नेपालमा चैत दोस्रो सातादेखि सुरु भएको लकडाउन अहिलेसम्म जारी छ। यसबाट आर्थिक क्षेत्रमा पुग्ने असर अकल्पनिय हुने अनुमान सुरु भइसकेको छ भने अन्तर्राष्ट्रिय व्यापार पनि निकै घटेको छ। सरकारले जेठ २५ गतेदेखि लकडाउनको मोडालिटी परिवर्तन गर्ने भनिएता पनि यसमा कुनै ठोस कदम चाल्न सकेको छैन। यद्यपी बजारमा चहलपहल भने सुरु भएको छ।
यस्ताेमा विभिन्न कम्पनीका नयाँ स्मार्टफाेनहरू बजारमा सार्वजनिक हुन थालेका छन्। सामाजिक दुरी कायम गर्दै केही स्मार्टफाेन बिक्रेता कम्पनीहरुले अनलाइन इभेन्टमार्फत नयाँ स्मार्टफाेनहरू लन्च गर्न थालेका छन् भने स्मार्टफाेन किन्ने ग्राहकलाई आकर्षित गर्न नयाँ–नयाँ अफर समेत सुरु गरिसकेका छन्।
यसै क्रममा शाओमीले तीन वटा स्मार्टफोन नेपाली बजारमा उपलब्ध गराई सकेकाे छ। कम्पनीले एमआई टेन (Mi 10), एमआई नाेट टेन लाइट (Mi note 10 Lite) र रेडमी नोट नाइन प्रो (Redmi Note 9 Pro) स्मार्टफोन लन्च गरेकाे हाे। त्यस्तै सामसङले पनि आफ्नो ग्यालेक्सी ‘एम’ सिरिज अन्तर्गतका नयाँ स्मार्टफोनहरु बजारमा सार्वजनिक गरेको छ। कम्पनीले ग्यालेक्सी एम थर्टिवान (Galaxy M31) र ग्यालेक्सी एम ट्वान्टिवान (Galaxy M21) नाम दिइएकाे दुई नयाँ स्मार्टफोनहरु गत साता अनलाइन इभेन्टमार्फत सार्वजनिक गरेको थियाे।