काठमाडौं– अष्ट्रेलियाले कोरोना भाइरस (कोभिड–१९) का कारण अस्तव्यस्त बनेको अर्थतन्त्र चलायमान बनाएको छ । विश्व नै महामारीको सिकार भइरहेको वर्तमान अवस्थामा अष्ट्रेलियाले विभिन्न नयाँ उपाय सहित अर्थतन्त्रलाई चलायमान बनाएको हो ।
यसबिचमा अष्ट्रेलियाले नयाँ विद्यार्थी भिषा व्यवस्था सम्बन्धी ५ वटा नियमहरु बनाएको मोरिसन सरकारका शिक्षामन्त्रीले प्रेस विज्ञप्ति जारी गर्दै बताएका छन् । सरकारको नयाँ नियम अनुसार पढ्नका लागि विभिन्न देशबाट अष्ट्रेलिया पुगेका विद्यार्थीहरुलाई विभिन्न खालका सहयोग प्रदान गर्ने जनाएको छ ।
अष्ट्रेलियालाई शैक्षिक रुपमा आकर्षित बनाउने उद्देश्य सहित सरकारले त्यहाँ अध्ययनरत आप्रवासी विद्यार्थीहरुलाई समस्यामा पर्न नदिने जनाएको हो । सरकारले विद्यार्थीहरुका लागि भिषा सम्बन्धी व्यवस्था गर्दै भिषा लागिसकेका विद्यार्थीहरुले अस्ट्रेलिया आउँन पाउने बताएका छन् ।
अष्ट्रेलियाको अर्थव्यवस्थामा प्रत्यक्ष ४० बिलियन डलर योगदान रहेको अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि त्यहाँको शिक्षा मन्त्रालयले हाल अष्ट्रेलिया बाहिरै बसी अनलाइन कक्षा लिइरहेकाहरुलाई अष्ट्रेलियन अध्ययनको मापदण्ड पूरा गरेको मान्ने जनाउँदै काम गर्नको लागि अनुमति दिने उल्लेख गरेको छ । भिषा लिएर पनि अष्ट्रेलिया जान नसकेका विद्यार्थीहरुले पनि पोष्ट स्टडी वर्क भिषाको निवेदन गर्न सक्नेछन् ।
साथै अन्तर्राष्ट्रिय विद्यार्थीहरुले कोरोना महामारीका कारण कोर्स समयमा पूरा गर्न सकेको छैन भने थप सुविधा दिँदै निशुल्क भिषाको व्यवस्था गर्ने जनाउको छ । भिषाको प्रतिक्षामा बसेका विद्यार्थीहरुको भने आवेदनमा बिचार गरिने उल्लेख छ ।