‘इन्द्रजात्रा विशेष’को पाँचो सामग्रीमा यस जात्राको मुख्य आकर्षण लाखे र पुलु किशी र झ्यालिञ्चा–
मजिपाः लाखेले प्रयोग गर्ने रुमालको अर्थ
काठमाडौंमा पानी नपरेर अनिकाल हुँदा तलेजु भवानीलाई काठमाडौंमा भित्र्याएर उहाँको आदेशअनुसार राँगा बलि दिएपछि पानी परेको कथन छ । तलेजुसँगै भित्रिएकाे आजुः लाखे अर्थात् मजिपाः लाखे भने यतै बसे । धेरै दिनसम्म आकाशमा सप्तरंगी इन्द्रेणी रहिरह्यो । पानी नपरेपछि हामी आएको भन्ने संकेतका रुपमा मजिपाः लाखेले प्रयोग गर्ने रुमाल पनि सप्तरंगी कपडा नै हुन्छ । जुन रञ्जिकार जातिले नै रंगाउने गर्छन् । रञ्जितकार समुदायको मुख्य काम नै कपडामा रंग लगाउनु हो ।
मजिपाः लाखेको कपालको विशेषता
राति सुत्ने बेलामा बच्चाहरु तर्सने गर्छन् । किंवदन्तीअनुसार लाखे आजुःको कपाललाई बुटीमा लगाई बच्चालाई बाँधिदियो भने तर्सने, बिरामी हुने ठीक हुन्छ भन्ने विश्वास गरिन्छ । त्यसैले इन्द्रजात्राको समयमा मजिपाः लाखेलाई कपाल तानेको दृश्य कपाल झिक्न गरिने प्रयास हो ।
लाखेको अर्थ
नेपाल भाषावाट ‘ला’ भनेको मासु र ‘खें’ भनेको अन्डा हुन्छ । भयंकर जिउ भएको, रातो ठूलो आँखा, रातो कपाल, कम्मरमा घघँरा बाँधेको राक्षससँग नडराउने को होला र ? सो राक्षसले मांस अर्थात् मासु र अन्डा मात्रै खाने गर्दथे । राक्षस भनेर सिधैं भन्न डराएर सांकेतिक भाषामा लाखें भन्न थालेको हो । पछि गएर अपभ्रंश हुँदै जनमानसको बोलीमा लाखे हुन गएको हो ।
पुलु किसी
पुलु किसी अर्थात् सेतो हात्तीको शरीरभित्र दुई जना मान्छे पस्न मिल्ने गरी बनाइएको हुन्छ । बाहिर एक जनाले हातमा चिलाखः (मसाल) बोक्छन् । यसलाई स्वर्गलोकका राजा इन्द्रको वाहन अर्थात् ऐरावत हात्तीको प्रतिरूप मानिन्छ । येँया पुन्हीमा कुमारी रथयात्राका अतिरिक्त सबैले सम्झने दृश्य पुलु किसीको यात्रा हो ।
झ्यालिँचा
झ्यालिँचाले लाखेलाई विभिन्न हाउभाउले जिस्क्याउँछ । लाखेले झ्यालिँचा खेद्ने र झ्यालिँचाले लाखेलाई छलछाम गरी कायलै पार्छ । ‘लाखे–झ्यालिंचा’ को प्रस्तुतिले दर्शकलाई सांस्कृतिक मनोरञ्जन दिन्छ । लाखे र झ्यालिँचाको पनि एउटा किंवदन्ती छ । लाखेलाई तलेजु भवानीको संरक्षकका रूपमा लिइन्छ ।
तत्कालीन समयमा मान्छे खाने र हेर्दैमा डरलाग्दो भएकाले लाखेलाई सहरमा राख्न कसैले स्विकारेनन् । त्यसैले शोभा भगवतीपारिको खुल्ला फाँटमा लाखेलाई बस्न लगाइयो । मान्छे खाँदिन र बच्चाहरुको रक्षा गर्छु भन्ने वाचामा राखेको कथन छ । लाखेले ‘मान्छे खान्छ कि खाँदैन’ भनेर हेर्न ‘झ्यालिँचा’ का रूपमा सानो चकचके बालकलाई लाखे सुतेको ठाउँमा कपाल जान्न, जिस्काउन पठाउँछ । रिसले चुर भए पनि आफ्नो वाचालाई पूरा गर्ने ती बालकलाई लखेट्छ मात्र केही हानि गर्दैन ।
त्यही कारण इन्द्रजात्राको समयमा लाखेसँगै झ्यालिँचा पनि नाचमा उपस्थित गराइन्छ । लाखे जताजता पुग्छ, ती ठाउँमा गएर झ्यालिँचाले जिस्काउँछ । झ्यालिँचा व्रतबन्ध नगरेको बालक हुनुपर्ने मान्यता छ ।
इन्द्रजात्रा–विशेषका थप सामाग्रीहरु पढ्नुहोस्
इन्द्रजात्रा : नेवाः समुदायको ‘कल्चरल थेरापी’, कोभिडले खायो रौनक
किराँती राजा यलम्बरको शिर हो इन्द्रचोकको आकाश भैरव
जंगबहादुरले प्रेमिका फकाउन सुरु गरे नानिचा रथ
बोकाले छोएको रुख नै इन्द्रजात्राको लिंगो
मजिपाः लाखेको सप्तरङ्गी रुमालले के भन्छ ?
जीवित देवीले जयप्रकाश मल्लको शासनकाल १२ वर्ष लम्ब्याइदिए