काठमाडौं – पर्यटनमन्त्री योगेश भट्टराईले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र विवाद चलिरहेको बेलामा चीनको पक्षमा बोलेका छन् । नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका भट्टराईले बुधबार फेसबुकमा चार बुँदे स्ट्याटस लेख्दै नेपालको मामिलामा चीनले खेलेको भूमिकाको प्रशंसा गर्दै भारतको गतिविधिबारे आलोचना गरेका छन्।
पहिलो बुँदामा उनले प्रश्न गरेका छन्, ‘संविधान बनाउने बेलामा असफल पार्न खोज्नु ठीक कि संविधान निर्माणप्रति सद्भाव राख्नु ठीक ?’ यस्तै दोस्रो बुँदामा मन्त्री भट्टराईले अर्को प्रश्न गरेका छन्, ‘पहिलो र दोस्रो संविधान सभाको बेलामा तराई र पहाड, जाति–जनजातिको सामान्य अन्तरविरोधलाई चर्काएर नेपालमा विग्रह ल्याउन प्रयत्न गर्नु ठीक वा त्यसलाई हल गर्न र नेपाल र नेपालीको एकताप्रति सदभाव राख्नु ठीक ?’
तेस्रो बुँदामा उनले नाकाबन्दीको कुरामा प्रश्न उठाएका छन्, ‘नेपालमाथि नाकाबन्दी लगाएर हायल कायल पार्न खोज्नु ठीक वा त्यो गलत हो, नेपाल र नेपालीलाई बाँच्न देऊ भन्नु ठीक ?’ चौथो बुँदामा मन्त्री भट्टराईले उल्लेख गरेका छन्, ‘पार्टी र पार्टीभित्रको अन्तरविरोधमा घ्यू थपेर नेपालको लोकतन्त्रलाई कमजोर बनाउनु र अस्थिरता सिर्जना गर्नु ठीक वा सबै पार्टीबीच राम्रो एकता बनाउँदै नेपालको समृद्धिप्रति सद्धभाव राख्नु ठीक ? भनेर प्रश्न गरेका छन् भने पाचौँ एवम् अन्तीम बुदाँमा उनले उल्लेख गरेका छन्, ‘कसैको पनि कुरा सुन्नु राम्रो हो । मान्ने नमान्ने अधिकार हाम्रो हो ।’