मलाई चिटिक्क परेर, स्कर्ट, सारी र मेकअपमा हिँड्न कहिल्यै मन लागेन । सानैदेखि खेलाडी बन्ने, नाम र रेकर्ड राख्ने रहर थियो । जीवनको मुख्य लक्ष्य नै आफूलाई खेलाडीको रूपमा चिनाउन सकूँ भन्ने भयो ।
खेलकै क्रममा दीपक विष्टसँग परिचय भयो । मनपरेपछि हामीले अन्तरजातीय विवाह गर्यौं । त्यतिबेलो दीपकजी सिनियर र म जुनियर खेलाडी । हामीलाई तेक्वान्दोले नै जुराइदिएको जोडी भन्दा हुन्छ । पहिले जुनियर–सिनियर खेलाडी, गुरु र शिष्य, अनि प्रेमी–प्रेमिका र बिहे ।
बिहे भएको गन्ने नै हो भने नौ वर्ष पूरा भइसक्यो । बिहेकै समयमा दीपकको आग्रह थियो– खेलचाहिँ नछोड ।
मेरो पनि त्यही सोच थियो, खेल त मेरो जीवनको एक अंग नै बनिसकेको थियो । मलाई लागिसकेको थियो– खेलविना मेरो जीवनको अर्थ नै छैन ।
- उहाँले जिस्केर ‘बिहेपछि नै त्यो प्लान गरौं न है’ भन्दा मलाई अप्ठ्यारो लागेको थियो ।
अफेयरमा हुँदा पनि रमाइलो गर्ने, घुम्ने रहर सबैको हुन्छ तर हाम्रो हकमा भने फरक अनुभव र यादहरू बने । त्यसैले खेलको रिङ नै हाम्रो लागि प्रेमको रिङ बन्यो । हाम्रो भावनात्मक निकटता जति थियो, खेलप्रति एकाग्रता पनि उत्तिकै । त्यतिबेला उहाँ प्रशिक्षक हुनुहुन्थ्यो, अझ भनौं– कठोर प्रशिक्षक । म उहाँको कठोर प्रशिक्षणमा आफूलाई अघि बढाइरहेकी थिएँ ।
सन् २०१० को भएको एशियन गेम्समा पराजित भएपछि हामीले बिहे गर्ने निर्णय गर्यौं । घरपरिवारबाट स्वीकृतिको लागि कोशिस गर्यौं । तर, नपाएपछि सन् २०११ मा आफ्नो सुरले बिहे गर्यौं । र, खेलजीवनलाई निरन्तरता दिइरह्यौं । अर्काे वर्ष माउन्ट एभरेष्ट तेक्वान्दो च्याम्पियन जितेँ ।
- मातृत्वको अनुभव गर्ने रहर पूरा हुँदै गर्दा बेग्लै खुसी थियो मनमा, तर डर पनि उत्तिकै ।
सन् २०१२ मा साग हुने कुरा थियो तर सरेर २०१६ मा पुग्यो । पहिलेदेखि नै सन्तानको चाहना थियो नै । अफेयरमा पर्नुअघि नै चलचित्रमा प्रेग्नेन्ट महिला, उनीहरूको स्याहारसुसार, बेबी सावरका भिडियो–फोटो हेरेर रमाउँथें । बाटोमा हिँड्दा पनि बच्चा देख्दा रमाइलो लाग्थ्यो ।
एकदिन अभ्यास खेल सकेर दीपकजी र म सँगै हिँड्दै थियौं । मेरो मुखवाट अनायासै बच्चाप्रतिको मोह र चाहना व्यक्त भयो । उहाँले जिस्केर ‘बिहेपछि नै त्यो प्लान गरौं न है’ भन्दा मलाई अप्ठ्यारो लागेको थियो ।
साग गेम सरेपछि बच्चा पाउने निर्णय गर्यौं । त्यतिबेला २५ वर्ष भएकी थिएँ । बच्चा पाउने उपयुक्त समय पनि थियो त्यो, ३० वर्षपछि हर्मोनहरूमा परिवर्तन हुने हुँदा समस्या पनि आउन सक्ने बताए । त्यसमा पनि हामीबीच १० वर्षको उमेर ग्याप थियो । त्यसैले पनि बच्चा जन्माइहाल्ने सोच बनायौं ।
मातृत्वको अनुभव गर्ने रहर पूरा हुँदै गर्दा बेग्लै खुसी थियो मनमा, तर डर पनि उत्तिकै । त्यो समय मेरो खेल करियर उचाइमा थियो । कतै मैले गलत निर्णय पो गरें कि ? बच्चा पाएपछि खेल्न नपाउने वा नसक्ने हो कि ? मेरो खेल सपना अधूरो हुने हो कि भन्ने दुविधाले मन खान्थ्यो । प्रेग्नेन्सीको ९ महिना नै मलाई सकस भयो । डर, अन्यौल र खुसीमा बाँडिइरहेँ ।
- छोरा १० महिना भएपछि खेलमा फर्कें । ‘स्टामिना रिकभर’ हुन्छ कि हुँदैन, राम्रो खेल्न सक्छु कि सक्दिनँ भन्ने दोधारमा थिएँ ।
शारीरिक रूपमा पनि मलाई गाह्रै नै भयो । खानाको बास्ना पटक्कै मनपर्दैनथ्योे । बास्नाले नै पनि उल्टी हुने, सहनै गार्हो हुन्थ्यो ।
यस्तो बेला धेरै खानुपर्छ भन्ने लाग्थ्यो दीपकजीलाई । कालीमाटी गएर टन्न तरकारी र फलफूल लिएर आउनुहुन्थ्यो । मलाई भने न पकाउन मनपर्थ्यो, न त खान नै । किचेनको काममा दिपकजीको मामाको छोराले पूरै सहयोग गरिदिनु हुन्थ्यो ।
त्यतिबेला मास्टर्स पनि पढ्दै थिएँ । बिहान एकछिन कलेज गएर आएपछि दिनभरि घरमै बस्थेँ, दिनभरि जसो नै सुतेर ।
त्यतिबेला खाने भनेकै पानी र चियामात्रै थियो । पाँच महिनासम्म त कतै बाहिरै गइनँ । त्यतिबेला पिज्जा खान भने मन पर्थ्यो । चिज र मसरुम पनि ५ महिनापछि अलि–अलि खान थालें । बिस्तारै सक्रिय हुन थालें ।
मलाई नर्मल डेलिभरी हुने मन थियो । बिस्तारै वाक जाने, गमलाहरूमा पानी हाल्ने र लुगा धुने गर्न थालें । तर नर्मल डेलिभरी हुन सकेन, बच्चाको टाउको तल आएर फेरि माथि गएको भन्दै अप्रेसन गर्न भनियो । केही समय पेटमै बसिराख्दा बच्चाले फोहर खान्छ भन्ने डर हुँदो रहेछ । सन् २०१३ मा पहिलो सन्तान छोरा जन्माएँ । ‘लेबर पेन’ महसुस नै नभइ आमा बनेँ ।
मातृत्वको मोहले मलाई जति गलाए पनि खेल र मेडलको तृष्णाले भने छोडेको थिएन । छोरालाई माया गर्दा–गर्दै खेलको नसाले सताइ रहन्थ्यो । खेल्न सक्दिन कि, हार्छु कि भन्ने डर लाग्थ्यो ।
- त्यही सोचेर फुर्सदको समयमा दोस्रो पटक गर्भवती भएँ । छोरीको चाहना थियो, तर दोस्रो सन्तान पनि छोरा नै जन्मियो ।
छोरा १० महिना भएपछि खेलमा फर्कें । ‘स्टामिना रिकभर’ हुन्छ कि हुँदैन, राम्रो खेल्न सक्छु कि सक्दिनँ भन्ने दोधारमा थिएँ ।
सन् २०१४ को एसियन गेम्समा भाग लिन जाँदाको क्षण मातृत्वको हिसाबले जीवनकै कष्टपूर्णमध्येको एक रह्यो । १४ महिनाको छोरा छोडेर डेढ महिनाका लागि कोरिया जादै थिएँ । जहाज उड्नुअघि छोरालाई दूध चुसाएर भारी मनले गएकी थिएँ ।
दिनको ६ घण्टा कडा तालिम गर्दा पनि राति निन्द्रा पटक्कै लाग्दैथ्यो । दूध निकालेर फ्याँक्नु पर्दा मन छियाछिया हुन्थ्यो । अहिले सम्झिँदा पनि मन पोल्छ, छट्पटिन्छु ।
बाबुलाई खाना खुवाउन गाह्रो थियो आमाले कसरी खुवाउनुभयो होला, के गर्दै होला आदि सोचेरै दिनरात काट्थेँ । कहिलेकाँही मनभरि कुरा खेल्थ्यो– नआएको भए पनि त के बित्थ्यो र ?
घरमा भनेकी थिए“– बाबुहरूको प्रत्येक दिनको भिडियो पठाउनू । ट्रेनिङको समय मोबाइल चलाउने अनुमति थिएन, डाइनिङमा मात्रै इन्टरनेट र मोवाइलको सुविधा थियो । कतिबेला ट्रेनिङ सकेर डाइनिङ पुगूँ र भिडियो डाउनलोड गरेर छोराको स्वर सुनौं भन्ने लाग्थ्यो । एक मन त छोराप्रति मैले ठूलै अपराध गरेँ कि भन्ने पश्चाताप महसुस भइरह्यो ।
सन् २०१६ मा भारतमा भएको १२ औं सागको फाइनलमा म पराजित भएँ । एसियन च्याम्पियनसिप पनि हारेपछि खेल अघि नबढाउने निष्कर्षमा पुगें । अब घर बनाउनुपर्छ भनेर त्यतातिर लागें । मलाई सधैं लाग्थ्यो– छोरा वा छोरी जो भए पनि दुई सन्तान चाहिं चाहिन्छ नै । त्यही सोचेर फुर्सदको समयमा दोस्रो पटक गर्भवती भएँ । छोरीको चाहना थियो, तर दोस्रो सन्तान पनि छोरा नै जन्मियो । जेठो र कान्छोबीच ४ वर्ष ३ महिनाको ‘ग्याप’ छ ।
- मेरो दुई छोराप्रतिको समर्पण र परिवारको साथले नै मैले जीवनमा हासिल गरेकी हुँ ।
दोस्रो पटक प्रेगनेन्ट हु“दा भने पहिलेको तुलनामा सक्रिय थिएँ । पुस्तक पढ्थेँ, संगीत सुन्थेँ, कपिल शर्माको शो हरेर हाँस्थेँ । ८ महिनाको हुँदासम्म सिकाउन गइरहेँ । अप्रेसनको २ दिन अघिसम्म आफैँ स्कुटर चलाएर जान्थेँ ।
दुई सन्तान भएपछि मेरो सोच फरक हुन थाल्यो । मैले अझ खेल्नुपर्छ भन्ने सोच बढ्न थाल्यो । बच्चा तीन महिनाको भएपछि नै ट्रेनिङका लागि जान थालें । ४ वर्षको ग्यापमा फेरि पनि मैदानमा पुगेँ ।
म भारतीय बक्सिङ खेलाडी मेरी कोमलाई ‘आइडियल’ मान्छु । त्यही आदर्शलाई पछ्याउँदै मैले गरेको मिहिनेतले १३ औं सागमा सफलता मिल्यो । मैले एकै दिन दुई स्वर्ण जितें ।
मेरो दुई छोराप्रतिको समर्पण र परिवारको साथले नै मैले जीवनमा हासिल गरेकी हुँ । मैले आफ्नो जीवनलाई हेर्दा पनि लाग्छ, आमाजति बलियो पिल्लर केही हुँदैन ।
क्लोज क्याम्प र अन्य ट्रेनिङका बेला कपमा दूध निकालेर फ्याक्नुपर्दाको पीडाले अझै छाती चरक्क हुन्छ । कति रात थिए– बच्चाकै यादमा झिमिक्क नगरेको । सबै सफलता एकातिर, मातृत्व एकातिर भइरहन्छ महिलाको जीवनमा । र, एउटी महिला आमा बनेपछिमात्रै पूर्ण हुन्छे, खुसी हुन्छे, त्यो पनि सत्य हो ।
प्रसवः पीडा र खुशी स्तम्भका सामाग्रीहरु पनि पढ्नुहोस्
‘डाक्टर ! पेटमा त अर्को पनि बच्चा छ कि क्या हो ?’- कलाकार सरिता लामिछाने
‘बच्चा सम्झेर कति रात झिमिक्क गरिनँ’- खेलाडी आयुशा शाक्य
चौध घण्टा बाँचेको छोरो- नेत्री हिसिला यमी
‘फिल्म खेल्न गर्भपतन गराएँ’- कलाकार करिश्मा मानन्धर
‘सबैले भन्थे तिम्रो बच्चा हुँदैन, बच्चा जन्मेपछि ७ दिन छुन पाइन’-कलाकार लुनिभा तुलाधार