प्रदेश नं. ५ को राजधानी बुटवल उपमहानगरपालिकामा कोभिड १९ कोरोना भाइरसको संक्रमण बढिरहेको छ । समुदायमा फैलिदो संंक्रमण नियन्त्रण गर्न पछिल्ला दिनमा नगरपालिकाले समुदायमा जनचेतना र प्रत्यक्ष निगरानी बढाएको छ । संक्रमणको अवस्था र यसका कारण विकासको गतिविधिमा परेको प्रभावका सन्दर्भमा नगरपालिकाका मेयर शिवराज सुवेदीसँग नेपाली पब्लिककी शकुन्तला जोशीले गरेको अन्तर्वार्ता-
तपाईंको उपमहानगरपालिकामा संक्रमणको अवस्था के छ ? नियन्त्रणमा के के पहल हुँदै छन् ?
हामीले संक्रमणका बारेमा टोलटोलमा पुगेर जागरुक गराउनेदेखि प्रत्येक गल्लि, टोललाई निर्मलीकरण गर्यौं । पहिलो लकडाउन खुकुलिएपछि संक्रमितको एकाएक बढ्यो । २ सयभन्दा बढी संक्रमित भएको क्षेत्रलाई बन्दाबन्दी र ५सय भन्दा बढीकोलाई निषेधित गर्ने निर्णय अनुरुप रुपन्देही गत २० गतेसम्म लकडाउन थियो । आजसम्म बुटवलमा ३ सय ३६ जना संक्रिमित मध्ये १ सय ३८ जना होम आइसोलेसनमा हुनुहुन्छ ।
एन्फा एकेडेमीको भवनमा ५० बेडको आइसोलेसन सेन्टर बनाएका थियौं । कोरियन तालिम केन्द्रमा निर्मित १ सय बेड क्षमताको सेन्टरमा १९ जना हुनुहुन्छ । संक्रमित १९ जना प्रहरीको व्यवस्थापन पनि हामीले नै गरेका छौं । होटललाई प्रयोग गरेर निजी अस्पताललाई आफै व्यवस्थापन गर्न भनेका छौं । १८ जना संक्रमित स्वास्थ्यकर्मी पनि हाम्रै आइसोलेसनमा हुनुहुन्छ ।
संक्रमण धेरै नबढेको अवस्थामा छिमेकका तीन जिल्ला र सबै नगरपालिकाका विरामीलाई हाम्रै आइसोलेसनलाई सुविधा दिएका थियौं । हाम्रै संक्रमित कर्मचारीहरुलाई नगरपालिका हाताभित्रै आइसोलेसनमा राखिएको थियो ।
स्थानीय समन्वय कस्तो पाउनु भयो ?
विभिन्न सामाजिक, व्यावसायिक संस्था, राजनीतिक पार्टीलगायत सँगको समन्वयबाट काम गरिरहेका छौं । विभिन्न महाशाखामा कार्यरत कर्मचारी नै संक्रमित भइसकेपछि हाम्रो जिन्सी, लेखा, प्रशासन समेत अवरुद्ध हुने अवस्था पनि हामीले जनताको बीचमा जान छाडेनौं । आइसोलेसन र यसका लागि चाहिने नैतिक भौतिक पूर्वाधार तयार गर्न स्थानीय रोटरी क्लब लगायत सामाजिक संघसंस्थाको सहयोग छ ।
प्रादेशिक अस्पतालको संचालन व्यवस्थापनमा बुटवल धागो कारखानामा कारोना विशेष अस्पताल स्थापना गरिएको छ । अस्पताल स्थापनार्थ झण्डै ७० लाख रुपैयाँ स्थानीयबासीबाट जुटेको हो । राहत व्यवस्थापनमा पनि ५० प्रतिशत जनसहभागिता भयो । ‘सक्नेले नसक्नेलाई’ भन्ने नीति अख्तियार गरी सञ्चालन गरेको अभियानमाले सवा दुई करोडको राहत कोष खडा गर्यो ।
यसमा करीब १ करोड ५० लाख जनस्तराट संकलन भएको हो । हामीले यहाँका सबै नगरपालिकासँग समन्वय गर्ने, प्रदेशसँग पनि भर्चुअल मिटिङ राखेर अनुभव आदानप्रदान गर्ने, रेकर्ड तान्ने, एक ठाउँको सफल अभ्यासलाई अर्को ठाउँमा हस्तान्तरण गर्ने गरी प्रयत्नलाई जारी राखेका छौं ।
राहत तथा रोजागारी समस्यालाई कसरी हल गर्दै हुनुहुन्छ ?
दोस्रो लकडाउन भएपछि नयाँ नीति अख्तियार गरियो । ‘कामका लागि खाद्यन्न’ भनेर रोजगारी सिर्जना कार्यक्रम अन्तर्गत ‘निडी पिपल’लाई उपमहानगरपालिकाको आन्तरिक परियोजना प्रधानमन्त्री रोजगार कार्यक्रममा लगाइयो । अहिले पनि भोकै पर्ने अवस्थाका जनतालाई टोलबाट वडा कार्यालय हुँदै हाम्रो कार्यालयसम्म आइपुगेको सिफारिसका आधारमा सहयोग उपलब्ध गराउँछौं ।
उद्योग व्यवसाय, विकास निर्माणलगायत गतिविधिलाई भौतिक दूरी तथा अन्य स्वास्थ्य मापदण्ड ख्याल गर्दै अघि बढाउनु पर्छ । नत्र हाम्रो जस्तो विकासोन्मुख मुलुक निकट भविष्यमै भोकमरी र आर्थिक संकटबाट गुज्रनु पर्ने हुन्छ । भौतिक दूरी कायम गर्ने, रोग प्रतिरोधी क्षमता बढाउने, आहारबिहारमा ध्यान दिने, आफ्नो काम आफैं गर्ने, सार्वजनिक जमघट हुने क्षेत्रहरु नखोल्ने, सार्वजनिक यातायात, हाटबजारमा जाँदा होसियार हुँदै अघि बढ्नु पर्ने सुझाव आएको छ ।
यही चेतनामा उभिएर विरामीलाई हाम्रै वरिपरी उपलब्ध गुर्जो, अमलालगायत आयुर्वेदिक औषधी सेवन गर्न दिने, हाम्रै योग विधिअनुसार फोक्सो सम्बन्धि शारीरिक व्यायाम, प्राणायामजस्ता जीवनशैली अपनाउन नागरिकलाई प्रेरित गरिने छ ।
आइसोलेसन सेन्टरहरुमा योग प्रशिक्षण दिने, आयुर्वेदिक औषधीहरु सेवन गर्न दिने गरिन्छ । एउटा संक्रमितले २४ घण्टामा के गर्नहुन्छ के गर्नु हुँदैन भन्ने हाम्रो स्वास्थ्यकर्मीले चार्ट बनाएर अनुशरण गर्न लगाएको छ । एन्टीबडी कसरी बन्छ र रोगलाई जितिन्छ भन्नेमा ध्यान दिन लगाइएको छ । हाम्रो आइसोलेसन सेण्टरबाट कोही पनि आइसीयुतिर जान परेको छैन ।
यहाँ कस्तो सम्म देखियो, कसैलाई एउटै घटनामा अत्याधिक सकसमा हुनु भयो, कोही संक्रमित आमाले बच्चालाई स्तनपान गराउँदा पनि बच्चालाई कोरोना देखिएन । हामी जनप्रतिनिधिले नै घर घरमा गएर संक्रमितहरुलाई समुदायले हेर्ने दृष्टिकोण रुपन्तरण होस् भनेर हेर्ने काम गरिरहेका छौं । यसैबीच तीन जनाको दुःखद ढंगले ज्यान गुमाउनु भएको छ । तर उहाँहरु विगत लामो समयदेखि निमोनियालगायत दीर्घ रोगी हुनुहुँदोरहेछ, त्यही बेला संक्रमण हुँदा उहाँहरुको ज्यान गएको छ ।
पहुँच नहुनेहरुले उपचार नपाएको गुनासो सुनिन्छ, के भइरहेको हो ?
यो गुनासो आएपछि मैले यसको फलोअप गरें । कारण के रहेछ भने प्रत्येक व्यक्तिलाई आफ्नो समस्या ठूलो लाग्छ । तर अस्पतालले त नियमित उपचार लिने विरामीलाई पनि हेर्नु प¥यो । कोही आकस्मिक शल्यक्रिया गर्नुपर्ने विरामी आयो भने उसको कोभिड नहेरी अगाडिको उपचार गर्ने कुरा भएन । यता कन्ट्याक्ट ट्रेसिङमा लक्षण देखिएको छैन, तर पोजेटिभसँग सम्पर्कमा थियो, त्यसकारणले उसको स्वाब संकलन भएर ल्याब आएको छ । यस्तो अवस्थामा अस्पतालका चिकित्सकले आकस्मिक केशलाई प्राथमिकतामा राख्नु पर्ने हुँदो रहेछ ।
यता मलाई नै सबभन्दा बढी जनदबाब आउँछ, सर स्वाब लगेको एक हप्ता भयो रिपोर्ट आएन, बुझिदिनुहोस् । ४२ भन्दा माथि आयो भने नर्मल मानिदो रहेछ । त्यसलाई ल्याबका प्राविधिकले पुनःजाँच गर्ने रहेछ । त्यसो गर्दा एउटै घरका पठाएका दुई जना छ भने एउटाका आइहाल्ने, अर्कोको पर्खने पर्ने कुरा जानकारी नहुँदा पनि गुनासो आउँछ । जनस्वास्थ्यले अब रिपोर्टलाई प्रेस नोट बनाएर जारी गरिदिने भन्ने कुरा भएको छ । नागरिकलाई सूचित गरिदिने जिम्मा लिएको छ ।
हाम्रो नेपालको स्थिति के थियो शुरुमा भन्दा हाम्रो स्वाब हङकङ पठाएर एकहप्तामा रिपोर्ट पर्खिने अवस्थामा पनि थियौं ।
अहिले पनि हाम्रो ल्याबहरुको प्राविधिक क्षमता सुधारका निम्ति प्रयास भइरहेको छ । अहिले हाम्रै आसपासमा एउटा सरकारी दुईटा निजी ल्याब छन् । त्यसकारण अहिले राज्यका तर्फबाट पाएको सेवालाई सकारात्मक नै मान्नु पर्यो । तर जसलाई संक्रमण भएको हो वा होइन छुट्याउन आत्तिएको हुन्छ, उहाँका लागि गुनासो जायज हो ।
यति लामो समयसम्म लकडाउन भइरहँदा यस आर्थिक वर्षको विकास निर्माण गतिविधिमा कस्तो प्रभाव पर्यो ?
हाम्रा विकास निर्माण आयोजनाहरु निश्चित परिसरभित्र, स्वास्थ्य मापदण्ड अपनाएर गर्न सक्ने परियोजना सञ्चालन गरिरहेकै छौं । मापदण्ड पालना गर्न नसकिने, भिडभाड हुने काम रोकिएका छन् । यसमा हाम्रा राष्ट्रिय गौरवका आयोजना जस्तै राष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनी स्थल, सडक आयोजना दुरी कायम गरेर मेशिनले काम गर्ने यस्ता आयोजना केही अपरेटरले मात्रै डोजर लोडरले मात्रै गर्न सकिने परियोजना अघि बढाएका छौं । चालु आबको टेण्टर आह्वान गर्ने, नयाँ सम्झौता गर्नै बाँकी छ । अहिले चालु गतिविधिमा लगभग १ हजार ५ सय जना रोजगार होलान् ।
हाल करिब १८ विगाहा जग्गामा कम्पाउण्ड हालेर बन्दै गरेको दुई ठूला आयोजना सञ्चालित डेढ अर्ब रुपैयाँ हाराहारीका छन् । कतै यी मजदुर संक्रमित नहोउन् भनेर हामीले २ सय ३४ जनाका नमूना परीक्षण पनि गरायौं । उहाँहरु कसैमा पनि संक्रमण देखिएको छैन । हामीले गत आबको काम पूँजिगत खर्च ६५ प्रतिशत गरेका थियौं । अहिले तिनै अघिल्लो आबको करीब १२ करोड रुपैयाँ जतिको ज्वाइन्ट बहुबर्षिय आयोजना चलेका छन् । जनता सचेत भइदिनु पर्यो, अब यस्ता सबै विकासका कार्यलाई गति दिनु पर्ने छ ।
रुपन्देहीको अरु नगरपालिकाका मेयरको कुरा पनि सुनौं
सुरक्षित तवरले विकासका काम जारी छ - सैनामैना नगरपालिका
लकडाउनकै बेला एक हजार श्रमिक रोजगारमा- तिलोतमा नगरपालिका
अब कोरोनाबाट माथि उठ्न नयाँ मेकानिजम जरुरी छ- देवदह नगरपालिका
कोरोना सँगसँगै डेढ अर्बको निर्माण कार्य जारी, १५ सय जना रोजगार- बुटवल उपमहानगरपालिका
पूर्ण रुपमा कोरोना रोकथाममा केन्द्रित, विकासनिर्माण रोक्न बाध्य- सिद्धार्थनगर नगरपालिका