सीमावर्ती जिल्ला रुपन्देहीको तिलोतमा नगरपालिकाले कोभिड १९ कोरोना भाइरसको संक्रमण नियन्त्रणको प्रयाससँगै विकास निर्माणको गतिविधिलाई पनि सँगै अघि बढाएको छ ।
समुदायमा फैलिन शुरु गरेको संंक्रमण नियन्त्रण गर्न पछिल्ला दिनमा नगरपालिकाले समुदायमा जनचेतना र प्रत्यक्ष निगरानी बढाएको छ । संक्रमण नियन्त्रणको प्रयाससँगै विकास निर्माणको गतिविधिको व्यवस्थापनका सन्दर्भमा नगरपालिकाका मेयर बासुदेव घिमिरेसँग नेपाली पब्लिककी शकुन्तला जोशीले गरेको अन्तर्वार्ता-
तिलोतमा नगरपालिकामा भाइरस संक्रमणको अवस्था कस्तो छ ?
कोरोना संक्रमणका हिसाबले रुपन्देही जिल्ला नै उच्च जोखिममा छ । हाम्रो नगरपालिका जिल्लाका बिच ठाउँ र सीमाको केही नजिक, जनसंख्या तुलनात्मक हिसाबले बढी, उद्योग व्यवसाय पनि बाक्लो भएको हुनाले बढी जोखिमयुक्त नगरमा पर्छ । संक्रमणको दर दिनप्रतिदिन बढेको छ ।
हालसम्म १ सय ३५ जना संक्रमितमध्ये ३५ भारत तथा अन्य मुलुकबाट आएकामा देखियो । यसमध्ये ६७ जना आइसोलेसनबाट निको भएर घर फर्किनु भएको छ । तीन जनाको दुःखद निधन भयो । यद्यपी उहाँहरु मुटु सम्बन्धि र निमोनियाका दीर्घरोगी हुनुहुन्थ्यो, अन्तिममा परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।
उपचारको व्यवस्थापन कसरी गरिएको छ ?
पहिले २० बेडको स्वास्थ्य चौकीको आइसोलेसन सेण्टरमा थपेर ४० बेडको बनाइएको छ । होम र संस्थागत दुवै आइसोलेसनमा स्वास्थ्यकर्मी र जनप्रनिधि टोलीको रेखदेख छ । पहिले क्वारेन्टाइन एउटा स्कूलमा राखिएको थियो । स्थानान्तरण गरी २ सय जना क्षमताको क्वारेन्टाइन शंकरनगरस्थित वन विभाग तथा अनुसन्धान केन्द्रभित्र राखिएको छ । त्यहाँ स्वास्थ्यकर्मीको टोली खटिएका छन् । संक्रमितलाई समस्या भए बुटवल प्रदेश अस्पताल वा भैरहवा भीम अस्पतालमा पठाउँछौं ।
हामी आफैं जनप्रतिनिधिका हिसाबले नगरप्रमुख, उपप्रमुख स्वास्थ्यकर्मीसहित घरघरै गएर स्वास्थ्य अवस्था बुझ्ने प्रयास गरिरहेका छौं । अहिले म आफैं पनि एकाध दिन बिराएर भेट्न जाने, फोनमा भएपनि सम्पर्क गरेर स्वास्थ्य अवस्थाबारे जानकारी दिने, सान्त्वना दिने काम गरिरहेको छु । यसबाट संक्रमित समाजले हेर्ने गलत दृष्टिकोणमा पनि परिवर्तन आएको छ । नेपाल सरकारले सिफारिस गरेको अश्वगन्धा, तुलसी चिया, च्यावनप्रासका आयुर्वेदिक औषधीको किट पनि बाँडेका छौं । संक्रमित देखिने बित्तिकै कीट घरमै पठाइदिने गरेका छौं ।
विकास निर्माणका काम ठप्पै छन् त ?
हामी कहाँ दैनन्दिन श्रम गरेर खाने वर्ग प्रसस्त छन् । यो अवस्था लम्बिइरहने हो भने रोगलाई भन्दा भोकलाई थेग्न गाह्रो हुने छ । त्यसकारण संघीय सरकारले प्रदेश र पालिकाहरुले पनि आ–आफ्ना अवस्था कार्यान्वयन गर्न सकिने निर्णय गरेको छ । २० गतेपछि जनजीवन सहजीकरण गर्ने छ ।
सुरक्षा विधि अपनाएर आर्थिक गतिविधि अघि बढाउनु पर्ने देखियो । सोही अनुसार जिल्ला संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले लकडाउनलाई खुकुलो पार्ने निर्णय गरेको छ । अबका दिनमा नागरिकले स्वास्थ्य सचेतता अपनाइदिन पनि म नगरबासीमा हार्दिक अपिल गर्छु ।
हाम्रो नगरभित्र रहेका उद्योगधन्धामध्ये भारततिरबाट पनि धेरै श्रमिक आएर काम गर्नु पर्ने ठूला उद्योग चाहिँ बन्द छन् । स्थानीय मजदुरले काम गर्ने सानातिना उद्योग भने अहिले पनि स्वास्थ्य मापदण्ड कायम गर्दै सञ्चालन गर्न सहजीकरण गरेका छौं । त्यो अन्तर्गत धेरै खाद्य उद्योगहरु छन् ।
पहिलो लकडाउनका बेला नेपालमै पहिलोपल्ट राहत वितरण गर्न हामीले सुरु गरेका थियौं । अहिले चाहिँ श्रममा आधारित राहत भन्ने अवधारणा अनुसार नगरपालिका भित्र विभिन्न विकास निर्माणका गतिविधिमा रोजगारी दिएका छौं । केहीलाई यसरी काम दिएर न्यूनतम रोजगारी दिने वातावरण नगरपालिकाले बनाएको छ ।
काम गर्नै नसक्ने अवस्थाका नागरिकलाई भने उपमेयरको संयोजकत्वमा खाद्य व्यवस्थापन समिति छ, समितिसँग जेष्ठमै केही अनुदानबाट आएका केही खरीद गरेर भण्डारण गरेका खाद्यन्न छन् । वडाका सिफारिस लिएर वा सिधा नगरपालिकामा आउने त्यस्ता पीडितलाई हामी वितरण गरिरहेका छौं ।
कति मानिस रोजगार छन् ?
लामो लडकडाउन भनेर जनतालाई घरभित्रै राखेर भएन । त्यसकारण अब एकदिन पनि ढिलाई नगरी आर्थिक गतिविधिलाई पनि सुचारु गर्नु पर्ने देखिन्छ । सुरक्षा मापदण्डलाई कडाई गरेर केही काम गर्दै छौं । अहिले नगरपालिकाको प्रशासनिक भवन निर्माण हुँदै छ । त्यहाँ करिब ५० जना मजदुर खटिनु भएको छ, उहाँहरुलाई भित्रै खाने बस्ने व्यवस्था छ, बाहिर समुदायमा सम्पर्क हुँदैन । यसबाहेक विभिन्न वडा कार्यालयहरु निर्माण हुँदैछन् । त्यहाँ पनि संक्रमणको जोखिमलाई ध्यानमा राखेर सतर्कतासहित काम अघि बढाउन भनिएको छ ।
१० तले भ्यू टावर, अतिथि गृह, सामुदायिक सभा हल, स्वास्थ्य चौकी, पार्क, नाली, सडक निर्माण जारी छ । हाम्रै नगरपालिकाभित्र संघीय सरकार मातहत योजना बाहेक पनि अहिले करीब १ अर्ब रुपैयाँ बराबरको काम भइरहेको छ । यी ठूला र साना आयोजनामा गरी करीब १ हजार श्रमिक रोजगार छन् ।
यस क्षेत्रमा नियमित कृषि कार्य त जारी नै छ । हाम्रो अनुभवमा यसरी नियमित कृषि क्षेत्रमा श्रम गर्ने व्यक्तिहरुमा संक्रमणको जोखिम कम भएको छ । हाम्रो जानकारीमा नआएको पनि हुन सक्छ, तर श्रम कम गर्नेहरुमा जोखिम बढी देखियो ।
रुपन्देहीको अरु नगरपालिकाका मेयरको कुरा पनि सुनौं
सुरक्षित तवरले विकासका काम जारी छ - सैनामैना नगरपालिका
लकडाउनकै बेला एक हजार श्रमिक रोजगारमा- तिलोतमा नगरपालिका
अब कोरोनाबाट माथि उठ्न नयाँ मेकानिजम जरुरी छ- देवदह नगरपालिका