना भाइरसको कुल संक्रमित संख्या हजार नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार १ सय ५६ जना नयाँ संक्रमित थपिएसँगै संक्रमित संख्या १ हजार ४२ पुगेको बताए।
स्वास्थ्य मन्त्रालयका अनुसार दैलेखमा ८, कैलालीमा २,दार्चुलामा १,स्याङ्जामा ३, नवलपुरमा १, धनुषामा २९, महोत्तरीमा १७, सप्तरीमा १४, मकवानपुरमा १, बर्दियामा ३, बाँकेमा १, झापामा २५, सर्लाहीमा ७, सिरहामा ६, रौतहटमा २०, दोलखामा २, सोलुखम्बुमा १, बझाङमा १ र सुर्खेतमा १३ जना संक्रमित थपिएका हुन्।
यो एकैदिन नेपालमा देखिएको सबैभन्दा बढी संक्रमित संख्या हो। यसअघि बुधबार १ सय १४ जनामा कोरोना संक्रमण भेटिएको थियो।
कुल संक्रमितमध्ये हालसम्म नेपालमा ५ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये १ सय ८७ जना उपचारपछि निको भएका छन्। जसमा पुरुषहरु १४४ र महिला ४३ जना छन्।
त्यस्तै संक्रमित मध्ये ९ सय ४० जना पुरूष रहेका छन् भने १ सय २ जना महिला रहेका छन्। प्रवक्ता देवकोटाका अनुसार अहिले क्वरेन्टाइनमा ८६ हजार ५७ जना छन् भने आठ सय ५० जनाको आइसोलेसनमा उपचार भइराखेको छ।
मन्त्रालयका अनुसार हालसम्म जम्मा ५१ जिल्लामा सङ्क्रमण फैलिएको छ ।