काठमाडौं– आउँदो तीजलाई लक्षित गर्दै गायिका सोफिया थापाले ‘अबको तीज नो ब्रत प्लिज’बोलको गीत आफ्नो शब्द र स्वरमा सार्वजनिक गरिन् । महिला जागरण र समानताका पक्षमा सिर्जना गरिएको सो गीत आएसँगै उनले विभिन्न खालको धम्की खेप्दै आएकी छिन् ।
हिन्दु जागरण नेपालले गायिका थापाको गीतप्रति आपत्ति जनायो । गीत हिन्दू धर्म बिरोधी भएको भन्दै हिन्दू जागरण नेपालले गीत तत्काल युटुबबाट हटाउन र ब्याण्ड गर्न भनेको छ ।
संस्थाका विभिन्न मान्छेले पटक–पटक फोन गरेर आफूलाई भौतिक क्षति गर्नेसम्मको धम्की दिएको गायिका थापा बताउँछिन् । तर, थापा आफूले केही गल्ती नगरेको जिकिर गर्छिन् ।
उनी भन्छिन्– ‘म महिला भएर महिलाको परिवर्तनका निम्ति बोलेको मात्रै हो । निराहार ब्रत बसेर श्रीमानको गोडाको पानी खाने संस्कार राम्रो होइन । त्यसैले ब्रतका नाममा आफूलाई कमजोर पार्ने र दासत्व स्विकार गर्ने काम नगरौं भनेर मैले गीतमा सामान्य तरिकाले आग्रह मात्रै गरेकी हुँ ।’
धर्ममाथि प्रहार गर्ने आफ्नो नियत नभएको थापा बताउँछिन् । थापा भन्छिन्– ‘बारम्बार फोनमा धम्की आईरहेका छन्, अब भौतिक रुपमै क्षती पु¥याउँछौं भनेर धम्की आउँन थालेको छ । अब म पनि प्रहरीमा उजुरी दर्ता गर्नेछु । गीत कुनै हालतमा युट्युबबाट हटाउँदिन् ।’ गायिकाले हिन्दू जागरण नेपालले आफ्नो स्वतन्त्रता हनन गरेको समेत उल्लेख गरेकी छिन् ।
यही गीतको विषयमा आएको धम्कीपूर्ण फोन संवाद गायिकाका श्रीमान मनोज पण्डितले फेसबुक मार्फत सार्वजनिक गरेका छन् । फोन संवादमा बारम्बार गीत हटाउन आग्रह गरिएको छ । गीतले हिन्दू धर्म र संस्कृतिप्रति आघात पुगेको हिन्दू जागरण संघको दावी छ ।
यो पनि पढ्नुहोस्:
श्रीमतीको गीतबारे मनोज पण्डितलाई आए यस्तो फोन (फोन वार्तासहित)
युट्युबबाट हटाइयो सोफियाको तीज गीत