काठमाडौं– गोंगबुमा भएको कृष्णबहादुर बोहोराको बीभत्स हत्याको कारण खुलेको छ । अभियुक्त कल्पना मुडभरी पौडेलले नक्कली फेसबुक आईडी बनाएर आफ्ना अन्तरंग फोटाहरु सार्वजनिक गर्न थालेपछि बोहोराको हत्या गरेको प्रहरीलाई बयान दिएपछि हत्याको कारण खुलेको हो ।
बाेहाेराले नक्कली फेसबुक आइडी बनाएर अन्तरंग तस्बिर सार्वजनिक गर्ने र आफूअनुकूल चल्न बारम्बार दबाब दिन थालेपछि बोहोराको हत्या गरेको पौडेलले स्विकारेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले पत्रकार सम्मेलनमा बताए ।
हत्यामा संलग्न पौडेललाई महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । खानेकुरामा स्लिपिङ ट्याबलेट राखेर खुवाएको र त्यसपछि अण्डकोषमा हानेर मारेको पौडेलले बयान दिएकी छन् । प्रहरीका अनुसार पौडेललाई शव व्यवस्थापनमा छोरीले सहयोग गरेकी थिइन् ।
यो पनि पढ्नुहोस्ः गोंगबु हत्याकाण्ड : फेसबुकमा चिनजानदेखि अवैध सम्बन्धसम्म
गोंगबुमा बोहोराको टाउको एक ठाउँ र शरीर अर्को ठाउँमा भेटिएको थियो । सुटकेसमा शव नआटाएपछि टाउको र खुट्टा काटेको उनले बताएकी छन् । बोहोराको टाउको र खुट्टा भने जेब्रा झोलामा अर्कै स्थानमा भेटिएको थियो । शरीर भेटिएपछि टाउको भने प्रहरीको जोजो नामक कुकुरले पत्ता लगाएको थियो ।
शवको सनाखत हुन नसकेपछि प्रहरीले फोटो नै सार्वजनिक गरेको थियो । त्यसपछि शव दाङका कृष्णबहादुर बोहोराको भएको खुलेको थियो । सनाखत भएकै दिन प्रहरीले पौडेललाई चितवनबाट पक्राउ गरेको थियो । उनलाई काठमाडौं ल्याएर महानगरीय प्रहरी परिसर काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।