काठमाडौं– विश्वभरि नै महामारीका समाचारहरु सूचनाभन्दा पनि आतंकको रुपमा फैलँदा आत्तिनु स्वाभाविक हो । बर्बाद हुने भयो, कोरोनाले खत्तमै पाऱ्यो ? यी यावत् कुराहरुले प्रभाव पारेकै छ । यसमा रोगभन्दा बढी त डरले प्रभाव पारिरहेको देखिन्छ ।
यसै सन्दर्भमा नेपाली पब्लिककी सिर्जना दुवालले कोभिड १९ को उपचारमा खटिएका स्वास्थ्यकर्मीसँग कुराकानी ‘फ्रन्टलाइनरको अनुभव’ मा समेटेको छ । यहाँ धुलिखेल अस्पतालका ल्याब टेक्नोलोजिस्ट निशा पोटेको अनुभव र अनुभूति प्रस्तुत छ ।
अरु स्वास्थ्यकर्मीको अनुभव पनि पढ्न यी लिंकमा जानुहोस्-
भेन्टिलेटरका बिरामीको सास बाहिर आउँदा शंका लाग्छ
पिपिई फुकाल्दा आउने आनन्दको वयानै गर्न सक्दिन
सन् २०११ मा माइक्रोबायोलोजी विभागमा रिसर्चको लागि धुलिखेल अस्पताल आएको हुँ । पछि अस्पतालको ल्याबमा काम गर्ने थालेकी हुँ । एक वर्षअघि प्याथोलोजी विभागमा छु ।
२०१३ मा इन्फ्लुएन्जाको केस आउँदा धुलिखेल अस्पतालबाट प्रशिक्षणमा मलाई मात्रै पठाइएको थियो । त्यहाँ हाइजिन लगायत पिपिई कसरी लगाउने आदि सेफ्टीको बारेमा सिकेको थिएँ । कोरोनाको स्वाब कलेक्सन कसले राम्ररी गर्न सक्छ भन्ने कुरा आउँदा आफैले ‘म सक्छु’ भनें ।
‘कन्फिडेन्टली’ म कोभिड ल्याबको लागि काम गर्न तयार थिएँ । सुरुमा धुलिखेल अस्पतालमा एउटा केस आयो । कतारबाट आएका एक पुरुषको स्वाब लिन मसँग अरु दुई जना पनि थिए । पहिलोपल्ट पिपिई लगाउँदा डरले डेरा जमाइ सकेको थियो ।
डरले गर्दा पिपिइ लगाउनुअघि ३,४ पटक त ट्वाइलेट नै गएँ । त्यो बेलासम्म हस्पिटलमा कोभिड ल्याब सुरु गरेको थिएन, टेकुमै पठाइन्थ्यो । स्याम्पल कलेक्सनमा त्यतिबेला ममात्रै थिएँ । ड्युटी गर्दागर्दै क्वारेन्टाइनमा बसें । भोलिपल्ट विरामीको कोरोना नेगेटिभ आएपछि मात्र घर गएँ ।
मैले यसअघि छोरीलाई कहिले छोडेको थिइन, रातभरि सुत्न सकिन । कोरोना अघिदेखि नै श्रीमान दोलखा हस्पिटलमा कार्यरत भएकोले छोरी मैसँग थियो । ७ वर्षकी छोरीको मनमा त कति डर होला तर घरमा मेरो मामु, पापा दुवै अरुको सेवा गर्नु हुन्छ भनेर गफ गर्दिरहिछिन् ।
मलाई त्यतिबेला आफूलाई कोरोना लाग्छ भन्दा पनि मैले बोकेर घरमा ल्याउँछु भन्ने डर थियो । दुईहप्ता हस्पिटलकै क्वाटरमा पनि बसेँ । छोरीलाई छोडेर बस्नु पर्दाको पीडा सबैभन्दा भयानक थियो मेरो लागि ।
सुरुसुरुको समयमा राती ९ बजे त कहिले विहान ३ बजे नै विरामीको स्वाब कलेक्सनको लागि हस्पिटलवाट लिन आउँथ्यो । अहिले कम बिरामी हुँदा यसरी सम्भव भएपनि पछि बढ्दै जाादा एक्लैले सम्भव नहुने बताएपछि हरेक मंगलबार स्याम्पल कलेक्सन कसरी गर्ने ? वातावरणमा कसरी नफैलाउने, नष्ट कसरी गर्ने आदि नर्सदेखि अरु विभागका स्वास्थकर्मीहरुलाई पनि सिकाउन थालेँ । यो अवधिमा दुईसय जना तयार भइसकेका छन् । पछिल्लो समय अस्पतालका स्टाफहरुमा पनि कोरोना पोजिटिभ देखिन थालेपछि भिडियो बनाएर भर्चुअल क्लासहरु लिन थालेँ ।
पछि आम मानिसहरुलाई जस्तै मलाई पनि डर कम हुन थाल्यो । पहिलो केसमा मात्रै डराएको थिएँ, अब त सामान्य लाग्छ । मेरो काम नै बुथभित्र बसेर स्वाब लिने हो । लेजरको सिसाभित्रको बुथमा पिपिई ड्रेस, फुट कभर, पञ्जा, हेड कभर, भाइजर, गगल्स लगाउने हुँदा ल्याब जस्तो सुरक्षित स्थान अरु कतै लाग्दैन । बरु बाहिरबाट पो सर्छ भन्ने डर छ ।
अहिले म माइती बनेपामै छोरीसँगै बस्छु । ममी, बुबा दुवैमा हाइपर टेन्सन भएकोले उहाँहरु नयाँ घरमा बस्नु हुन्छ । म, बहिनी, भाइ र छोरी पुरानो घरमा बस्दै छौं । धेरै पोजिटिभ बिरामीहरु आएको दिन भने हस्पिटलकै क्वाटरमा बस्छु ।
घर आउँदा छोरी मैसँग सुत्न आउँछ । हामी टाउको र खुट्टा हुने गरि सुत्छौं । उनी मेरो खुटालाई अंगालो मारेर सुत्छिन् । त्यति बेला मन खिन्न हुन्छ । अहिलेसम्म मैले चारपटक पिसिआर चेक गरिसकेको छु । मन न हो कहिलेकाहीँ कोरोना लाग्यो कि भन्ने डर भइहाल्छ ।
मेरो रीपोर्ट आउने दिन छोरी पूजा कोठा गएर मेरो मामुको रिपोर्ट नेगटिभ आवोस् भनेर प्रार्थना गर्दीरहिछिन् । रिपोर्ट आएपछि थ्याङ्क यु कार्ड पनि बनाएर चढाउने रहिछिन् । पक्कै पनि छोरीसँग इमोशनल एट्याचमेन्ट छ तर छोरी आफै बुझ्ने भएकोले उल्टै मलाई मेरो जिम्मेवारी सम्झाउने गर्छिन् । कहिले काहीँ त यो मेरी छोरी होइन, आमा हो जस्तो लाग्छ । उसले मलाई मोटिभेसन गराईरहेछ ।
हिन्दी उखान छ नि, ‘सबसे बडा रुग, क्या कहें गि लोग’ । मलाई घर, परिवारवाट काममा पुरै सपोर्ट गरिरहनु भएको छ तर छिमेकीहरुलाई चाहीँ डर छ । आफन्तहरुले पनि आमा, बुबालाई गएर तिम्री छोरी त कोरोनाकै ल्याबमा काम गर्ने रहिछ, कतै उसलाई कोरोना लागेको त छैन भनेर कुरा गर्दारहेछन् । त्यतिबेला आमा, बुबा निकै चिन्ति हुनुहुन्छ, म सम्झाउँछु ।
टोल छिमेकीहरु बहिनीलाई ‘तिम्रो दिदीलाई काम छोड भन, उसले गर्दा हाम्रो टोल छिमेकमा कोरोना सार्ने भयो’ भन्छन् रे । त्यतिबेला चाहीँ दु:ख लाग्छ । मेरी सानी छोरीले बुझेको कुरा समाजले किन नबुझेको होला भनेर ।
हामी अनुशासित नभएर नै कोरोना फैलिएको हो । आफू सुरक्षित भएर बस्यौं भने कोरोनाले केही गर्दैन । लकडाउनभरी घरमै बस्ने, खुल्यो भन्नासाथ न मास्क, न सेनिटाइजर, न सामाजिक दुरी, रमाइलो गर्ने अघि बढि हाल्ने सोच छ । कोरोना हुँदैमा छि:छि: गर्नु पर्दैन । मलाई त कोरोना रोगीसँग नजिक भएर काम गर्न पाउँदा आत्मानुशासन बढेको महसुस भएको छ ।
अरु स्वास्थ्यकर्मीको अनुभव पनि पढ्न यी लिंकमा जानुहोस्-
भेन्टिलेटरका बिरामीको सास बाहिर आउँदा शंका लाग्छ
पिपिई फुकाल्दा आउने आनन्दको वयानै गर्न सक्दिन