कोरोना संक्रमण देशैभर बढिरहेको स्वास्थ्य मन्त्रालयले जनाइरहेको छ । यस सन्दर्भमा स्थानीयस्तरमा कोरोना रोकथाममा गरिएको पहलका सन्दर्भमा मेयरहरुसँग नेपाली पब्लिकले गतसातादेखि कुराकानी गरिरहेको छ । पूर्वका नगरपालिकाको मेयरहरुले दिएका जानकारी ‘प्रतिनिधि’ स्तम्भमा । – सम्पादक
दमक नगरपालिकाले कोरोनाको महामारी नियन्त्रण गर्न भुटानी शरणार्थीले छोडेर गएका क्याम्पको घरलाई आइसोलेसन सेण्टरका रुपमा परिणत गरेको छ । सरकारी तथा गैरसरकारी निकायका कर्मचारीबाटै संक्रमण समुदायमा फैलिएको र यसलाई नियन्त्रण गर्न भइरहेको पहलबारे दमक नगरपालिकाका मेयर रोमनाथ ओली यसो भन्छन्-
अहिलेसम्म दमक नगरपालिकामा ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यसमध्ये, ४१ जना निको भएर घर फर्किए । एकजनाको उपचारको क्रममा काठमाडौंमा मृत्यु भयो । पथ्थरीको शल्यक्रिया गरेको विरामीलाई संक्रमण भएको रहेछ । समुदायका गइसकेको महामारीलाई रोकथाम गर्न जनता आफैं सचेत हुनु पर्ने देखियो ।
यो लकडाउनका बेला संक्रमितको परीक्षणको दायरा बढाएका छौं । रेडियो, टेलिभिजनलगायत सञ्चार माध्यमबाट सचेतनाको कार्यक्रम पनि जारी छ । पहिलाको तुलनामा नागरिक बढी सचेत पनि छन् । हिजोसम्म हामीले २ हजार २४ जनाको पिसिआर टेष्ट गरिसकेका छौं । संक्रमितको सघन सम्पर्कमा आएका समुदायमा कन्ट्रयाक्ट ट्रेसिङ गराइरहेका छौं ।
- प्रदेशले हाम्रो प्रस्तावलाई स्विकारेन । भद्रपुरमा स्थापना गर्ने भयो, त्यहाँ जनशक्ति नभएर होला, समयमा नतिजा आउँदैन ।
वडा नं. ६ स्थित औषधी पसलमा कार्यरत दुई जनामा देखियो । विद्युत प्राधिकरण, दूरसञ्चार कार्यालय, मालपोतका कर्मचारीमा देखियो । वडा नं. ९ मा फाइनान्समा कार्यरत कर्मचारीमा पनि संक्रमण पाइयो । अरु चाहिँ होम क्वारेन्टाइन र नगरपालिकाले राखेको संस्थागत क्वारेन्टाइनमा संक्रमितहरु भेटिएका छन् ।
यहाँको अनुभवमा पब्लिकबाट भन्दा सरकारी गैरसरकारी कार्यालयबाट समुदायमा कोरोना संक्रमण भएको देखिन्छ । नमुना परीक्षण गर्दा यहाँ रहेका मजदुर वर्गहरुमा संक्रमण पाइएको छैन । आम्दा नेपाल अस्पताल, भुटानी शरणार्थी क्याम्प रहेको घरहरुमा गरी ५० बेड क्षमताको आइसोलेसन सेण्टर ३÷४ दिनमा तयार हुन्छ ।
संक्रमण नियन्त्रणमा प्रदेश र संघीय सरकारबाट समन्वय पर्याप्त भएको जस्तो त लाग्दैन । हामीकहाँ चाहिँ आइओएमले एउटा प्रयोगशाला उपलब्ध गराएको थियो । प्रदेश सरकारले मेशिन दिएको खण्डमा त्यहाँबाट कोभिड भाइरसको परीक्षण हुन सक्ने थियो । प्रदेशले हाम्रो प्रस्तावलाई स्विकारेन । भद्रपुरमा स्थापना गर्ने भयो, त्यहाँ जनशक्ति नभएर होला, समयमा नतिजा आउँदैन ।
आइसोलेशन बेड तयार गर्न प्रदेश सरकारबाट हामीलाई १५ लाख रुपैयाँ सहयोग आएको छ । जनताहरु भोकमरीमा नपरुन् भन्नेमा हामी सचेत छौं । अघिल्लो लकडाउनका बेला पनि राहत वितरण गरेका थियौं । हाल पनि स्टकमा केही रासन राखेका छौं । वडाको सिफारिसका आधारमा हामी तत्काल सहयोग गर्न तयार छौं । (कुराकानीमा आधारित)
प्रदेश १ का अरु नगरपालिकाका मेयरहरुका कुरा पनि सुनौं
महामारी रोक्न हामीसँग जादुको छडी छैन- राजन मेहेता, इनरुवा नगरपालिका
प्रदेशले हाम्रो प्रस्ताव स्विकारेन, भद्रपुरबाट समयमा रिपोर्ट आउँदैन- रोमनाथ ओली, दमक नगरपालिकाका
पाँच दिनमा आउने कोरोना रिपोर्ट एकैदिनमा- भीम पराजुली, विराटनगर महानगरपालिका
विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आवश्यक भूमिका खेल्न सकेन- तिलक राई, धरान नगरपालिकाका
हाम्रो स्रोतले मात्रै धान्न सक्ने स्थिति छैन- इटहरी उपमहानगरपालिका, द्वारिकालाल चौधरी