सज्जा चौलागाई पहिलो महिला नेपाल आइडल बन्न सफल भइन् । कोरोनाका कारण रोकिएको रियालिटी शो करिब तीन साताअघि प्रत्यक्ष दर्शकविना पुनः सुरु हुनु सज्जाका लागि विशेष अवसर बन्यो ।
प्रत्यक्ष दर्शक नभएपनि टिभीमार्फत् मोरङेली युवती सज्जको सुरिलो र गहकिलो स्वर आम मानिससम्म पुग्यो । न्ह्युु वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी रहेको निर्णयकहरुले उनको स्वरलाई तौलदैं प्रतिक्रियाका साथ उत्साह भर्ने काम गरे ।
यसअघि पुरुष प्रतियोगीहरु बुद्ध लामा र रवि ओडले यो उपाधि चुमेका थिए । यसपटक भने सज्जाले इतिहास बनाइन्, फाइनलमा पुगेका प्रवीन बेडवाल र किरण भुजेललाई पछि पार्दै तेस्रो नेपाल आइडल बनिन् ।
फाइनलमा ‘निश्चल’ बोलको गीतले श्रोता, दर्शकको शरीरका जुरुङ्ग काँडा उमारेका उनी पनि विजेता स्वरुप पाइने पुरस्कारमा ५० लाख नगदको घोषणामा आफै पनि तरंगित भइन् । त्योभन्दा बढी उनले नेपाल आइडलमा ग।ेको मेहनत र यसपछिको सांगितिक करिअर कल्पेर रोमाञ्चक भइन् ।
तर विजेता घोषणा संगसंगै नेपाल आइडलको एक जनालाई कोरोना पुष्टि भएपछि अलि तनावमा पनि आइन् । अहिले नेपाल आइडल टिम नै होम आइसोलेसनमा छ । कोरोना कहरका कारण पहिलेजस्तै भव्य र उत्साहजन्य फाइनल नभएकोमा उनी केही खिन्न पनि सुनिइन् । तर पाएको उपलब्धीलाई सम्मान गर्दै आगामी दिनमा सांगितिक क्षेत्रमा अनवरत लाग्ने प्रतिवद्धता भने उनले गरिन् ।
तेस्रो सिजनको यो रियालिटी शोमा प्रवीण बेडवाल फस्ट रनर अप र किरणकुमार भुजेल सेकेण्ड रनर अप भए । नेपाल आइडलको यी विभिन्न उपाधी विजेता यी तीन कलाकारसँग नेपाली पब्लिककी सिर्जना दुवाल श्रेष्ठले कुराकानी गरेका छन् ।
ती फरक फरक कुराकानी यहाँ फरक फरक शीर्षकमा पढ्न सक्नुहन्छ-
- नेपाल आइडल जित्छु भन्ने ढुक्क थिइनन् सज्जा
- घर छाडेर गीतसंगीत रोजेको फस्ट रनर अप प्रवीण
- भैंसी चराउँदा दाइको गीतबाट प्रभावित किरणकुमार