विश्व प्रख्यात सामाजिक सञ्जाल फेसबुकले प्रयोगकर्तालाई आफ्नो फेसबुक हिस्ट्री डिलिट गर्न मिल्ने सुविधा उपलब्ध गराउँदै आएको छ। यो सुविधा गत वर्षकाे अगस्ट महिनाबाट आयरल्याण्ड र दक्षिण कोरियामा मात्र उपलब्ध गराएकाे थियो भने जनावरि २०२० बाट सम्पूर्ण प्रयोगकर्तालाई उपलब्ध गराएको छ।
हाल यो सुविधा वेब र मोबाइल दुबै भर्जनमा उपलब्ध रहेको छ। यो फिचरको मद्दतले फेसबुक प्रयोगकर्ताले थर्ड पार्टी एप्स तथा वेबसाइको प्रयोग गरी संकलित आफ्ना निजी डाटाहरु डिलिट गर्न सक्नेछन्। अर्थात यसको प्रयोगबाट तपाईंले कुन लिंक क्लिक गर्नुभयो, कुन वेबसाइट भिजिट गर्नुभयो, के सर्च गर्नुभयो जस्ता जानकारी हटाइ आफ्नो फेसबुकको ब्राउजिङ हिस्ट्री डिलिट गर्न सक्नुहुनेछ।
यसकाे लागि फेसबुकले सेटिङ भित्र ‘अफ–फेसबुक एक्टीभीटी’ भन्ने अप्सन उपलब्ध गराएको छ। जसमार्फत तपाईंले आफ्नो फेसबुकको हिस्ट्री क्लियर गर्न सक्नुहुनेछ।
त्यसका लागि निम्नलिखित उपाय अपनाउनुहोस्:
१. सुरुमा फेसबुकको एप खोल्नुहोस् र दायाँ साइडको माथि रहेको तीन वटा धर्काेमा क्लिक गर्नुहोस्।
२. भित्र ‘सेटिङ एण्ड प्राइभेसी’ (Settings & Privacy) मेन्यु रहेको छ। त्यसमा क्लिक गरेसँगै तपाईंले त्यहाँ अर्को ‘सेटिङ’ अप्सन देख्नुहुनेछ। त्यसमा क्लिक गरि भित्र छिर्नुहोस्।
३. त्यसपछि त्यहाँ ‘योर फेसबुक इन्फर्मेसन’ (Your Facebook Information) भन्ने सेक्सन भित्र तपाईंले खोज्नु भएको अप्सन फेला पार्नसक्नु हुनेछ।
४. त्यहाँ ‘अफ-फेसबुक एक्टीभीटी’ (Off-Facebook Activity) भन्ने अप्सन दिइएको छ। त्यसमा क्लिक गर्दा तपाईंले ‘म्यानेज योर अफ–फेसबुक एक्टीभीटी’ (Manage Your Off-Facebook Activity) र ‘क्लियर हिस्ट्री’ (Clear History) अप्सन पाउनु हुनेछ।
५. त्यसमध्ये दुबैको प्रयोग गर्न सक्नुहुन्छ। यदि तपाईं फेसबुकमा एड दिने थर्ड पार्टी साइटहरुको डेटालाई क्लियर गर्न चाहानु हुन्छ भने पहिलो अप्सनमा जान सक्नु हुनेछ। पहिलो अप्सनबाट जाँदा तपाईंले आफ्नो फेसबुकको ‘पासवर्ड’ हाल्नु पर्ने हुन्छ। त्यस्तै दोस्रो अप्सनबाट तपाईंले फेसबुकको हिस्ट्री सजिल्यै क्लियर गर्न सक्नु हुनेछ।