काठमाडाैं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजका लागि तय गरिएको स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ । बैठक असार २६ गते सम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् ।
आन्तरिक विवाद मिलाउन शीर्ष नेताहरुको छलफल चलिरहेकाले बैठक पुनः सरेको हो । पार्टी र सरकारको समन्वयका विषयमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पछिल्ला दिनमा दैनिकजसो छलफल भइरहेको छ ।
पार्टी एकता जोगाउन दोस्रो तहका नेता र अन्य कार्यकर्ताले दवाव पनि दिँदै आएका छन् । पैँतालीस सदस्यीय स्थायी कमिटीको बैठक यही असार १० गतेदेखि शुरु भएको थियो ।