इन्द्रजात्रा जात्रा मात्र होइन, यो महाजात्रा हो . यसमा विभिन्न रथग तान्नेदेखि अन्य सहायक जात्राहरु पनि हुन्छन् । ‘इन्द्रजात्रा विशेष’को चौथो सामग्रीमा यसको महत्त्वपूर्ण पाटो इन्द्रकी आमा दागीँको यात्रा, नानिचा रथ र पृथ्वीनारायणको आक्रमण–
दागीँ निकाल्ने चलन
नेवाः सांस्कृतिक चाडपर्व दागीँ भाद्र शुक्ल चतुदर्शीका दिन श्री कुमारी, श्री भैरव र श्री गणेश विराजमान रहेको रथ तल्लो टोलको जात्रा सिद्धिनेबित्तिकै गःकुका ताम्राकार जातिले लखुफल्चा (शंखधर साख्वाःले सुन हुने बालुवाको खर्पन बिसाएको ठाउँ सँगैको चोक)बाट दागीँ निकाल्ने गरिन्छ ।
जहाँ जहाँ कुमारी घुमाइन्छ, दागीँलाई पनि ती सबै ठाउँमा घुमाइन्छ । त्यस वर्षभित्र दिवंगत भएकाकाे परिवारजनले दागीँको पछाडि पछाडि धान, चामल मिसाइएको सतबिज बाटोमा छर्ने गर्दछन् । तल्लो भेग सबै दागीँलाई घुमाइसकेपछि फेरि लखुफल्चामा नै ल्याई थकालीहरुद्वारा स्वागत गरी भित्र्याइन्छ । दागीँसँग सतबिज छर्नेहरू सबै मरुहिटी गएर पूर्व फर्केको धारामा मुख धोई घर फर्किने गर्दछन् ।
कोही भने थानकोटको यंकी दहमा पुगी मुख धोएर घर फर्केर फलाहार गर्ने गर्दछन् । यसरी मृतकका परिवारका सदस्यहरूद्वारा पछ्याइने भनेको दागीँ इन्द्रका माता हुन् । इन्द्रकी आमालाई बसुन्धराको निराहार वर्त बस्न काठमाडौंमा मात्र पाइने पारिजात फूलको आवश्यकता भएकाले सो फूल लिन आएका इन्द्रलाई चोर ठहर्याई चौबाटोमा बाँधेर जात्रा मनाइरहँदा इन्द्रकी आमा दागीँको भेषमा काठमाडौंमा छोरा खोज्न आएकी थिइन् ।
छोरालाई पाता कसेर राखेको देखी काठमाडौंबासीहरूलाई धान पाक्न चाहिहने जति कुहिरो र हुस्सु दिएर छोरालाई लिएर फर्किइन् भन्ने मिथ छ। त्यसो भएकाले इन्द्रजात्रापछि तुवाँलो लाग्ने र धान पाकी चिसो पनि बढ्ने जनविश्वास छ ।
काठमाडौंबासीहरूलाई त्यति दिएर यंकी दहमा स्नान गरेर दागीँ स्वर्ग फर्किने भएकोले मृतकका आफन्तहरू पनि पछि लाग्ने गरेका हुन् । दागीँको यात्रा सकिएपछि मानन्धरहरूले काठमाडौंको दक्षिणतिरबाट छ्वालीको सर्प बनाएर त्यसको शरीरभरि दियो राखेर ‘बौमत’ ल्याउने गर्दछन् ।
जंगबहादुरकी प्रेमिकालाई देखाउन सुरु गरेका नानिचा
इन्द्रजात्राको अन्तिम दिन अर्थात् नानिचाका दिन राष्ट्राध्यक्षले कुमारीको हातबाट टीका थापी राज्य सञ्चालनका लागि शक्ति प्राप्त गर्ने चलन छ । पहिले तल्लो टोल र माथिल्लो टोलमा मात्रै कुमारी, गणेश र भैरुवको रथ घुमाइन्थ्यो ।
राणा प्रधानमन्त्री जंगबहादुरले किल्ला घरकी एक जना नेवार केटीलाई मनपराएका थिए । केटीलाई नेवारी भाषामा नानिचा भनिन्छ, जंगबहादुले ती केटीलाई देखाउनका लागि जात्राको अन्तिम दिन नानिचा नाम दिई रथ घुमाउन सुरु गरेका हुन् । विगत ६ वर्षदेखि नानिचायाः दिनमा कुमारी, गणेश, भैरवको रथ महिलाहरुले तान्ने गरेका छन् ।
महिलाहरु पनि समान रुपमा अघि बढिरहेको समयमा महिलाहरुले नै तान्न सुरु गरेको इन्द जात्रा व्यवस्थापन समितिका अध्यक्ष गौत्तम रत्न शाक्य बताउँछन् । कुमारी रथ यात्रामा एक सय जना, गणेश र भैरवको रथ तान्न ७५, ७५ जना महिलाहरु सहभागी हुन्छन् । रथ तान्नका लागि ५० वर्ष नकटेको महिलाहरुले नाम लेखाएर सहभागी हुन पाउँछन् ।
पृथ्वीनारायण शाहको आक्रमण
वि.सं १८२५ मा गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौंको आक्रमण गर्ने दिन इन्द्रजात्रा नै छानेका थिए । त्यतिबेला काठमाडौंलाई शुक्ल चतुर्दशीको राति जात्रा चलिरहेको बेला चारैतिरबाट घेरेर काठमाडौंलाई कब्जामा लिएका थिए । यो दिन छान्नुको मुख्य कारण राजादेखि प्रजा सबै जात्राको रमझममा भुलेर भोजभतेरमा मस्त हुने समयलाई उपयुक्त मानेका हुन् ।
जयप्रकाश मल्ल कुमारीको रथलाई छोडेर टेकुको बाटो हुँदै ललितपुर भागेको इतिहासमा उल्लेख छ । चतुर राजा पृथ्वीनारायणले राज्य कब्जापछि जनताको मन जित्नलाई कुमारीको खुट्टा ढोगी हरेक पर्व, जात्राहरु जसरी चलि आएजसरी नै चल्ने वाचा गरेका थिए ।
इन्द्रजात्रा–विशेषका थप सामाग्रीहरु पढ्नुहोस्
इन्द्रजात्रा : नेवाः समुदायको ‘कल्चरल थेरापी’, कोभिडले खायो रौनक
किराँती राजा यलम्बरको शिर हो इन्द्रचोकको आकाश भैरव
जंगबहादुरले प्रेमिका फकाउन सुरु गरे नानिचा रथ
बोकाले छोएको रुख नै इन्द्रजात्राको लिंगो
मजिपाः लाखेको सप्तरङ्गी रुमालले के भन्छ ?
जीवित देवीले जयप्रकाश मल्लको शासनकाल १२ वर्ष लम्ब्याइदिए