यसको मूल आलेख पढ्न यस लिंकमा जानुहोस् ।
आयुर्वेदको ऐतिहासिक नालीबेलीः अभ्यास, संस्कृति र प्रभावकारिता
चिनियाँ बुद्धमार्गी यात्री फासियान इशाको पाँचौ शताब्दीको पहिलो दशकमा यात्रा गर्ने क्रममा भारतको हालको पटना (त्यसबेलाको पाटलीपुत्र) आइपुग्छन् । त्यो बेलाको पाटलीपुत्रको रौनक अर्कै थियो अर्थात् दक्षिण एशियाको सभ्यताको प्रमुख केन्द्र थियो । प्राचीन दक्षिण एशियाली इतिहासका विविध पाटा केलाउने क्रममा योहानिस् ब्रोन्कहोर्ष्ट, जसले विशाल मगधको साँस्कृतिक अध्ययन गरेर एक नयाँ सैद्धान्तिक अवधारणा अघि सारेका छन् ।
सन् २००७ मा प्रकाशित पुस्तक ‘ग्रेटर मगधः स्टडीज इन् द कल्चर अब् अर्ली इण्डिया’मा ब्रोन्कहोर्ष्टले मगध सभ्यताको साँगोपाँगो अध्ययन गरेका छन् । उनले मगध क्षेत्रमा छुट्टै संस्कृतिको शुरुवात इशापूर्व १ सय ५० भन्दा अगाडि नै भैसकेको दावी गरेका छन् (पृ. १–८) । यो क्रमको निरन्तरता पछिल्ला ६ सय वर्षसम्म पनि रह्यो ।
सम्राट अशोकको साम्राज्यको वैभवशाली राजधानी पनि भएकोले यस ठाउँको महत्ता अझै झल्कने भयो नै बौद्धमार्गीका लागि । यसै ठाउँमा तेस्रो बौद्ध सम्मेलन पनि भएको थियो (ल, विमल चुर्न, हिस्टोरिकल् जोग्रफी अब् अन्सिएन्ट इण्डिया १९८४ः२४९) ।
पाटलिपुत्र शहरको साँस्कृतिक वैभवबाट मोहित भएर उनै चिनियाँ बुद्धमार्गी यात्रीले आफ्नो यात्रावर्णन गर्ने क्रममा लेखेका छनन्, ‘यस देशका शहर तथा पुरहरु मध्य देशकै सबैभन्दा ठूला छन् । त्यहाँका बासिन्दाहरु सम्पन्न अनि एक–अर्काप्रति कसले राम्रो गर्ने भन्नेमा प्रतिश्पर्धा पनि गर्दछन् । वैश्य (व्यापारी)को प्रमुखले औषधी अनि सामाजिक सहयोगका लागि शहरमा घरहरु निर्माण गरेको छ । शहरका सबै गरीव दुःखी, असहाय, विधुवा, निःसन्तान पुरुषहरु अनि अशक्तजन, रोगी मान्छेहरुले त्यहाँबाट स्वास्थ्य सम्बन्धी तथा खाद्य सहयोग प्राप्त गर्ने रहेछन् । औषधोपचारका आवश्यक सबै सामग्री उनीहरुले यहीँबाट प्राप्त गर्ने रहेछन् ।’ (लेग्ग, जेम्स, ए रेकर्ड्स् अब् बुद्धिस्टिक् किङ्गडम्ः बिइङ् अयान् एकाउन्ट बाइ द चाइनिज मङ्क फासियान अब् हिज ट्रावेल्स् इन् इण्डिया याण्ड सिलोन १९६५ः७९)
फासियानको यात्राविवरण नै पहिलो हो जसले स्वास्थ्य सम्वन्धी प्राचीन दक्षिण एशियाको चित्र सपाट व्याख्या गरेको छ । यस विवरणले अझै अगाडि बढेर स्वास्थ्यको प्रणालीगत व्याख्या, माथि उल्लेख गरेजस्तै उपचार गृहहरुको बारेमा संकेत गर्छ । जुन कुरा चरकसंहितामा पनि उल्लेख गरिएको छ । यसरी प्राचीन दक्षिण एशियामा स्वास्थ्य सम्वन्धी धेरै ज्ञान थियो । अब प्रश्न उठ्छ कस्तो ज्ञान थियो त ? कुन प्रणाली व्याप्त थियो त्यो समयमा ?
पक्कै पनि आयुर्वेदिक स्वास्थ्यप्रणालीको प्रचलन थियो ? अब त्यसो भए के हो त आयुर्वेद भनेको ? आयुर्वेद भन्नाले ज्ञान वा विज्ञान हो (संस्कृत– वेद) अनि सुस्वास्थ्य (संस्कृत–आयुस्) अर्थात् सुस्वास्थ्यका लागि ज्ञान । आयुर्वेदको सबैभन्दा अगाडिको शास्त्र चरकसंहिताले आयुर्वेद के हो भन्ने प्रसंगमा निम्न लिखित कुरा उल्लेख गरेको छ –
यसलाई आयुर्वेद भनिन्छ किनकि यसले हामीलाई बताउंछ (संस्कृतः वेदयति) कुन कुन चीजहरु, गुणहरु, अनि क्रियाकलाप जीवनवर्द्धक छन् र छैनन् । (चरकसंहिता, १.३०.२३)
अलि व्याख्या गर्नुपर्दा आयुर्वेद भनेको एउटा स्वास्थ्यप्रणाली हो जसले रोगप्रतिरोधक अनि आचारिक पक्षलाई समेट्छ । यस पद्धतिले जीवनका हरेक पक्षहरुको बारेमा चर्चा गरेको छ, जस्तै कि एउटा मान्छेको जीन्दगीमा दाँत माझ्ने कुरादेखि लिएर नैतिकता, व्यायाम, खाद्यतालिकालगायत अनगिन्ती स्वास्थ्य सम्बन्धी खुराकहरु ।
यी सामान्य कुराका अतिरिक्त विशिष्ट पक्षहरु जस्तै रोगनिदान, उपचार पद्धति लगायतका स्वास्थ्यका आधारभूत अनि विशिष्ट पक्षहरुको चर्चा यो उपचार पद्दतिले गरेको छ । स्वास्थ्य विशेषज्ञ कस्तो हुनुपर्छ ? उनीहरुका आचार–विचार कस्तो हुनुपर्छ भन्ने जुन अहिलेको आधुनिक स्वास्थ्य प्रणालीमा बुझिने हिप्पोक्रिट्सको सपथ जस्तै सपथका कुराहरु पनि निर्दिष्ट गरिएको छ आयुर्वेदका ठेलीहरुमा ।
आलेखाकार स्वास्थ्यविज्ञानको इतिहासका अध्येता हुन् र विशेष गरेर आयुर्वेदको इतिहासमा चाख राख्छन्
सम्बन्धीत थप सामाग्री पढ्नुहोस्
प्रमुख आयुर्वेदीय ग्रन्थमा के छ ?
आयुर्वेदले सबैखाले स्वास्थ्य विवेचनालाई निर्देश गर्छ