अष्ट्रेलियाका लागि नेपाली राजदुत महेशराज दाहालले अष्ट्रेलियामा रहेका नेपालीहरुको अवस्था सामान्य रहेको जानकारी दिएका छन्। नेपाल शैक्षिक परामर्श संघ इक्यानद्वारा शुक्रबार आयोजित वेभिनारमा बोल्दै उनले त्यहाँ रहेका नेपालीहरुको सहयोगका लागि विभिन्न किसीमका पहलकदमी भइरहेको जानकारी दिए।
महामारीबाट प्रभावित नेपाली नागरिक तथा विद्यार्थीहरुलाई अष्ट्रेलीयामा रहेका विभिन्न नेपालीहरुको विभिन्न संघसंस्थाहरुको सहकार्यमा सहजीकरण गर्ने कार्य भइरहेको राजदुत दाहालले बताए। दुतावासमा रहेको तथ्याङ्कअनुसार अहिले १३ सय जना नेपालीहरु नेपाल फर्कन चाहेको र त्यसमा २ सय ५० हाराहारीको संख्यामा विद्यार्थीहरु रहेको उनले बताए।
कार्यक्रमका सहजकर्ता एवम् इक्यानका द्वितिय उपाध्यक्ष शेषराज भट्टराईको प्रश्नको जवाफ दिने क्रममा राजदुत दाहालले नेपाल र अष्टे«लियाविचको सम्बन्धलाई अझ मजबुत बनाउन आफुँले पहल गरिरहेको बताए। त्यसका लागि द्विपक्षीय उच्चस्तरिय भ्रमणको वातावरण मिलाउने कार्य भइरहेको जानकारी दिदैँ उनले भने, ‘‘महामारीका कारण केहि असहज भएको छ, यसपछि हामी ठोस रुपमा अघि बढ्नेछौ।’’
नेपालका शैक्षिक परामर्श व्यवसायीहरुको सन्दर्भमा बोल्दै उनले व्यवसायीहरुलाई आफ्नो पेशाप्रति ईमान्दार हुन आग्रह गरे। ‘‘तपाईहरुमध्ये धेरैले राम्रो काम गरिरहनुभएको छ’’, सुझाव दिने क्रममा उनले भने, ‘‘केहि कमजोरीहरु छन् भने त्यसलाई सच्याएर अघि बढ्नुपर्छ।’’ अष्ट्रेलीयामा पढ्न जाने विद्यार्थीहरुले त्यहाँ सिकेको सिप आफ्नै मुलुकको लागि खर्चिनुपर्नेमा राजदुत दाहालले जोड दिए।
ईक्यानका केन्द्रिय अध्यक्ष प्रकाश पाण्डे, पुर्व केन्द्रिय अध्यक्ष विष्णुहरी पाण्डेलगायतको उपस्थिती रहेको कार्यक्रममा सहभागीहरुले आ–आफ्नो प्रश्न राखेका थिए। कोभिड–१९ महामारी शुरु भएपश्चात ईक्यानले आफ्ना विद्यार्थी, अभिभावक र व्यवसायीहरुको चासोको विषयमा विभिन्न किसीमका गतिविधीहरु गर्दै आएको उपाध्यक्ष भट्टराईले बताए।