कोरोना संक्रमण देशैभर बढिरहेको स्वास्थ्य मन्त्रालयले जनाइरहेको छ । यस सन्दर्भमा स्थानीयस्तरमा कोरोना रोकथाममा गरिएको पहलका सन्दर्भमा मेयरहरुसँग नेपाली पब्लिकले गतसातादेखि कुराकानी गरिरहेको छ । पूर्वका नगरपालिकाको मेयरहरुले दिएका जानकारी ‘प्रतिनिधि’ स्तम्भमा । – सम्पादक
प्रदेश नं. १ भरिकै सबैभन्दा ठूलो अस्पताल विपी कोइराला स्वास्थ्य विज्ञान रहेको क्षेत्र धरान नगरपालिकाका संक्रमितले उपचारमा सहजता नपाएको गुनासो छ । ब्रिटिस र भारतीय सेनाको बसोबास बढी हुने यो शहरमा विदामा आएकाबाटै संक्रमण समुदायमा पुगेका लगायत विषयमा मेयर तिलक राई भन्छन्-
यस उपमहानगरपालिकामा कोभिड १९ को संक्रमितको संख्या २ सय पुग्न लाग्यो । परिस्थिति प्रतिकुल छ, जोखिम अद्यावधिक छ । दोस्रो चरणको लकडाउन भएको पनि २२ दिन हुन थाल्यो, यसले गर्दा केही नियन्त्रणमा छ भन्ने हामीलाई लागेको छ । हालसम्म धरानमा ५ जनाको मृत्यु भइसकेका छन् ।
यहाँ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३० जना जति कर्मचारी र स्वास्थ्य कर्मीमा संक्रमण देखियो । संक्रमितको उपचारबाट चिकित्सकहरुमा सर्ने, उहाँहरुबाट अन्य विरामीमा सर्ने यस्तो अवस्था छ । यो ब्रिटिस र भारतीय सेनाको बसोबास भएको शहर भएको हुँदा विदामा आउनु भएका भारतीय भुपू सैनिकमा पनि देखियो । रोजगारीका लागि भारत गएर फर्किएकाहरुमा देखियो । त्यसपछि समुदायमा संक्रमण फैलियो ।
हामीले ५० बेडको आइसोलेसन सेन्टर तयार हुँदै छ । हामीकहाँ उपचारको लागि ठूलो प्रतिष्ठान छ, तर विपीले उपचारमा आवश्यक मात्राको भूमिका खेल्न सकेको छैन । हामी उहाँहरुसँग समन्वय गर्ने कोशिस गरिरहेका छौं । ज्ञापनपत्र बुझाएका छौं । विद्यार्थीहरु डेलिगेसन गएका छन् । त्यहीका डाक्टर, नर्स आन्दोलनमा छन् । अस्पताल प्रशासनले काम गर्ने वातावरण बनाइरहेका छैनन् ।
हामीले अहिलेसम्म ३ हजार पीसिआर टेष्ट गरेका छौं । अघिल्लो पल्ट ३० हजार परिवारलाई तीन पल्टसम्म राहत वितरण गरियो । फेरि पनि कोही भोकै मर्न भने दिने छैनौं । दैनिक उपभोग्य वस्तु खरिद विक्रीका लागि भौतिक दूरी कायम गरी बिहान १० बजेसम्मका लागि खुला गरिएको छ ।
हाम्रो अनुभवमा पनि संघीय र प्रदेश सरकारको अपेक्षाकृत समन्वय छैन, सायद सबैले आ–आफ्नो कार्यक्षेत्र र दायित्व नबुझेको पनि हुनसक्छ । तर हामी आफैं प्रयास गरिरहेका छौं । (कुराकानीमा आधारित)
प्रदेश १ का अरु नगरपालिकाका मेयरहरुका कुरा पनि सुनौं
महामारी रोक्न हामीसँग जादुको छडी छैन- राजन मेहेता, इनरुवा नगरपालिका
प्रदेशले हाम्रो प्रस्ताव स्विकारेन, भद्रपुरबाट समयमा रिपोर्ट आउँदैन- रोमनाथ ओली, दमक नगरपालिकाका
पाँच दिनमा आउने कोरोना रिपोर्ट एकैदिनमा- भीम पराजुली, विराटनगर महानगरपालिका
विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आवश्यक भूमिका खेल्न सकेन- तिलक राई, धरान नगरपालिकाका
हाम्रो स्रोतले मात्रै धान्न सक्ने स्थिति छैन- इटहरी उपमहानगरपालिका, द्वारिकालाल चौधरी