कास्की– नेपालमा थप एक जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत ५५ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार राति मृत्यु भएको हो।
स्याङ्जाको सिरुवारी निवासी पुरुषको गएराति ११ः३५ बजे मृत्यु भएसँगै नेपालमा काेराेना बाट मृत्यु हुनेकाे संख्या २५ पुगेकाे छ।
गत असार ८ गते अस्पतालमा भर्ना भएका उनीमा मधुमेह र निमोनियाको पनि समस्या रहेको अस्पतालले जनाएको छ।
आज(बिहिबार) मात्र गण्डकी प्रदेशमा थप ११ जना कोरोना भाइरस संक्रमित भेटीएका छन्। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ७५३ पुगेको छ।
प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परिक्षणमा म्याग्दीका ६ जना त्यस्तै एक जना स्याङजाका र दुई जना बागलुका रहेका छन्।
त्यस्तै प्रदेश जनस्वास्थ्य प्रयोगशाला, हेटौडामा गरिएको परिक्षणमा नवलपरासीका दुइ जनामा काेराेना पोजेटिभ देखिएको हो।