काठमाडौंको न्यूरोडका व्यापारीहरुले आफुँखुशी पसल खोलेपछी मगंलबार असहज स्थिती सृजना भएको छ। लकडाउनको अवधी बढ्दै जादा समस्या भएको भन्दै व्यापारीहरुले आफ्ना व्यवसायहरु सञ्चालन गर्न शुरु गरेका थिए।
विभिन्न निकायमार्फत समेत दबाव र सुझाव आएपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले बैठक बसेर व्यवसाय सञ्चालनमा अवरोध नगर्ने निर्णय गरेको थियो। तर, प्रहरीले भने मगंलबार न्यूरोडमा खुलेका पसलहरु बन्द गराएका छन्। प्रहरीले पसल बन्द गराउने क्रममा बल समेत प्रयोग गर्नुपरेको थियो। ‘‘पुलीसले पसल बन्द गर भन्दै थियो, पसलेहरु मानिरहेका थिएनन्’’, एक प्रत्यक्षदर्शीले सुनाए, ‘‘बिवाद बढ्दै गएपछि झडपजस्तै भयो।’’
नेपाल राष्ट्रिय व्यवसायी महासंघले प्रहरीको कार्यलाई निन्दनिय भनेको छ। पसल खोल्ने बिषयमा प्रशासनले सकरात्मकता देखाएको भएपनि प्रहरीले अवरोध गरेको भन्दै व्यवसायी असन्तुष्ट बनेका छन्।
यता महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) श्याम प्रसाद ज्ञवालीले प्रशासनले व्यवसायहरु सञ्चालन गर्नदिने निर्णय नगरेको बताए। ‘‘हामी सबै थियो त्यो बैठकमा, त्यस्तो कुनै निर्णय भएको छैन्’’, उनले भने, ‘‘बुझाईमा केहि फरक पर्यो होला।’’
एसएसपी ज्ञवालीले न्यूरोडमा झडप नभएको बताउदै केहि असहज स्थिती सृजना भएको स्पष्ट पारे। ‘‘हामीले पसल बन्द गर्न आग्रह गर्यौ, उहाँहरुले मान्नुभएन’’, उनले थपे, ‘‘त्यहि क्रममा व्यापारीहरु अलि आक्रोशित हुनुभयो।’’ उनले अहिले त्यहाको अवस्था सामान्य रहेको बताए।
एसएसपी ज्ञवालीले पसल खोल्ने बिषयमा भने सरोकारवालाहरुविच छलफल गरेर नयाँ निर्णय गरिने बताए। ‘‘व्यापारीहरुलाई पनि अप्ठ्यारो परेको छ’’, उनले भने, ‘‘लकडाउनको मोडालिटी परिवर्तन गरेर सहज बनाउने प्रयासमा छौ।’’