काठमाडाैं - लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपाली भूभाग निशान छापमा समावेश गरी संविधान संशोधन गर्न प्रतिनिधिसभामा पेश गरिएको प्रस्ताव सर्वसम्मतले पारित भएको छ। शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो ।
संविधान विधेयक पारित हुन प्रतिनिधिसभामा हाल कायम रहेका सदस्यको दुई तिहाइ बहुमत आवश्यक पर्छ । आजको मतदानमा सबै सहभागीले पक्षमा मतदान गरी राष्ट्रियताका विषयमा अभूतपूर्व एकता प्रदर्शन गरेका छन् । आज भएको मतदानमा संशोधनका पक्षमा २५८ मत प्राप्त भएको थियो । यसअघि विसं २०७२ फागुन ११ गते पहिलो पटक संविधान संशोधन भएको थियो ।
प्रतिनिधिसभाका कुल सदस्यमध्ये बैठकमा सहभागी २ सय ५८ जनाले मतदानमा भाग लिएका थिए। सो सङ्ख्या प्रतिनिधिसभामा तत्काल कायम २७५ सदस्यको दुई तिहाइभन्दा बढी हो । विपक्षमा भने कुनै पनि मत परेन ।
मतदान हुनुअघि संशोधन प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनिमतका लागि निर्णयार्थ प्रस्तुत गर्दा हुन्न भन्ने आवाज नसुनिएपछि विधेयक सर्वसम्मत पारित भएको घोषणा गरेका थिए। त्यसपछि सांसदको दस्तखतसहितको मतदानका लागि मत विभाजन गरिएको थियो ।
यसअघि कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त विधेयकमाथि सदनमा दफावार छलफल भएको थियो ।