पछिल्लो २४ घण्टामा नेपालमा २ सय ७८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। याे सँगै नेपालमा संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेकाे छ। यीमध्ये ११ जनाको मृत्यु भइसकेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए। जसमा २ सय ६७ पुरुष र ११ जना महिला रहेका छन्।
यस्तै पछिल्लो बिवरणअनुसार थप ४३ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन्। यससँगै कोरोनाभाइरस संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज हुनेका संख्या ३ सय ३३ पुगेको छ। निकाे हुनेमा २ सय ७२ जना पुरूष र ६१ जना महिला रहेका छन्।
मन्त्रालयको तथ्याङ्क अनुसार शुक्रबार गोर्खा, काँस्की र हुम्लामा पहिलो पटक संक्रमण पुष्टि भएको हो। आज सुनसरीका २१, झापाका ३१, मोरङका ६, अर्घाखाँचीका १, नवलपरासीका २, पाल्पाका १, रुपन्देहीका १८, सिन्धुलीका २, बाराका ३, तनहुँका २, भोजपुरका ५, कैलालीका ४, अछामका १,बझाङका १, डढेलधुराका ५, रामेछापका १८, काभ्रेका ५, दैलेखका ९०, गोर्खाका १, सुर्खेतका १,दाङका १, धनुषाका ४, गुल्मीका १, कपिलवस्तुका ४४,कास्कीका १, महोत्तरीका १७ र रौतहटका ६ जना संक्रमित थपिएका हुन्।
यस्तै ६८ वटा जिल्लामा संक्रमण फैलिसकेकाे मन्त्रालयले जनाएकाे छ। कुल संक्रमित मध्ये २ हजार ७ सय १७ जना पुरुष छन् भने १ सय ९५ महिला छन्।