नयाँदिल्ली - भारतमा कोभिड महामारीको संक्रमण उच्च देखिरहँदा सपिङ मल, रेस्टुराँ र धार्मिक स्थलहरु खुलाइएको छ।
कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउनबाट अर्थतन्त्र मात्र नभइ सामाजिक तथा सांस्कृतिक असरलाई न्युनीकरणका लागि त्यहाँको सरकारले अनलक–१ प्रावधानअनुसार होटल, मल, रेष्टुरा र धार्मिकस्थल खुला गरिएको हो ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार एक दिशानिर्देश जारी गरेर बढी संक्रमित क्षेत्र छोडेर बाँकी क्षेत्रका होटेल, शपिंग मल, रेष्टुरेन्ट र धार्मिक स्थलहहरु सोमबार अर्थात आजदेखि खोल्नका लागि अनुमति दिएको थियो
भारतमा संक्रमितको संख्या इटाली, स्पेन जस्ता देशहरु भन्दा धेरै पुगेको छ भने भारत संक्रमितका हिसाबले विश्वको पाँचौँ नम्बरमा पुगेको छ। आइतबार एकै दिन मात्रै भारतमा झण्डै दश हजार संक्रमित पुष्टि भएको छ।
बिभिन्न ठाउमा लकडाउन खुलेता पनि केही नियमको पालना अनिवार्य रुपमा गर्नुपर्ने भारत सरकारले जनाएको छ ।
यस्ता छन् नियमहरु
स्वास्थ्य मन्त्रालयका अनुसार यी क्षेत्रमा ६ फिटको दूरी कायम गर्नुपर्नेछ । मास्क, सेनिटाइजर र थर्मल स्क्रीनिंग अनिवार्य गरिएको छ ।
होटल तथा सपिङ्ग मलमा २४ देखि ३० डिग्रीसम्म एसी चलाउने अनुमति दिइएको छ र हावालाई स्वच्छ राख्न भनिएको छ । ती क्षेत्रहरुमा बिना लक्षणका मानिसहरुलाई मात्रै प्रवेशको अनुमति दिनुपर्ने छ र सार्वजनिक स्थलमा थुक्न प्रतिबन्ध लगाइएको छ ।
रेष्टुरेन्ट संचालकले सबै ग्राहकहरुको सम्पर्क ठेगाना, मोबाइल नम्बर, विदेश यात्रा तथा रोग भए त्यसको विवरण राख्नु पर्ने छ ।
यस्तै धार्मिक स्थल रु मलमा ६५ वर्षभन्दा माथि उमेर भएका व्यक्ति र १० वर्ष भन्दा कम उमेर भएका व्यक्ति तथा गर्भवती महिला र बिरामी व्यक्तिहरुलाई प्रवेश नगर्न भनिएको छ ।
धार्मिक स्थलमा आउनेहरुले आफ्नो जुत्ता चप्पल गाडीमै राख्नुपर्ने छ जो सँगै गाडी छैन उसले आफ्नो जुत्ता चप्पलको व्यवस्था आफै गर्नुपर्ने छ। मन्दिरमा प्रसाद दिइने छैन ।