काठमाडौं- सरकारले कोरोना भाइरस (कोभिड-१९)रोकथाम, नियन्त्रण र उपचारमा भएको खर्च विवरण सार्वजनिक गरेको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शनिबार ट्विटमार्फत खर्च विवरण सार्वजनिक गरेका हुन्। उनले कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी) निर्देशन समितिको निर्णयअनुसार खर्च विवरण सार्वजनिक गरिएको जनाएका छन्।
सार्वजनिक विवरण अनुसार अहिलेसम्म आठ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च भएको छ। सरकारले औषधी उपचारमा ३ अर्ब ९० करोड, स्वास्थ्य पुर्वाधारका क्षेत्रमा १ अर्ब १२ करोड, जनशक्ति परिचालनमा ५ करोड ८३ लाख, क्वारेन्टिनमा १३ करोड ५५ लाख, अन्य शीर्षकमा ४० करोड १५ लाख खर्च गरेको जानकारी दिएको छ ।
संघीय सरकारका अन्तर्गत स्वास्थ्य मन्त्रालयले १ अर्ब ५८ करोड, रक्षा मन्त्रालयले २ अर्ब ४० करोड, २ करोड ४५ लाख, संस्कृति तथा पर्यटन मन्त्रालयले ५ करोड २० लाख, सहरी विकास मन्त्रालयले १ करोड ४२ लाख शिक्षा मन्त्रालयले प्रविधि र सिप सिकाईका लागि २ करोड ६१ लाख खर्च गरेको छ ।
यस्तै प्रदेश सरकारले १ अर्ब ३० करोड खर्च गर्दा स्थानिय सरकारले २ अर्ब ९८ करोड ५१ लाख खर्च गरेको छ । सुदुरपश्चिम प्रदेशले सबैभन्दा बढि ३६ करोड ४८ लाख खर्च गर्दा प्रदेश नम्बर ५ ले ७ करोड ७९ लाख खर्च गरेको छ । हाल सम्म कोरोना राहत कोषमा ४ अर्ब ८३ करोड रकम जम्मा भएको जनाईएको छ ।
सरकारले १० अर्ब खर्च भएको दाबी गरेपनि सार्वजनिक खर्च विवरण भने ८ अर्ब ३९ करोडको मात्रै छ ।
यता केही दिन यस्ता कोरोना रोकथाम र नियन्त्रणमा गरेको खर्च विवरण सार्वजनिक गर्न माग गर्दै देशैभर युवाहरुले स्वतस्फूर्त प्रदर्शन गरिरहेका छन् ।