भारतमा गएको २४ घन्टामा मात्र १४ हजार भन्दा बढी संक्रमित भेटिएका छन्। शनिबार भारतमा १४ हजार ५ सय १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हाे। भारतमा एकै दिन यतिधेरै मानिस संक्रमित भएको यो पहिलो घटना हाे। यो सँगै भारतमा संक्रमितको संख्या चार लाखको नजिक पुगेकाे छ।
भारत सरकार संघीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतमा तीन लाख ९६ हजार १ सय ८२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। काेराेना भाइरसबाट संक्रमित हुनेको संख्या लगातार बढिरहेकाे भारतमा आजसम्म १२ हजार ९ सय ७० व्यक्तिको मृत्यु भएको छ। भारतमा दुई लाख १४ हजार २ सय ९ जना उपचारपछि निको भएका छन् भने एक लाख ६९ हजार ३ सङ्क्रमित अझै उपचाररत छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार उत्तराखण्ठमा शनिबारसम्ममा कूल दुई हजार १ सय ७७ जना सङ्क्रमित भएका छन्। यसमध्ये एक हजार ४ सय ३३ जना निको भई घर फर्किएका छन्। कोभिड–१९ सङ्क्रमितकाे संख्या बढेसँगै उत्तराखण्ड राज्यले देहरादून शहरमा ४८ घण्टा (दुई दिन) लकडाउन गर्ने घोषणा गरेको छ।
देहरादून शहरका प्रहरी उपरिक्षक स्वेता चोबेका अनुसार दहरादूनमा बन्दाबन्दी शुक्रबार साँझदेखि शुरू भई सोमबार बिहान ७ बजेसम्म कायम रहनेछ। देहरादूनमा पछिल्ला केही दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि सङ्क्रमण रोकथाम र नियन्त्रणका साथै विरामीको व्यवस्थापनका लागि राज्य सरकारले ४८ घण्टा शहर बन्द गर्ने निर्णय लिएको उनकाे भनाइ छ।
बन्दका समय अतिआवश्यक सामग्रीको आपूर्ति गर्ने सेवा, खाद्यान्न तथा तरकारी पसल, औषधि पसललगायतलाई भने यो निर्णय लागु हुने छैन।