काठमाडाैं - ६ जनाको ज्यान जाने गरी रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन हुने भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पटकपटक प्रमुख प्रतिपक्षी दलले सो घटनाको अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरिरहेको र अन्य राजनीतिक दलले समेत सो विषयलाई प्रमुखताका साथ उठाएकाले समिति गठन गरिने जानकारी दिए ।
यसअघिका प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलका सांसद मात्रै नभई सत्तारुढ दलका दलित सांससदहरुले पनि घटनाको सत्य तथ्य अध्ययनका लागि संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्दे आएका थिए ।
त्यस्तै बैठकमा समय माग गरेर काँग्रेस सचेतक पुष्पा भुसालले सो घटनाका सम्बन्धमा सरकारका तर्फबाट प्रभावकारी छानबिन हुनेमा आशङ्का देखिएको जनाउँदै संसदीय छानबिन जरुरी रहेको बताए।
अन्तरजातिय प्रेम सम्बन्धको विषयलाई लिएर जेठ १० गते रुकुम पश्चिम चौरजहारीमा भएको घटनामा ६ जनाले ज्यान गुमाएका थिए ।