काठमाडौं– विश्वभरि नै महामारीका समाचारहरु सूचनाभन्दा पनि आतंकको रुपमा फैलँदा आत्तिनु स्वाभाविक हो । बर्बाद हुने भयो, कोरोनाले खत्तमै पाऱ्यो ? यी यावत् कुराहरुले प्रभाव पारेकै छ । यसमा रोगभन्दा बढी त डरले प्रभाव पारिरहेको देखिन्छ ।
यसै सन्दर्भमा नेपाली पब्लिककी सिर्जना दुवालले कोभिड १९ को उपचारमा खटिएका स्वास्थ्यकर्मीसँग कुराकानी ‘फ्रन्टलाइनरको अनुभव’ मा समेटेको छ । यहाँ आइसियु वार्ड, पाटन अस्पतालका डा.दालीम काफ्लेको अनुभव र अनुभूति प्रस्तुत छ ।
अरु स्वास्थ्यकर्मीको अनुभव पनि पढ्न यी लिंकमा जानुहोस्-
पहिलोपटक पिपिइ लाउनुअघि तीन–चारपटक ट्वाइलेट गएँ
पिपिई फुकाल्दा आउने आनन्दको वयानै गर्न सक्दिन
घरमा आमा, बुबालाई त पक्कै डर लाग्छ, तर म उहाँहरुलाई कोरोनाको चलिरहेको अफवाहलाई हटाउँदै शान्त पार्छु । कलंकीमा डेरामा बसे नि खासै मलाई समुदायबाट अप्ठ्यारो भएको छैन ।
मैले पाटन अस्पतालमा कोभिडको सुरुवाती केसदेखि नै हेरिरहेको छु । कोभिड आइसियू, कोभिड वार्ड, आइसोलेसन तीन वटालाई हाम्रो टिमले हेर्नुपर्छ । सुरुमा म पनि भयभीत थिएँ । त्यतिबेला पाटन अस्पतालमा केही निमोनियाका विरामीहरु थिए, कतै उनीहरु प्नि कोरोनाका विरामी त हैनन भन्ने शंका लाग्थ्यो ।
जब नेपालमा पनि कोरोना पोजिटिभ देखा परेपछि आइसोलेसनमा विरामीहरु आउन थाल्दा सारै डर लाग्थ्यो । उनीहरुलाई हेर्नुपर्ने, नजिक पुग्दा पनि आफैलाई सर्छ कि भन्ने लाग्थ्यो । तर बिस्तारै विरामी बढ्दै गए, डर घट्दै गयो । अहिले आइसियू, कोभिड वार्डमा कोरोना पोजिटिभहरु धेरै छन् तर पहिले जस्तो डर छैन ।
होस पुऱ्यायो भने विरामी छुँदा, खोक्दा सर्छ भन्ने सोच हराइसकेको छ । कहिलेकाहीँ भेन्टिलेटरमा राख्दा सास बाहिर आउँदा सऱ्यो कि भन्ने शंका लाग्छ र तुरुन्तै पिसिआर टेष्ट गराइ हाल्छु ।
हाम्रो एउटा टिमले कोभिडको ड्युटी हप्ताको तीन पटक गर्नुपर्छ । हाम्रो दुई जना जुनियर भाइहरुमा पोजिटिभ देखियो । हस्पिटलले आफ्नो स्टाफको लागि २० वटा बेडको प्राइभेट रुम छुटाएको छ । त्यही राखेर उपचार गरियो । अहिलेसम्म अस्पतालमा कार्यरत ३५ जना जतिलाई पोजिटिभ निको भइसेकेको छ ।
यसले पनि कोरोना लाग्दैमा मरिहाल्दैन भन्ने भएको छ, काममा उर्जा थपिएको छ । मसँग दिदी र भाइ पनि बस्ने हुदाँ मैले गर्दा उनीहरुलाई नसरोस् भनेर सुरुका समयमा कोठामा गएपनि सेल्फ आइसोलेसनमा बस्थें ।
कोभिड नेपालमा धेरै नभएको समयमा एकजना विरामी आइसोलेसनमा थिए । दमको विरामी, ट्राभल हिस्ट्री पनि थियो, निमोनिया पनि देखियो । उहाँको उपचारमा खटेँ । पहिलोपटक कोभिड वार्डमा सोही विरामीलाई राखेका थियौं । पछि कोरोनाको नेगेटिभ रिपोर्ट आयो ।
अर्को विरामी आइस्युमा थियो, उपचारकै क्रममा निधन भयो । उहाँकी श्रीमतीलाई पनि पोजिटिभ देखिएको थियो । पछि उहाँ निको भएर घर फर्कनुभयो । कोठामै कसैले नछोइकन दियो, बत्ती बालेर विदा गरेको क्षण सारै पीडामय छ ।
त्यस्तै अर्को एकजना युवा भेन्टिलेटरमा थिए । आमाको निधनपछि छोराको पनि निधन भयो । यी यस्ता घटनाहरु धेरै छन् तर यस अघि कोभिड नहुँदा पनि यस्ता निधनहरु भइरहन्थे । तर यो रोगले तत्काल असर गर्ने र सर्ने कारण भय धेरै भएको देखियो ।
भन्ने नै हो भने कोभिडवाट मृत्यु हुनेहरु सयमा एक, दुईजना मात्रै हो । कोरोनाको बहाना बनाएर नेपालको अर्थतन्त्र नै डामाडोल गर्न हुँदैन जस्तो लाग्छ । समस्यासँग बचेर जीवनलाई अघि बढाउन जान्नुपर्छ । अब त मलाई भन्नै मन लाग्यो, कोरोनाको बहाना बनाएर मानिसको जीवनलाई पछाडि धकेल्नु हुन्न ।
अरु स्वास्थ्यकर्मीको अनुभव पनि पढ्न यी लिंकमा जानुहोस्-
पहिलोपटक पिपिइ लाउनुअघि तीन–चारपटक ट्वाइलेट गएँ
पिपिई फुकाल्दा आउने आनन्दको वयानै गर्न सक्दिन