काठमाडाैं - पछिल्लो २४ घण्टामा नेपालमा ४ सय २१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। याे सँगै नेपालमा कुल संक्रमितको संख्या ९ हजार २६ पुगेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गाैँतमले देशका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप ४ सय २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए।
आज भेटिएका संक्रमितहरूमा ३ सय ५७ जना पुरूष छन् भने ६४ जना महिला रहेका छन् । कुल संक्रमितहरूमा ८ हजार २ सय ६ जना पुरुष छन् भने ८ सय २० जना महिला रहेका छन्।
यस्तै पछिल्लो बिवरणअनुसार थप १ सय ९४ जना कोरोनाभाइरसका बिरामि संक्रमणमुक्त भएर घर फर्किएका छन्। आज डिस्चार्ज हुनेमा १ सय ८६ जना पुरूष छन् भने ८ जना महिला छन् । यससँगै कोरोनाभाइरस संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज हुनेकाे कुल संख्या १ हजार ७ सय ७२ जना पुगेको छ। कुल डिस्चार्ज हुनेहरूमा १ हजार ६ सय २३ जना पुरूष छन् भने १ सय ४९ जना महिला रहेका छन् ।
नेपालमा हालसम्म पीसीआरबाट कुल १ लाख ७५ हजार १७३ र आरडीटीबाट २ लाख ६२ हजार १७४ वटा परीक्षण भएकाे छ ।मन्त्रालयका अनुसार हाल देशभर ९४ हजार ९ सय २८ जना क्वारेन्टिनमा रहेका छन् भने आइसोलेसनमा ७ हजार २३१ जना रहेका छन्। देशभर हाल ५०५ जना रेड जोनमा परेका छन्। तीमध्ये गत चौबीस घन्टामा २ जना रेडजोनमा परेका हुन्। यस्तै ७५ वटा जिल्लामा संक्रमण फैलिसकेकाे मन्त्रालयले जनाएकाे छ। मन्त्रालयका अनुसार अाज थप एककाे मृत्यु भएसँगै कुल मृत्यु हुनेकाे संख्या २३ पुगेकाे छ ।