अभिनेत्री कंगाना रनावत भारतीय सिनेमाकी निकै प्रतिभाशाली अभिनेत्री मानिन्छिन् । सहज र स्वाभाविक अभिनयले पात्रको यथार्थ चित्रण पर्दामा ल्याउन सक्ने अहिलेका थोरै भारतीय अभिनेत्रीमध्ये उनी एक हुन् ।
पर्दाकी तिनै अभिनेत्री अहिले पर्दाबाहिर पनि अभिनय गरेर निकै चर्चित भइरहेकी छिन् । सिनेमाले उनलाई जति भारतीय जनसमुदायमाझ चिनायो, अहिले सिनेमा बाहिरको अभिनयले उनी झन् धेरै जनतामाझ परिचित भएकी छिन् ।
पर्दामा अभिनय गर्दा कंगना जति स्वाभाविक देखिन्थिन्, पर्दाबाहिरको अभिनयमा भने उनी स्वाभाविक लाग्दिनन् । अहिले भारतीय मिडिया कंगना भर्सेस महाराष्ट्र सरकारको निकै चर्चा छ । तर वास्तविकता कंगना भर्सेस महाराष्ट्र सरकारमा मात्र सीमित छैन ।
अहिले कंगनाले महाराष्ट्रका मुख्यमन्त्री तथा महाराष्ट्रमा कुनै बेला निकै शक्तिशाली नेता बाला साहब ठाकेरेका छोरा उद्धव ठाकरेलाई कंगनाले सिधै 'तँ' भनेर सम्बोधन गरेको भिडियो सन्देश निकै भाइरल छ । ठाकरे परिवार महाराष्ट्रमा सबैभन्दा शक्तिशाली परिवार मानिन्छ । त्यस्तो शक्तिशाली परिवारका मुखियालाई 'तँ' भनेर सम्बोधन गर्न कंगनाले त्यति शक्ति कहाँबाट पाइन् ? कुराको चुरो त्यहीँ छ ।
- उनलाई सुरुमा साथ दिने बलिउडका आउटसाइडर भनिएका अनुराग कश्यपहरु जस्ताले पनि केहीपछि उनको साथ छाडे ।
कुरा सुरु हुन्छ, अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या वा तथाकथित हत्याको घटनाबाट । हुन त अब हत्या भन्नेले पनि आत्महत्या भन्न थालिसके अब, तर आत्महत्या गर्ने अवस्था बनाइएको भनेर विभिन्न व्यक्तिलाई आरोप लागेको छ ।
सुशान्त सिंह राजपुतको आत्महत्यापछि कंगना अचानक बोलिन्– यो आत्महत्या होइन हत्या हो, सुशान्तलाई बलिउडले आत्महत्या गर्न बाध्य बनायो । त्यसैले बलिउडमा परिवारवाद (नेपोटिजम्) फैलाएर बाहिरिया (आउटसाइडर)हरुलाई अवसर नदिने र आत्महत्या गर्न बाध्य बनाउनेलाई कारबाही हुनुपर्छ । कंगनाले नै करण जोहर, महेश भट्ट जस्ता बलिउडमा प्रभावशालीहरुलाई निशाना बनाइन् ।
सुरुदेखि नै बलिउडमा विद्रोहीको छवि बनाएकी कंगना केही समयअघि हृतिक रोशनले आफूलाई प्रयोग गरेको टिप्पणी गरेपछि विवादमा आउन थालेकी हुन् । त्यसैबेला देखि नै बलिउड घराना र उनीबीच मनमुटाव सुरु भएको हो ।
उनलाई सुरुमा साथ दिने बलिउडका आउटसाइडर भनिएका अनुराग कश्यपहरु जस्ताले पनि केहीपछि उनको साथ छाडे । कारण शक्ति केन्द्र बन्ने चाहनामा कंगाना भारतीय सत्तासँग नजिक हुन खोज्नु, जुन सत्तामाथि नै भारतीय जनसमुदायलाई विभाजित गरेको, साम्प्रदायिकताको पक्षपोषण गरको आरोप लाग्ने गरेको छ । स्वाभाविक रुपमा साम्प्रदायिकताको विरोध गर्ने समताको वकालत गर्ने बलिउड भित्रकाहरुले उनको साथ दिइरहन सकेनन् ।
- अर्नव त लगातार भाजपाको मोहोरा बन्दै आएका छन् अहिले बलिउडकी कलाकार कंगनालाई पनि पुरा प्रयोग गरियो ।
सत्तासँग नजिकिने चाहनामा अहिले कंगना नराम्ररी सत्ताबाट प्रयोग हुनपुगेकी छिन् । अवसर दियो सुशान्तको आत्महत्या प्रकरणले । सुरुमा सुशान्तको आत्महत्याको दोष बलिउडमा रहेको परिवारवादलाई दिएकी कंगनाले त्यसमा महाराष्ट्रको सत्ताको हात भएको दाबी गर्दै त्यो आत्महत्या नभएर हत्या हो भन्न थालिन् । जसको आधार थियो, बलिउडमा भएको एउटा पार्टी, जसमा सहभागी भएको केही दिनमा नै सुशान्तकी पूर्वम्यानेजर दिशा सालियानले हामफालेर आत्महत्या गरेको घटना । अनि त्यसै पार्टीमा उद्धव ठाकेरेका छोरा आदित्य ठाकेरे पनि सहभागि रहेको दाबी ।
कंगना अनि अर्नव गोस्वामी जस्ता पत्रकारले सुशान्तको हत्या भएको दाबी गर्न थाले । जसको दोस ठाकरे परिवारमा लागाइयो । अर्नवले त आफ्नो च्यानलमा ठाकेरे परिवारलाई सिधा हत्यारा घोषणा गरे । दिशाको हत्या भएको र त्यो हत्या भएको भन्ने प्रमाण भेटेपछि सुशान्तको पनि हत्या भएको अर्नवको दाबी उनको टिभी च्यानलले कसरी प्रसारण गर्यो होला, सजिलै अनुमान गर्न सक्छौं ।
वास्तविकता खोतल्दै जाने हो भने सुशान्तलाई न्याय दिने उद्देश्य न कंगनाको थियो न अर्नवको । लामो समय महाराष्ट्रमा सत्ता साझेदार रहेको शिव सेनाले आफ्नो साथ नदिएर भारतीय कांग्रेस र नेसनलिस्ट कंग्रेससँग मिलेर सरकार बनाएपछि सत्तााट बाहिरिएर तिलमिलाएको भाजपाले ठाकेरे परिवारमाथिको आरोप सत्ता ढलाउने अवसरका रुपमा हेर्याे । अर्नव त लगातार भाजपाको मोहोरा बन्दै आएका छन्, अहिले बलिउडकी कलाकार कंगनालाई पनि पूरा प्रयोग गरियो ।
फाइदा महाराष्ट्रमा सम्भावित सत्तारोहणको मात्र होइन, विहारको चुनावमा आफ्नो पकड पनि बनाउन सकिन्छ भन्ने भाजपालाई लागेको हो । किनकि सुशान्त बिहारका हुन् । सुशान्तका लागि जागेको दयाभावको फाइदा त विहारको सत्तारुढ जनतादल युनाइटेडले पनि लिन खोजेको देखिन्छ ।
- बेला बेलामा भारतीय जनतालाई सम्बोधन गरेर कहिले थाल बजाउन लगाउने त कहिले दिपावली गर्न लगाउने मोदी अहिले चुप छन् ।
तर यी सबै पछाडि अर्को ठूलो कारण पनि देखिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गिर्दो जनसमर्थन फिर्ता ल्याउने प्रयास ।
रुमा मोदीले कोरोना नै प्रयोग गरे । नेपालका प्रधानमन्त्रीले बेसार पानीको कुरा गरेजस्तै उनका समर्थकले गौ मुत्रको कुरा गरे, गौ मुत्रले कोरोना निको हुन्छ भन्दै । मोदीले त्यसको विरोध गरेनन् बरु मौन समर्थन गरे ।
त्यसपछि सुरुवाती समयमा भारतमा कोरोना संक्रमण केही कम हुँदा कोरानाविरुद्धको युद्ध मोदीको नेतृत्वमा जितिएको भन्दै थाल ठटाएर खुसियाली मनाइयो, दीपावली गरियो । अलि संक्रमण बढ्न थालेपछि मुस्लिमहरुलाई कोरोना फैलाएको दोष लगाइयो । उद्देश्य प्रस्ट थियो । नागरिकता कानुनविरुद्ध उठेका जनतालाई हिन्दु मुस्लिमको नाममा विभाजित गर्नु ।
तर पनि कोरोना लगातार बढ्न छाडेन । अहिले भारत विश्वकै दोस्रो धेरै संक्रमित भएको मुलुक बनेको छ भने भारतमा मृत्यु हुनेको संख्यामा भारत विश्वमै तेस्रो छ ।
यसैबीच भारतको सकल घरेलु उत्पादन (जीडीपी) २३ दशमलव ९ प्रतिशत ऋणात्मक भयो । बरोजगारी २३ दशमलव ५ प्रतिशत पुग्यो । सरकारले गरेको व्यवस्था लगातार असफल देखिएको छ । बेला बेलामा भारतीय जनतालाई सम्बोधन गरेर कहिले थाल बजाउन लगाउने त कहिले दीपावली गर्न लगाउने मोदी अहिले चुप छन् ।
- जनता पनि प्रचण्डले जित्छ कि केपीले भन्ने मा नै भुलिएका छन् ।
भित्रभित्रै जनआक्रोश बढ्ने अवस्था देखिएको छ । भारतीय सत्ता भने अहिले आफ्नो कमजोरी लुकाउन अनेक उपायले जनतालाई भुलाउन लागेको छ ।
त्यो सुशान्तको केसमा कंगाना उचाल्न होस् वा राममन्दीरको शिलान्यास गरेर जनता भुलाउन । चीनसँगको भूमि विवादको कुरा पनि मिडियामा छाएको छ । टिभीका कार्यक्रमहरुमा अर्थ व्यवस्था खराब हुँदै गएकाबारे छलफल हुँदैनन् । न त बेरोगारीको समाचारले ठाउँ पाएको छ । स्वास्थ्य व्यवस्थाको हविगतले त झन् ठाउँ पाउने कुरै भएन ।
ऋनि अहिले जनता भुलाउने उपाय बनेको छ सुशान्तको आत्महत्याका कुरा, उनकी प्रेमिका रिया चक्रवर्तीको गिरफ्तारीका कुरा । भारतीय अभिनेताहरुले लागुपदार्थ सेवन गरेको कुरा अनि चिनियाँ सेनालाई भारतले आफ्नै क्षेत्रबाट लखेटेका कुरा ।
भारतमा मात्र होइन कोरोना संक्रमण धेरै देखिएका अमेरिका, ब्राजिल, रुस जस्ता देशमा पनि जनता भुलाउने यस्तै उपाय अपनाइँदै छ ।
नेपाल पनि जनता भुलाउने उपायमा केही कम देखिएन । कोरोनाका केस बढ्दै जाने देखिएपछि ठोरीमा रामको जन्म भएको दाबी आयो । नेपालीको रोग प्रतिरोधी क्षमता धेरै भएको कुरा र बेसार पानीका कुरा त छँदै थिए, अनि चुच्चे नक्साले पनि केही समय जनतालाई भुलायो नै ।
हुँदा हुँदा अब त सरकारको आलोचना गर्नु नै अपराध भनिन थाल्यो । संक्रमण बढ्दै छ । सत्तारुढ पार्टीभित्र आफ्नै झगडा मिलाउन स्थायी समितिको बैठक बस्दै छ । जनता पनि प्रचण्डले जित्छ कि केपीले भन्ने मा नै भुलिएका छन् ।
नेपालको स्वास्थ नीति कस्तो हुनुपर्छ । शिक्षा नीति कस्तो हुनुपर्छ । अब आर्थिक स्थिति सुधारमा के गर्नुपर्छ । आमजनतालाई राहत कसरी दिने । जनतामा बढ्दो मानसिक तनावको अवस्थालाई कसरी कम गर्ने । त्यो सोच्ने काम सरकारको होइन क्यार !
भोकालाई खान दिन पनि काठमाडौंको टुँडिखेल लगायत देशको अनेक ठाउँमा जनता आफै लागेका छन् । सरकारले अब गर्दैछ त होला, प्रत्येक दिन अब हामी यसो गर्दैछौ भनेका त हामी सुनिनै रहेका छौँ, विगत नौ महिनादेखि । अर्थात् हामी भुलिएका छौं सरकारको बेसुरे गीतमा ।