नयाँदिल्लि - भारतमा कोभिड–१९ सङ्क्रमित हुनेको सङ्ख्या एकै दिनमा अत्यधिक देखिएको छ । पछिल्ला केहीदिनमा सार्वजनिक भएका दैनिक विवरणहरुमध्ये आइतबार सवैभन्दा धेरै जना एकै दिनमा सङ्क्रमित भएको जानकारी दिइएको छ । सरकारी अधिकारीहरुले बताएअनुसार, भारतमा पछिल्लो २४ घण्टामा १५ हजार ४१३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।
योसँगै भारतमा आइतबारसम्ममा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या कुल चार लाख दश हजार ४६१ पुगेको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको सङ्ख्या १३ हजार २५४ पुगेको छ । भारतमा कुल सङ्क्रमित मध्ये एक लाख ६९ हजार ४५१ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने दुई लाख २७ हजार ७५६ जना सङ्क्रण मुक्त भएका छन् ।
प्रदेशगत रुपमा हेर्दा सवैभन्दा धेरै सङ्क्रमित रहेको महाराष्ट्र प्रदेशमा एक लाख २८ हजार २०५ जना सङ्क्रमित भएका छन् । ती मध्ये ५८ हजार ६८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने ६४ हजार १५३ जना सङ्क्रण मुक्त भएका छन् । महाराष्ट्र प्रदेशभरी कोरोनाभाइरसका कारण अहिलेसम्म पाँच हजार ९८४ जनाको मृत्यु भएको छ । त्यसैगरी तमिल नाडु प्रदेशमा ५६ हजार ८४५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । रासस