केन्द्रमा रहेर सक्रिय हुने राजनीतिक नेतृत्वको चर्चा र चलखेल त भइरहन्छ । सञ्चारमाध्यममा पनि उनीहरु नै छाउनु अस्वाभाविक होइन । यहाँ केन्द्रभन्दा अलि पर रहेर राजनीतिक कर्म गर्ने नेताहरुको समसामयिक विचारहरु ‘प्रतिनिधि’ स्तम्भमार्फत् समेट्दैछौं ।
यसैक्रममा नेकपामा ओली निकट मानिने कर्णबहादुर थापा अध्ययनशील नेतामा पर्छन् । विद्यार्थी राजनीतिबाट उदाएका थापा एमालेको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । नेकपाको केन्द्रीय सदस्य तथा सुदुरपश्चिम प्रदेशको पार्टी कमिटी अध्यक्ष थापासँगको संक्षिप्त संवाद–
दुई अध्यक्षले कार्यदल बनाए । कार्यदलले रिपोर्ट बुझाएपछि नेकपा विवाद लगभग समाधान एको हो ?
हो, नेकपाको विवाद समाधान भइसक्यो । यसको मतलव नेकपाका वहस छलफल हुँदैनन्, छैन भन्ने होइन । मतान्तर नै हुँदैन भन्ने होइन । तर नेकपाको मुलभूत कुरा समाधान भइसक्यो । कार्यदल बनेपछि विवादको समाधानको सुझाव दिएको छ । त्यसको कार्यान्वयन सुरु भइसक्यो ।
अरु कुराहरु त भइरहन्छन् । को मन्त्री हुने, कसले के पायो ? फलानाले पाउनु पथ्र्यो, ढिम्कनाले पायो भनेर बहस भइनै रहन्छ । यसलाई विवाद भन्न मिल्दैन । प्रमुख नेतृत्व दुई जना हुुनुहुन्छ । अब उहाँहरुबीच समझदारी भएमा अरु वहस छलफल हुनु अन्यथा होइन ।
त्यसो भए नेकपामा भएको विवाद पदको हो कि विचारको हो ?
पदको हो, विचारको होइन । वहस हुनुपर्ने विचारको थियो, सुखि नेपाली समृद्ध नेपालको वहस हुुनपथ्र्यो । देशको समस्या के हो ? यसलाई कसरी समृद्धितर्फ लैजाने, जनतालाई आत्मनिर्भर बनाउनतर्फ वहस हुनुपथ्र्यो । नेपालको राष्ट्रिय अर्थतन्त्र कस्तो अवस्थामा छ, उद्योगधन्दा कसरी बढाउने ? जनतलाई आत्मनिर्भर कसरी बनाउने ? समृद्धि कसरी हासिल गर्ने भन्ने बहस हुनुपर्ने थियो । मुलभूत कुरा छोडेर अर्को वहस गर्नुको कुनै अर्थ छैन ।
तर केही मानिस आत्मकेन्द्रित, पद प्रतिष्ठाको लागि बहसमा लागेका छन् । यस्तो वहसमा कसैको रुचि छैन, विचारको वहस नेकपामा महाधिवेशनमा हुन्छ ।
संविधानदेखि घोषणापत्रसम्म राज्य समाजवाद उन्मुख हुने भनिएको छ । सरकार त्यो बाटोमा जाँदैछ त ?
संविधानमा राज्य समाजवाद उन्मुख हुनेछ भनेर लेख्ने हामी कम्युनिष्टहरु नै हौं । कांग्रेसले त विरोध गरेको थियो । अहिलेको काम भनेको सामन्तवादका विकृति विसंगती हटाउने, त्यसका अवशेषहरु समाप्त गर्दै जानुपर्छ । दोस्रो भनेको पूँजीवादका विकृत रुपले ल्याएका असमानताहरुलाई हटाउँदै जाने हो । यसले ल्याउने आर्थिक असमानतालाई कम गर्दै समाजवादको चरणमा प्रवेश गर्ने हो ।
यसको आधारका लागि कृषि आधुनिकिकरण, शिक्षा स्वास्थ्यमा आमुल परिवर्तन गर्न जरुरी छ । पछाडि परेको समुदायलाई शिक्षा,स्वास्थ्यमा पहुँच बढाउने, सघन रुपमा राज्यले राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नुपर्छ । तर अहिले कोरोना भाइरसको यो महामारीको समयमा पनि नेकपा र सरकार समाजवादको बहसमा नै केन्द्रीत हुनुपर्छ । समाजवाद आजको भोलि आउने विषय होइन ।
पार्टीलाई एकतावद्ध पारेर संविधान र घोषणापत्रमा लेखे अुनसार समाजवादको यात्रामा जोडिनु पर्छ ।
सरकारले भ्रष्टाचार रोक्न नसकेको आरोप लाग्ने गरेको छ नि?
सरकारका कमजोरी मात्र देखाएर विकास हुँदैन, हाम्रोमा आरोप मात्र लागउने विधि नै ठिक छैन । सरकार भनेको प्रधानमन्त्री, मन्त्री मात्र होइन, यसको धेरै अंगहरु छन् । यसमा कसको कहाँ कति गल्ती भयो भनेर भन्ने हो । सरकारले भ्रष्टाचारीलाई प्रोत्साहन गर्दैन । यसलाई कडाइका साथ लिएको छ । यसमा सरकारका कुन अंगले कसरी काम गरिरहेको भनेर बहस गर्दा समस्याको समाधान निस्कन्छ ।
यो पनि पढ्नुहोस्
‘देश विचौलियाले चलाएको छ, वास्तवमा सिस्टम नै फेर्नुपर्छ’