काठमाडाैं - नेपालमा पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता . डा. जागेश्वर गौतमले थप एककाे मृत्यु भएको पुष्टि गरे। प्रवक्ता गौतमका अनुसार गुल्मीको छत्रकोट गाउँपालिका– ५, मैनडाँडाका ६९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
उनी प्यारालाइसिस उपचारका क्रममा भारत गएर गत २५ गते नेपाल आएका थिए । नेपाल आएपछि उनी होम क्वारेन्टाइनमा बसेका थिए । उनको असार ५ गते घरैमा मृत्यु भएको थियो । सोही दिन नमुना संकलन गरी प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएकोमा ६ गते कोरोना पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए । उनको शव नेपाली सेनाको सहयोगमा असार ६ गते नै व्यवस्थापन भइसकेको छ ।