आयुर्वेदका बारेमा चर्चा परिचर्चा चलिरहेको छ । यो जडीबुटी खानुस्– यो हुन्छ । बेसार खानुस्, यसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ आदि इत्यादि । कोभिड–१९ को महामारीले आक्रान्त विश्व अनि नेपाली समाजमा स्वास्थ्यसम्बन्धी जनचासो बढ्नु स्वाभाविकै पनि हो ।
चलनचल्तीको आधुनिक स्वास्थ्य पद्धति र आयुर्वेद स्वास्थ्य पद्धति तथा अन्य वैकल्पिक स्वास्थ्य पद्धतिका बारेमा बहस हुनु सकारात्मक हो । तर यसले कतै नकारात्मक बाटो त लिइरहेको छैन ?
वास्तवमा के हो त आयुर्वेदीय स्वास्थ्य पद्धति ? आयुर्वेदको प्रचलन कहिलेबाट सुरु भयो ? कहाँ–कसले चलन चलायो ? यो स्वास्थ्य पद्धतिले कुन सिद्धान्तमा रहेर उपचार गर्दछ ? यस आलेखले आयुर्वेदका आधारभूत पक्षहरुको संक्षिप्त रूपमा चर्चा गर्ने जमर्को गरेको छ ।
ऐतिहासिक कथाः कहाँ, कहिले, कसरी, कोबाट सुरु ?
चिनियाँ बुद्धमार्गी यात्री फासियान इसाको पाँचौ शताब्दीको पहिलो दशकमा यात्रा गर्ने क्रममा भारतको हालको पटना (त्यसबेलाको पाटलीपुत्र) आइपुग्छन् । त्यस बेलाको पाटलीपुत्रको रौनक अर्कै थियो अर्थात् दक्षिण एसियाको सभ्यताको प्रमुख केन्द्र थियो । प्राचीन दक्षिण एसियाली इतिहासका विविध पाटा केलाउने क्रममा योहानिस् ब्रोन्कहोर्स्ट, जसले विशाल मगधको सांस्कृतिक अध्ययन गरेर एक नयाँ सैद्धान्तिक अवधारणा अघि सारेका छन् ।
सन् २००७ मा प्रकाशित पुस्तक ‘ग्रेटर मगधः स्टडिज इन् द कल्चर अब् अर्ली इन्डिया’मा ब्रोन्कहोर्स्टले मगध सभ्यताको सांगोपांगो अध्ययन गरेका छन् । उनले मगध क्षेत्रमा छुट्टै संस्कृतिको सुरुवात इसापूर्व १ सय ५० भन्दाअगाडि नै भइसकेको दाबी गरेका छन् (पृ. १–८) । यो क्रमको निरन्तरता पछिल्ला ६ सय वर्षसम्म पनि रह्यो ।
- फासियानको यात्रा विवरण नै पहिलो हो, जसले स्वास्थ्यसम्बन्धी प्राचीन दक्षिण एसियाको चित्र सपाट व्याख्या गरेको छ ।
सम्राट अशोकको साम्राज्यको वैभवशाली राजधानी पनि भएकाले यस ठाउँको महत्ता अझै झल्कने भयो नै बौद्धमार्गीका लागि । यसै ठाउँमा तेस्रो बौद्ध सम्मेलन पनि भएको थियो (ल, विमल चुर्न, हिस्टोरिकल् जोग्राफी अब् अन्सिएन्ट इन्डिया १९८४ः२४९) । पाटलिपुत्र सहरको सांस्कृतिक वैभवबाट मोहित भएर उनै चिनियाँ बुद्धमार्गी यात्रीले आफ्नो यात्रावर्णन गर्ने क्रममा लेखेका छनन्, ‘यस देशका सहर तथा पुरहरु मध्य देशकै सबैभन्दा ठूला छन् ।
त्यहाँका बासिन्दाहरु सम्पन्न अनि एक–अर्काप्रति कसले राम्रो गर्ने भन्नेमा प्रतिस्पर्धा पनि गर्दछन् । वैश्य (व्यापारी)को प्रमुखले औषधि अनि सामाजिक सहयोगका लागि सहरमा घरहरु निर्माण गरेको छ । सहरका सबै गरिब दुःखी, असहाय, विधुवा, निःसन्तान पुरुषहरु अनि अशक्तजन, रोगी मान्छेहरुले त्यहाँबाट स्वास्थ्य म्बन्धी तथा खाद्य सहयोग प्राप्त गर्ने रहेछन् । औषधोपचारका आवश्यक सबै सामग्री उनीहरुले यहीँबाट प्राप्त गर्ने रहेछन् ।’ (लेग्ग, जेम्स, ए रेकर्ड्स् अब् बुद्धिस्टिक् किङ्गडम्ः बिइङ् अयान् एकाउन्ट बाइ द चाइनिज मङ्क फासियान अब् हिज ट्रावेल्स् इन् इण्डिया याण्ड सिलोन १९६५ः७९)
फासियानको यात्राविवरण नै पहिलो हो, जसले स्वास्थ्यसम्बन्धी प्राचीन दक्षिण एसियाको चित्र सपाट व्याख्या गरेको छ । यस विवरणले अझै अगाडि बढेर स्वास्थ्यको प्रणालीगत व्याख्या, माथि उल्लेख गरेजस्तै उपचार गृहहरुको बारेमा संकेत गर्छ । जुन कुरा चरकसंहितामा पनि उल्लेख गरिएको छ । यसरी प्राचीन दक्षिण एसियामा स्वास्थ्यसम्बन्धी धेरै ज्ञान थिए । अब प्रश्न उठ्छ, कस्तो ज्ञान थियो त ? कुन प्रणाली व्याप्त थियो त्यो समयमा ?
पक्कै पनि आयुर्वेदिक स्वास्थ्य प्रणालीको प्रचलन थियो ? अब त्यसो भए के हो त आयुर्वेद भनेको ? आयुर्वेद भन्नाले ज्ञान वा विज्ञान हो (संस्कृत– वेद) अनि सुस्वास्थ्य (संस्कृत–आयुस्) अर्थात् सुस्वास्थ्यका लागि ज्ञान । आयुर्वेदको सबैभन्दा अगाडिको शास्त्र चरकसंहिताले आयुर्वेद के हो भन्ने प्रसंगमा निम्न लिखित कुरा उल्लेख गरेको छ –
यसलाई आयुर्वेद भनिन्छ किनकि यसले हामीलाई बताउँछ (संस्कृतः वेदयति) कुन कुन चीजहरु, गुणहरु, अनि क्रियाकलाप जीवनवर्द्धक छन् र छैनन् । (चरकसंहिता, १.३०.२३)
अलि व्याख्या गर्नुपर्दा आयुर्वेद भनेको एउटा स्वास्थ्यप्रणाली हो, जसले रोगप्रतिरोधक अनि आचारिक पक्षलाई समेट्छ । यस पद्धतिले जीवनका हरेक पक्षहरुका बारेमा चर्चा गरेको छ, जस्तै कि एउटा मान्छेको जिन्दगीमा दाँत माझ्ने कुरादेखि लिएर नैतिकता, व्यायाम, खाद्यतालिकालगायत अनगिन्ती स्वास्थ्यसम्बन्धी खुराकहरु ।
यी सामान्य कुराका अतिरिक्त विशिष्ट पक्षहरु जस्तै रोगनिदान, उपचार पद्धतिलगायतका स्वास्थ्यका आधारभूत अनि विशिष्ट पक्षहरुको चर्चा यो उपचार पद्धतिले गरेको छ । स्वास्थ्य विशेषज्ञ कस्तो हुनुपर्छ ? उनीहरुका आचार–विचार कस्तो हुनुपर्छ भन्ने जुन अहिलेको आधुनिक स्वास्थ्य प्रणालीमा बुझिने हिप्पोक्रिट्सको शपथ जस्तै शपथका कुराहरु पनि निर्दिष्ट गरिएको छ आयुर्वेदका ठेलीहरुमा ।
- आयुर्वेदले प्रमुखतया जनावर र शाकसम्बन्धी वस्तुहरुको प्रयोगबाट औषधोपचार सिफारिस गर्दछ । जसको मुख्य पद्धति खानपान, वमन, विरेचन, शल्यक्रिया इत्यादि तरिकाबाट उपचार सिफारिस गर्दछ ।
आयुर्वेदका आधारभूत स्थिति
आयुर्वेदले सबैखाले स्वास्थ्य विवेचनालाई निर्देश गरेको छ, जसको आफ्नै वैशिष्ट्य इतिहास छ । विभिन्न व्याख्यान अनि तहगत अवस्थाको कारणले गर्दा आयुर्वेदको आधारभूत संरचना के हो भन्न अलिक अप्ठ्यारो छ (भूजास्टिक, डोमिनिक, द रुट्स् अब् आयुर्वेद २००३ः xvii) । यद्यपि प्रमुख वैचारिक क्लस्टर रहिआएको छ आयुर्वेदिक परम्परामा । दोष, धातु अनि मल यी तीन पक्षहरु प्रमुख पात्र हुन् आयुर्वेदिक उपचार पद्धतिका ।
त्रिदोष सिद्धान्त अर्थात् त्रिदोष–विद्याले तीन अर्ध–तरल वस्तुहरु हाम्रो शरीरमा हुन्छन् र तिनीहरुले शरीरको अवस्था निर्धारण गर्छन् । वात, पित्त अनि कफ यी तीन दोषहरु हुन् । त्रिदोष सिद्धान्त ग्रिकको प्राचीन स्वास्थ्य सिद्धान्तसँग मेल खान्छ, जसलाई हिप्पोक्रिट्स अनि गेलेन जस्ता स्वास्थ्य दार्शनिकहरुले प्रतिपादन तथा सम्पादन गरेका थिए । यी तीन दोषहरु शरीरका अन्य सात भागहरु जस्तै रगत, बोसो, बोन म्यारो, शुक्रलगायतसँग अन्तर्क्रिया गरिरहन्छन् । शरीरले त्याग गर्ने दिशापिसाब जुन मल हुन्, यिनीहरुसँग पनि निरन्तर अन्तर्क्रिया गरिरहन्छन् ।
आयुर्वेदले कसरी उपचार गर्छ भन्ने प्रश्न आइरहन्छ । आयुर्वेदले प्रमुखतया जनावर र शाकसम्बन्धी वस्तुहरुको प्रयोगबाट औषधोपचार सिफारिस गर्दछ । जसको मुख्य पद्धति खानपान, वमन, विरेचन, शल्यक्रिया इत्यादि तरिकाबाट उपचार सिफारिस गर्दछ ।
आयुर्वेदीय पद्धतिमा पनि इसाको पहिलो शताब्दीबाटै धातुजन्य पदार्थको प्रयोग भएको पाइन्छ । तर पनि यस्तो प्रयोग छिटफुट मात्रै हो, मुख्य कुरा आयुर्वेदीय पद्धतिमा आफ्नै द्रव्यगुण परम्परा छ, अर्थात् आफ्नै औषधी विज्ञान छ । इस्लामिक स्रोतहरुको प्रयोगबाट झाडाबान्ता जस्ता समस्या रोक्नका लागि अफिम पनि प्रयोग भएको पाइन्छ ।
आयुर्वेदका शास्त्रीय ग्रन्थहरुले प्रमुख रूपमा बौद्धदर्शनको मध्यम मार्गलाई आफ्नो प्रमुख बाटो बनाउँछन् विशेष गरेर उपचार पद्धतिमा । न त अति न त न्यून केवल मध्यम किसिमको । आयुर्वेदका प्रमुख हस्ती वाग्भटले आफ्नो प्रमुख ग्रन्थ ‘अष्टाङ्गहृदयसंहिता’मा यसलाई प्रस्ट्याएका छन्, जुन ग्रन्थको रचनाकाल इसाको सातौं शताब्दीलाई मानिएको छ (मूलेनबेल्ड्, गेरिट यान, ए हिष्ट्री अब् इण्डियन् मेडिकल् लिट्रेचर, १९९९–२००२, ठेली आइ ए, ५९७–६५६) ।
- अर्को रमाइलो पक्ष के हो भने मांसको प्रयोगलाई आयुर्वेदले स्विकारेको छ । कति स्वास्थ्य समस्याको निदानका लागि गाईको मासुलाई उपयुक्त ठहर्याइएको छ ।
त्यसैगरी अरु शास्त्रीय ग्रन्थ जस्तै चरकसंहिता, सुश्रुतसंहिताले संयमी आचारविचारलाई प्राधान्य दिएको छ । जस्तै कि खानामा, यौनमा, औषधीको मात्रामा साथै कति मात्रा हुनुपर्ने ? उक्त चीजहरुको प्रयोगको मुख्य कारण के हो ? आयुर्वेदीय उपचारपद्धतिका बारेमा कुरा गर्दा शरीर र यसको कार्यका बारेमा पनि बुझ्नुपर्ने हुन्छ । शरीरको प्रमुख प्रक्रिया भनेको पाचन हो । संस्कृत शब्दहरु, पाचन, दीपनले यही दहन गर्ने भन्ने प्राचनप्रणालीलाई इङ्गित गर्दछन् । सोही पाचनशक्तिलाई 'अग्नि' अथवा ‘जठराग्नि’ भनेर सम्बाेधन गरिन्छ आयुर्वेदीय साहित्यमा ।
जब हामीले खाएको खाना उक्त अग्निले पकाउँछ तब त्यो धातु बन्दछ, त्यो हो रस । खाना आमाशयमा रसको रूपमा रहन्छ । त्यसपछि अरु मुख्य ताप, पित्त इत्यादिको संयोजित कार्यबाट सो रस रगतमा परिणत हुन्छ । सो रगत मांसमा परिणत हुन्छ । अन्त्यमा ६ वटै धातुमा परिणत भएर शुक्र बन्दछ ।
शार्ङ्गधरले यो प्रक्रियाको विशेष चर्चा गरेका छन् आफ्नो संहितामा जुन इशाको चौधाे शताब्दीतिर रचिएको हो । शरीरका सबै अंगहरुबाट आकृष्ट गरिएको तत्त्व नै शरीरका लागि मुख्य बल समान बन्दछ जुन ओजस् हो, जसलाई तागत पनि भन्न सकिन्छ ।
त्यसैगरी नलीहरुको जालोहरुले ती तरल वस्तुलाई शरीरको एक ठाउँबाट अर्को ठाउँमा लाने गर्दछन् । ती नलीहरुमा दोष, वात, अनि मन पनि पर्दछन् । रमाइलो लाग्ने कुरा आयुर्वेदमा के पनि छ भने उन्माद नलीहरु अवरुद्ध भएर हुन्छ ।
अब रोग कसरी लाग्दछ भनेर हेर्याै भने, जब अवरुद्ध हुन्छ तब ती धातुहरु आफ्नो बाटोमा जान सक्दैनन् । त्यसले गर्दा समस्याहरु आउँछन् । पक्षघात, अपस्मार, घुँडा दुख्ने इत्यादि रोग लाग्छ भनेर सुश्रुतसंहितामा बताइएको छ ।
- गोमांस वाथजनित समस्याका लागि, विशेषतः अनियमित ज्वरोका लागि, सुक्खा खोकीका लागि, धेरै नै थकित भएको बेलाका लागि उपयुक्त हुन्छ भनिएको छ ।
आयुर्वेदको अर्को महत्त्वपूर्ण पक्ष भनेको वातावरण पनि हो । ऋतु परिवर्तनसँगै हामीमा धेरै परिवर्तन भइरहेको हुन्छ भन्ने कुरा शास्त्रीय ग्रन्थहरुले टड्कारो रूपमा गर्छन् । भोजनका बारेमा पनि निकै व्याख्या पाइन्छ । अर्को रमाइलो पक्ष के हो भने मांसको प्रयोगलाई आयुर्वेदले स्विकारेको छ । कति स्वास्थ्य समस्याको निदानका लागि गाईको मासुलाई उपयुक्त ठहर्याइएको छ ।
आयुर्वेदको पहिलो संहिता, (चरकसंहिता १. २७.७९) अध्यायमा यसका बारेमा चर्चा गरिएको छ । गोमांस वाथजनित समस्याका लागि, विशेषतः अनियमित ज्वरोका लागि, सुक्खा खोकीका लागि, धेरै नै थकित भएको बेलाका लागि उपयुक्त हुन्छ भनिएको छ ।
प्रमुख आयुर्वेदीय ग्रन्थहरु
आयुर्वेदमा प्रमुख तीन संहिताहरुलाई शास्त्रीय ग्रन्थका रूपमा लिइन्छ । ती हुन्, चरकसंहिता, सुश्रुतसंहिता अनि अष्टाङ्गहृदयसंहिता । यी तीनमध्ये कालखण्डका हिसाबले चरकसंहिता सबैभन्दा पुरानो हो । अग्निवेशले बनाएको शास्त्रलाई चरकले सम्पादन गरेको यस ग्रन्थको सबैभन्दा पहिलो संस्करण इसापूर्व २–३ शताब्दीतिरसम्म भइसकेको थियो भनेर विद्वानहरु बताउँछन् (भुजास्टिक, डोमिनिक, द रुट्स् अब् आयुर्वेद २००३ः४) । शास्त्रीय संस्कृतको प्रयोग गुप्तकालीन समय इसाको ४०० तिर मात्रै शुरुवात मानिने भएकोले चरकसंहितामा प्रयुक्त भाषा हेर्दा धेरैपटक सम्पादन गरिएको देखिन्छ ।
त्यसैगरी अर्को प्रमुख संहिता ग्रन्थ सुश्रुतसंहिता ग्रन्थ विशेष छ किनभने यसले शल्यक्रियाको विशद् व्याख्या गरेको छ । कस्ता उपकरणहरु प्रयोग गरेर शल्यक्रिया गर्ने कुरालाई पद्धतिगत रूपमा पहिलोपटक यसै ग्रन्थले गरेको हो । संसारमा शल्यक्रियाको यसरी विशद् व्याख्या गर्ने यो पहिलो पुस्तक पनि हो । यस ग्रन्थको कालखण्ड पनि चरकसंहिता जस्तै निर्क्याेल हुन सकेको छैन तर पनि विद्वत्मत इसाको छैटौं शताब्दीसम्मलाई हालको संस्करण तयार भएको थियो भन्ने छ (भुजास्टिक, डोमिनिक, द रुट्स् अब् आयुर्वेद २००३ः६४) ।
अर्को प्रमुख ग्रन्थ वाग्भटकृत अष्टाङ्गहृदयसंहिता ग्रन्थले चरक र सुश्रुतसंहिताको सारभूत कुराहरुलाई स्पष्टसँग प्रस्तुत गरेको छ । यसर्थ यो महत्त्वपूर्ण ग्रन्थ हो । नेपाल तथा भारतका आयुर्वेदिक कलेजहरुमा यस ग्रन्थलाई प्रमुख स्थान दिएर पठनपाठन गरिन्छ । वाग्भटको समय इसाको सातौं शताब्दीलाई मानिएको कुरा माथि नै उल्लेख गरियो ।
- आफ्नै उपचार पद्धतिसहितको आयुर्वेदलाई सदियौंदेखि दक्षिण एसियाली समाजमा प्रयोग गरिँदै आइएको छ ।
बौद्ध धर्म मान्ने वाग्भट सिन्धुदेशका थिए भनेर इतिहासकारले मानेका छन् (मूलेनबेल्ड्, गेरिट यान, ए हिष्ट्री अब् इण्डियन् मेडिकल् लिट्रेचर १९९९–२००२, ठेली आइ ए, ५९७–६५६) । जसरी युरोपमा गेलेन र मध्यपूर्वमा इबिन सेनाको उपस्थितिलाई स्वास्थ्यविज्ञानको इतिहासमा गर्विलो रूपमा लिइन्छ त्यसैगरी वाग्भटलाई पनि दक्षिण एसियाली स्वास्थ्यविज्ञानको क्षेत्रमा महत्त्वपूर्ण रूपमा लिइन्छ । उनको ग्रन्थ सरल अनि गहन छ ।
त्यसैगरी माधवनिदान, काश्यपसंहिता, भेलसंहिता लगायत ग्रन्थहरु छन् । जुन इसाको पहिलो सहस्राब्दी अगाडि नै लेखिए । तिनीहरुले आयुर्वेदको विकासमा महत्त्वपूर्ण भूमिका खेलेका छन् । आयुर्वेदमा इसाको १२ शदीपछि रसायनशास्त्रहरुले प्रमुख स्थान लियो । पारो अर्थात् मर्करीको प्रयोग, सुन जस्ता धातुहरुको औषधीय प्रयोग इत्यादि रसायनशास्त्रले बताउँछन् ।
त्यसैगरी रसायनशास्त्रले जीवनमुक्ति कसरी प्राप्त गर्ने, सिद्धि कसरी प्राप्त गर्ने इत्यादि कुराहरु स्वास्थ्यविज्ञानमा भित्र्यायो । नाडीपरीक्षा जस्ता नौला प्रयोगहरु यही कालखण्डमा भए ।
यसरी आयुर्वेदको आफ्नै इतिहास छ । आफ्नै उपचार पद्धतिसहितको आयुर्वेदलाई सदियौंदेखि दक्षिण एसियाली समाजमा प्रयोग गरिँदै आइएको छ । आधुनिक स्थापित स्वास्थ्यपद्धति आउनुभन्दा अगाडि हामीहरु यही पद्धतिलाई प्रमुखताका साथ प्रयोग गर्दै आएका हौं । आज पर्यन्त गर्दै पनि छाैँ ।
हरेक पद्धतिको आफ्नै सीमितता हुन्छ आयुर्वेदको पनि छ । आजको समयमा आयुर्वेदलाई समन्वयवादी स्वास्थ्य पद्धतिको रूपमा लान सकिन्छ । किनकि आधुनिक स्थापित स्वास्थ्य पद्धतिका पनि आफ्नै विवशता छन् । पूर्ण कुनै पद्धति हुँदैन । यसर्थ दुवै वा अन्यसमेत गरी समन्वयात्मक स्वास्थ्य पद्धतिमा जाँदा उपचार पद्धति सहज, सरल र प्रभावकारी हुन्छ ।
आलेखाकार स्वास्थ्यविज्ञानको इतिहासका अध्येता हुन् र विशेष गरेर आयुर्वेदको इतिहासमा चाख राख्छन् ।
मधुसूदन रिमालको अर्को ‘पब्लिक हेल्थ डिस्कोर्स’ पनि पढ्नुहोस्,
नव-उदारवादी अर्थ व्यवस्था महामारीसँग जुध्न सक्छ ?