काठमाडाैं - जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले ‘देशबेचुवा’को पहिचान गर्न आग्रह गरेका छन्। प्रतिनीधी सभा बैठकमा उनले लिम्पियाधुरा, लिपुलेक र कालपानी नेपालकै रहेको भन्दै नक्सा पुनः जारी गर्नुपर्ने अवस्था कसरी आयो भन्दै प्रश्न गरे।
‘‘५८ वर्ष अगाडी त्यो जमिन नेपालको नक्सामा थियो’’, नेता महतोले भने ‘‘त्यसपछि कसले देश बेच्यो प्रष्ट पार्नुपर्यो।’’ उनले संवादबाट नै समाधनको खोजी गर्नुपर्ने जिकीर गरे।
राष्ट्रियताको सवालमा मधेसी जनतामाथी बिभेद भएको भन्दै मधेसी जनताको अधिकार सुनिश्चित गर्नतर्फ पनि महतोले सरकारको ध्यानाकर्षण गराए। ‘‘आफ्नो अधिकारको लागि सयौँ मधेसी जनताले ज्यान गुमाएका छन्’’, उनले भने, ‘‘त्यसतर्फ पनि सरकारको ध्यान जावोस।’
त्यस्तै उनले संबिधान अझै पनि सबै नेपालीको हुन् नसकेको बताएका छन् । उनले आफूहरूले विगतमा दर्ता गराएको संशोधन प्रस्ताव पनि पारित हुनुपर्ने बताए ।
‘हिमाल पहाड र तराईका सबै नेपाली जनता आफ्नो भूमिप्रति संवेदनशील छन्’, महतोले भने । राष्ट्रियताको सवाल आउँदा मधेसीले गर्दैन भन्नु गलत भएको उनले बताए । ‘राष्ट्रियता कसैको एकलौटी होइन । राष्ट्रियता सम्पूर्ण नेपाली जनताको हो । आजबाट राष्ट्रियताको परिभाषा ठिकसँग लेख्नुपर्छ ।’
आजबाट राष्ट्रियता एकता र राष्ट्रियताको नयाँ व्याख्या गर्नु जरुरी भएको उनले बताए। उनले पटकपटक संविधान जारी भएको तर नटिकेको स्मरण गराउँदै अहिलेको संविधानको पनि त्यस्तै हुन नदिन आग्रह गरे ।