काठमाडौं - नेपालमा मंगलबार थप ३ सय १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका बिभिन्न प्रयाेगशालामा गरेकाे परिक्षणमा थप ३ सय १६जना संक्रमित थपिएकाे बताए । आज थपिएकाहरूमा २ सय ४५ जना पुरुष र ७१ जना महिला रहेका छन् । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ । कुल संक्रमितहरूमा १ हजार ६ सय ५७ जना महिला छन् भने ११ हजार ९ सय ७ जना पुरूष रहेका छन् ।
कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको कुल संख्या ३ हजार १ सय ९४ रहेको छ । त्यसमा २ सय ७७ महिला र २ हजार ९ सय १७ पुरुष छन् । गत चौबिस घण्टामा मात्रै ९ महिला र ५१ पुरुष गरी ६० जना डिस्चार्ज भएका हुन्। मन्त्रालयका अनुसार नेपालका ७७ जिल्लामा काेराेना संक्रमण फैलिसकेकाे छ।
नेपालमा हालसम्म ५३ हजार ७० जना क्वारेनटाइनमा रहेका छन् भने १० हजार ३ सय ४१ जना अाइशुलेसनामा रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म काेराेनाबाट कुल मृत्यु हुनेकाे संख्या २९ पुगेको छ ।