केन्द्रमा रहेर सक्रिय हुने राजनीतिक नेतृत्वको चर्चा र चलखेल त भइरहन्छ । सञ्चारमाध्यममा पनि उनीहरु नै छाउनु अस्वाभाविक होइन । यहाँ केन्द्रभन्दा अलि पर रहेर राजनीतिक कर्म गर्ने नेताहरुको समसामयिक विचारहरु ‘प्रतिनिधि’ स्तम्भमार्फत् समेट्दैछौं ।
सडकदेखि सदनसम्म बोल्दा यो सरकारको कडा आलोचकको छवि बनाएका पात्र हुन गजेन्द्र महत । जनयुद्धको विरासतबाट आएका उनी जुम्लाबाट प्रतिनिधि सभाको निर्वाचित हुन् । उनी सरकार कम्युनिष्टको नभएर दलालको भएको भन्दै असन्तुष्टि पोछन् । प्रस्तुत छ महतसँगको संक्षिप्त कुराकानी–
आफ्नै पार्टीको सरकार छ, तर तपाईं सधैं सरकारको आलोचना गर्नु हुन्छ, किन ?
आजभोलि सरकारको विरोध गरेको छैन । कोरोनाको महामारमा घरमा नै बसेको छु, संसद चलेको छैन, कतै सार्वजनिक कार्यक्रम हुँदैनन् त्यसैले अहिले सरकारको आलोचना गरेको छैन ।
सरकारले भनेजस्तो, घोषणापत्र अनुसारको, उत्पीडित क्षेत्र, वर्गको पक्षमा काम गरेको छैन, पुरानै ढंगले सरकार चलिरहेको छ । मानिसका आधारभूत आवश्यकताहरु पनि सरकारले पुरा गर्न नसकेपछि सरकारको विरोध म सडकदेखि सदनसम्मै गर्छु, जुन मेरो अधिकारको कुरा हो । मेरो पार्टीको सरकार भनेर भयो र सरकार त जनताको हो ।
गठबन्धन बनाएर चुनावमा जाँदा हामीले जनतालाई हाम्रो सरकार बनेमा शिक्षा, स्वाथ्य, आधाभूत आवश्यकताहरुका काम गर्छौं भनेर भनेका थियौं । तर अहिलेसम्म ती कामहरु भएनन्, अनि आलोचना नगरेर के गर्नु ?
सरकारले के के काम गर्नु पथ्र्यो त ?
बेरोजगार समस्या हल गर्छौं भनेका थियौं, हल गर्नुपथ्र्यो, हल भएन । जनताको आधारभूत समस्याहरु हल गर्ने प्रतिवद्धता जनाएका थियौं, त्यो पनि हुन सकेन । स्वाथ्यमा सुधार होइन आमूल परिवर्तनका कुरा गरेका थियौं, शिक्षाका कुरा थिए । जनतका आवाजहरु सत्तामा पुग्नु पर्ने हो, तर पुगेनन् ।
घोषणापत्र एकातिर सरकार अर्कोतिर छ । पार्टी र सरकार प्रमुख केपी शर्मा ओली हुनुहुन्छ, उहाँले दुवै कुरा मनमर्जी रुपमा चलाउनुभएको छ । घोषणापत्र अनुसारमात्र सरकार सञ्चालन भएको भए धेरै कुरा हुन्थे ।
सरकार सञ्चालन गर्ने प्रधानमन्त्रीले मात्र काम गर्न नसकेको हो कि नेकपा नै असफल भएको हो ?
प्रधानमन्त्री र पार्टी अध्यक्ष एक जना नै हुनुहुन्छ, यसको जिम्मा त उहाँले नै लिनुपर्छ । सरकारमा यति भ्रष्टाचार छ भन्नै सकिदैन, यसको जिम्मा प्रधानमन्त्रीले नै लिने हो । सरकारका मन्त्रीदेखि कर्मचारीहरु भ्रष्टाचारमा लिप्त भएपछि कसरी राम्रो काम हुन्छ ।
हामीहरु जनताको काम हुनुपर्छ भन्छौं तर सरकार, मन्त्री, कर्मचारी आफ्नो ढंगले चल्छन् । यसको जिम्मा नेकपाले पनि लिनु पर्छ ।
हामी जनताको स्वास्थ्य, शिक्षा बेरोजगारसँग जोडिएका कुराहरु उठाउछौं । तर संसदमा बोलेका कुरा सरकारले सुन्दैन, अनि यो सरकारले जनताको काम गर्छ भनेर कसरी भन्नु ? पार्टी पनि लथालिङ भताभुङ छ ।
प्रधानमन्त्रीमै समस्या हो भने विकल्प खोज्न सकिन्छ होला नि त ?
विकल्प खोज्नको लागि पनि पार्टीमा एकरुपता हुनुप¥यो । यो सरकारको विकल्प खोज्नुपर्ने भएपछि अवस्था यस्तो छैन । देश विचौलियाहरुले चलाएको छ, दलालको हालीमुहाली छ । वास्तवमा यो सिस्टम नै परिवर्तन गर्नुपर्छ । यसकोलागि एक्टिभ प्रधानमन्त्री चाहिन्छ तर पार्टीमा पनि तत्काल यस्तो परिवर्तनको लागि कोही तयार देख्दिन ।
पार्टीको दोष छ कि छैन सरकार यस्तो हुनमा ?
पार्टी अध्यक्ष नै केपी शर्मा ओली हुनुहुन्छ । पार्टीका सरसल्लाह उहाँ मान्नु नै हुन्न अनि पार्टी कसरी दोषी हुन्छ । केन्द्रीय सदस्य, सांसद बोल्दा उनीहरुका कुरा सुनिदैनन् अनि कसरी पार्टी दोषी हुन्छ । पार्टीमा सरसल्लाह भइहादेपनि सरसल्लाह लागु हुँदैनन् । अनि कसरी पार्टी दोषी हुन्छ ।
पार्टी अध्यक्ष र प्रधानमन्त्री हटाउँदा समस्या समाधान हुन्छ त ?
हुँदैन, सबैमा समस्या छ, प्रोपोगाण्डामा रमाउनेको जमाना छ । यसको ठोस निकास अहिले हुँदैन । सबै नेताहरुका गतिविधि देखेको छु, लामो समय जनयुद्धमा हिडियो, सपना धेरै देखेका थियौं । तर जनताका समस्या समाधान हुने अवस्था रहेन ।
जनताको पक्षमा यही कर्मचारीतन्त्रले काम गर्लान् जस्तो मलाई लाग्दैन । त्यही भएर सरकार र पार्टीले जनताको पक्षमा काम गर्ने निदेशकीय बनाउनुपर्यो । विरोध गर्नुको पनि केही औचित्य छैन । एउटा मान्छेलाई हटाउँदैमा केकी भइहाल्ने पनि होइन ।
अरुलाई मात्र दोष दिएर तपाईं उम्कन मिल्छ र ?
दोषी म पनि हुँ, तर कसको जिम्मेवारी कति भन्ने कुरा हुन्छ । मुख्य कुरा भनेको माथि नेतृत्वबाट बिग्रेको छ, सक्षम मानिस सत्तामा नपुग्दासम्म यस्तै अवस्था रहन्छ । जनताका कुरा पुरा हुँदैनन्, विकास हुदैन । जनजीविकाका काम हुदैनन् । प्रपोगाण्डा मात्र हुन्छन् ।
तपाईले सरकार नै भ्रष्टाचारमा डुबेको भन्नुभयो, कसलाई भन्न खोज्नु भएको हो ?
यसमा को भन्ने नै छैन, सरकार नै भ्रष्टाचारमा लिप्त छ । ओम्नी काण्ड हेर्नुहोस् । कोरोना भाइरसको महामारीमा पनि यो सरकारले आफ्नो छवि बचाउन सकेन ।
आफ्नो क्षेत्र सुरक्षित बनाउने, निर्वाचन कसरी जित्ने भन्न थालेपछि भ्रष्टाचार नै हुन्छ । यहाँ कसैमा भिजन छैन, उद्देश्य छैन । छ त केबल चुनाव जित्नु पर्ने, आफ्नो क्षेत्रका नेता कार्यकर्तालाई पाल्नु पर्ने, विकास नचाहिने । यही त हो भ्रष्टाचार ।
तपाई त फिल्डमा हिड्ने नेता हुनुहुन्छ, आउँदो निर्वाचनमा नेकपाको अवस्था कस्तो देख्नुहुन्छ ?
मानिसको जात दुःख बिसाउने खालको छ । हिजोका दुःख केही समयपछि बिर्सन्छ, अझै दुई वर्ष छ । यो दौरानमा काम ग¥र्यो भने केही राहत हुन्छ । अझै पनि घोषणापत्र अनुसार काम गरेर देखाए नेकपामा जनताले विश्वास गर्लान् । होइन भने त्यति सुखद भविष्य देख्दिन, सुध्रने समय छ ।
यो पनि पढ्नुहोस्
‘नेकपा विवाद विचारको होइन पदको हो’