कर बुझाउन सरकारले दिएको निर्देशनकाे विराेधमा वीरगञ्जमा आज यूवा तथा व्यापारीहरुले अर्धनग्न प्रदर्शन गरेका छन्। सत्तारुढ नेकपा वीरगञ्ज महानगर कमिटीका अध्यक्ष रहबर अंसारीको नेतृत्वमा यूवाहरुले विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले आफ्ना लुगा अर्थमन्त्रीलाई बुझाउने बताएका छन्।
असांरीको नेतृत्वमा वीरगञ्जको घण्टाघर चोकमा भेला भएका यूवाहरुले पानी परिरहेको बेलामा आफुले लगाएको कपडा खोलेर अर्धनग्न प्रदर्शन शुरु गरेका थिए। ‘‘सरकारले यस्तो बेलामा कर तिर्न बाध्यामक स्थिती सृजना गरेर जनताको ढाँड सेक्ने काम गरेको छ’’, असांरीले प्रश्न गरे, ‘‘खाना खाने पैसा समेत जुटाउन गाह्रो भइरहेको बेलामा कर कहाँबाट तिर्ने?’’
प्रदर्शनमा उत्रिएका यूवाहरुले जनता भोका छन्, चुल्हो निभेको छ, अर्थमन्त्री मुर्दाबाद, बैंक ब्याज मिनाहा गर, सम्पूर्ण कर मिनाहा गर, डुबन्ते अर्थमन्त्री चाहिँदैन लगायतका नारा अंकित प्लेकार्ड बोकेका थिए।
अर्थमन्त्री डा. युवराज खतिवडाको निर्देशनमा आन्तरिक राजश्व विभागले यही जेठ २५ गतेभित्र कर नतिरे जरिवाना गर्ने सूचना जारी गरेको थियो। यसको चौतर्फी बिरोध हुन थालेपछि सरकारले कर तिर्ने समय थप गरेको छ। बुधबार दिउँसो आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्मका लागि थप गरेको नयाँ सूचना जारी गरिसकेको छ।


