विश्वभरी कोरोना महामारीले सताइरहेको बेला गीत संगीतको क्षेत्रमा पनि उत्तिकै असर परेको छ । तथापि यससँगै कोरोनासम्बन्धि जनचेतनामूलक तथा यसबाट पाएको दुःखलाई लिएर पनि सिर्जनाहरु हुँदै आएको छ ।
यसै क्रममा चर्चित लोकगायक राजु परियारले कोरोनाको दुःखलाई समेटेर गीत ‘कोरोनाले रुवायो’ सार्वजनिक गरेका छन् । नेपाली महिलाहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा उनीहरुले ‘कोरोनाले रुवायो’ गीत बजारमा ल्याएका हुन् ।
गायिका पूर्णिमा मगरको साथमा गायक परियारले गीतको भिडियो सार्वजनिक गरेका हुन् । गीतमा राधिका पुन हमालको शब्द तथा लय रहेको छ भने महेश पुनले छायाँकन तथा सम्पादन गरेका छन् ।
विश्वमा फैलिएको कोरोनाको प्रकोपबाट परेको चपेटालाइ गीत मार्फत प्रस्तुत गरेका छन् । देशको अर्थतन्त्र धान्न नसक्ने अवस्था आएपछि सरकारले लकडाउनलाई केहि हदसम्म खुकुलो बनाएको र तीज नजिकिँदै गर्दा यसपालिको तीजमा घरबाहिर ननिस्की आफ्नै परिवारसँग रमाइला खुशीका खवरहरु साटासाट गर्दै तीज मनाउन गीतको शब्दमार्फत प्रष्ट पारेको छ ।
गीतमा कोरोनाका कारण साथीसँगी सँगसँगै तीज मनाउन नपाएको र यसपालिको तीज रमाईलो नहुने भएको कुरालाई प्रस्ट पारिएको छ । पछिल्ला दिनहरुमा फेरि भेट होला नहोला, कहाँ बसायो बाबरी, आधि कपाल जस्ता तीजका गीतहरु क्रमशः बजारमा आएका छन् ।