सुरुमैः ‘कमिला–फट्याङ्ग्रा टकेटिभ’ एक हास्यव्यंग्य आलेख हो । यी दुईको कुराकानी कोही–कसैलाई हजम नभएमा कमिला र फट्याङ्ग्राबाहेक अरू कोही जिम्मेवार हुने छैनन् ।
घाँसेमाटे देशमा सबैको हात–हातमा, काँध–काँधमा रेडियो झुण्डेकै हुने । फट्याङ्ग्राको त अझ हातमा पनि होइन, काँधमा पनि होइन, कानैमा रेडियो झुण्डिने । त्यस्तै परेमा फट्याङ्ग्राले घरेलु उद्यमीले उत्पादन गरेको ट्याप्पै टाँसिने कडा गमले कानैमा रेडियो टाँस्थे ।
नत्र उनका परममित्र कमिलाकुमारले रेडियो उछिट्याइ हाल्थे । किनकि, रेडियो फट्याङ्ग्रा र कमिलाले बराबर शेयर हालेर किनेका थिए ।
कोरोनाको महामारी आएपछि झनै घाँसेमाटेका जनताले रेडियो झुण्ड्याउन एकछिन पनि छाडेका थिएनन् । रेडियोले पनि ‘कोरोना पुराण’ दिनानुदिन बढाउँदै थियो । केही रेडियोले टिआरपी बढाउने नाममा आफ्नो नाम नै बदलेर ‘रेडियो कोरोना’ राखेका थिए । त्यस्ता रेडियो झन् हिट थिए ।
ती खाले रेडियो ‘ढ्यान्ट्यारान्...’ टाइपको सिग्नेचर बजाउँदै गर्जिन्थे, ‘यो रेडियो कोरोना हो । कोरोना कहरको प्रहरमा हामी कोरोना समाचार लिएर आएका छौं, म कोरोनाकुमार, माफ गर्नुहोला करनकुमार ।’ बेलाबेला समाचारवाचक नै आफ्नो नाम यसरी भुल्थे ।
बिहानै रेडियो बोकेर कमिलो दुलो पसेपछि फट्याङ्ग्रालाई औडाहा भइरहेको थियो । उनी रेडियो सुन्न नपाएर ‘सिक’ भइरहेका थिए । अलि पर छेपारो आँगनको डिलमा बसेर रेडियो सुन्न थाले । उनले गलामा मादल झुण्ड्याएजसरी रेडियो झुण्ड्याएका थिए ।
अघिल्लो दिनसम्म यतिलाई कोरोना लाग्यो, उतिलाई कोरोना लाग्यो भनेर समाचार आउँथ्यो । कसैको नाम उल्लेख हुँदैनथ्यो । समाजिक छिःछिमा पर्ने सम्भावनाले पनि कोरोना संक्रमित भएकाको नाम खुलेर फुक्दैनथे ।
आज त लौ उल्का भयो ! फट्याङ्ग्राले छेपारोको रेडियो सुन्दै गर्दा कोरोना लाग्नेको नाम नै फ्याट्टै भनिदियो, ‘घाँसेपाटेका बहुराष्ट्रिय च्याउच्याउ कम्पनीका विनोद चौधरीलाई कोरोना, तीनमहिनादेखि घरैमा बसिरहेका उनी घरकै ‘होम आइसोलसन’मा ।’
(संयोगले नेपालकोजस्तै घाँसेपाटे देशको च्याउच्याउ मालिकको नाम एकै रहेछ)
यो सुन्नेबित्तिकै उँघिरहेको छेपारो जुरुक्क उठे । कान तन्काएर सुनिरहेको फट्याङ्ग्रा फुत्रुक्क उफ्रे ।
‘लौ विनोद चौधरीलाई कोरोना’, फट्याङ्ग्राले परममित्र कमिलालाई ज्यादै मिस गरे । अनि फुत्रुक–फुत्रुक गर्दै कमिलाको दुलोछेउ पुगे । अनि फट्याङग्रे लवजमा बोलाए, ‘मित्र कमिलाकुमार बाहिर निस्क न ।’
भित्रबाट कमिलाको आवाज आयो, ‘नाइँ ! तिमी रेडियो लिन आ’को होला ।’
फट्याङ्ग्राः हैन हैन, रेडियो लिन आ’को हैन, जे सुन्नु पर्ने, नसुन्नुपर्ने, मैले छेपारोको कोरोना रेडियोबाट सुनिसकेँ । तिम्ले त्यो खबर सुन्यौ कि सुनेनौ साँच्ची ?
कमिलाः के कुरा हो र ? म त इयरफोन लाएर गीत सुनिरा’को ।
गीत भनेपछि फट्याङ्ग्रा पनि फुत्रुङ्ग परे र सोधे, ‘कुन गीत हो र ?’
कमिलाः त्यही के अहिलेको हिट गीत ‘के कोर्ना लाग्छ र ? उखुमै लाग्छ नि !’
कमिलाको गीत सुनेपछि अघि जुन कुराले फुत्रुकेर आ’को हो, त्यो कुरा फट्याङ्ग्राले फेरि सम्झे र भने, ‘थाहा पायौ विनोद चौधरीलाई कोरोना लागेछ नि !’
यो सुन्नेबित्तिकै कमिला पनि टाउकोको आफ्नो एन्टेना हल्लाउँदै बाहिर निस्के ।
कमिलाः को चौधरी, विश्वकै धनीमध्येको व्यापारी ?
फट्याङ्ग्राः हो त्यही, च्याउच्याउ कम्पनीको मालिक ।
कमिलाः हैट, कसरी लाग्छ उनलाई, उनी तीन महिनादेखि घरमै छन् त ।
फट्याङ्ग्राः त्यही त घरमा पनि कोरोना आउँछ भनेर अनेक सुरक्षा सेना तैनाथ गर्या’थे ।
कमिलाः कतै जान परे नि आफ्नै गाडी सरर, आफ्नै ड्राइभर हरर हो नि ।
फट्याङ्ग्राः त्यही त, म नि तीन छक्क भनेर फुत्रुकेर तिमीलाई सुनाउन आ’को ।
कमिलाः फेरि अहिले त मास्क–सास्क, स्यानिटाइजर पनि बनाउँदै बेच्थे क्यारे । आफूचाहिँ विदेशबाट आइएसओ प्राप्त मास्क सु्त्दा पनि लाउँथे भन्ने समाचार तिम्रै यही रेडियोले भन्या हैन ?
(कमिला जंगेर रेडियोलाई प्याट्ट हान्छ । फट्याङ्ग्रा रेडियो फुत्त थुतेर बोल्छन् ।)
फट्याङ्ग्राः के तिम्रो मेरो नि । हाम्रो रेडियो भनन ।
(मुख्य कुरामै फर्कंदै)
कमिलाः अँ, ‘१० वटा च्याउच्याउ एकमुष्ट किन्दा एउटा मास्क फ्रि’को अफर पनि ल्या’को हैन ?
फट्याङ्ग्राः हो नि । मुखैमा मास्क लाएपछि कसरी खानु हैन ? के–के अफर पनि ।
कमिलाः उनका घरमा क–कसलाई लाग्या’छ रे नि कोरोना ?
फट्याङ्ग्राः खै, छेपारेको रेडियोले त उनलाई मात्र लाग्या भनेर ढ्यान्ट्यारान्... बजाइरा’थ्यो ।
कमिलाः उनका श्रीमती, घरका अरू परिवार, ड्राइभर–साइभर, उनका टमी–पप्पी कसैलाई पनि लागेको छैन त ?
फट्याङ्ग्रा: (एउटै कुरा सोधिरहँदा अलि रिस उठेछ र चर्केर बोले) छैन भनिसकें त । रेडियोले झुटो बोल्ला त ? अझ तीन महिनादेखि घरमै बसिरहेका चौधरी घरमै ‘होम आइसोलेसन’मा पनि भन्या’थ्यो । आफै सुन्नु नि ।
कमिलाः (ओठ लेपारेर) भनेसी, घरमै, होम आइसोलेसनमा । मलाई तनाव भयो सुन्दा नै ।
कमिला अलि शीतलतिर गएर थ्याच्च बसे । फट्याङ्ग्रा एकै जम्पमा त्यहाँ पुगिहाले । कमिला धेरैबेरसम्म केही नबोली बसिरहे । फट्याङ्ग्रा भने रेडियोको ब्याण्ड घुमाउन थाले ।
एकाध घण्टापछि कमिला जुरुक्क उठे । पछाडि फर्केर हेर्दा फट्याङ्ग्रा झुलिरहेका थिए । कमिलाले फट्याङ्ग्रालाई पानी छ्यापेर 'फ्रेस' बनाइदिए ।
अनि मौनता तोड्दै भने, ‘फट्याङ्ग्रा मित्र, तिमी चाहीँ जतिखेर पनि झुलिराख ! उता चौधरीले च्याउच्याउ मात्र हैन, कोरोना पनि बेच्ने भए नि गाँठे ।’
फट्याङ्ग्रा कुरा नबुझेर अक्क न बक्क भइ पक्क परेर कमिलालाई हेरिरहे ।
अघिदेखि चाईंचुईं नगरेको रेडियो फ्याट्टै बोल्यो, ‘१० च्याउच्याउको खरिदमा एउटा मास्क सित्तैमा ।’