काठमाडाैं– सोती घटनाको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन गएका सांसदसहित १० जना पक्राउ परेका छन्।
संयुक्त दलित राजनीतिक संघर्ष समितिका तर्फबाट ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री सरकारी निवास बालुवाटार गएका सांसद लक्ष्मी परियारसहितकाे टाेलीमाथी प्रहरीले लाठी चार्जसमेत गरेको छ। त्यसैक्रममा सांसद परियारको औँलामा चोट लागेको छ।
पक्राउ पर्नेमा पूर्वसांसद जीवन परियारसहित सुनिता मरिक ‘डोम’, दुर्गा बराइली, राजकुमार हिङमाङ, शर्मिला बागचन्द, शोभा सेन्चुरी, नानीमाया पुर्कोटी, हिक्मत महरा, लक्ष्मी थापा र राम नेपाल रहेका छन्। उनीहरूलाई अहिले नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखिएको छ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा जेठ १० गते दलित केटा र मल्ल थरकी केटीबीच विवाहको निहुँमा ६ जना मारिएका थिए। त्यस घटनामा परेर भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सन्दीप (सञ्जु) विक, लोकेन्द्र सुनार र गोविन्द शाहीले ज्यान गुमाएका थिए। त्यसैगरी रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको पनि हत्या भएको थियो।