आज भाद्र २९, नेपालमा राष्ट्रिय बालदिवस मनाइरहँदा बालबालिकाको मुख्य भूमिका रहेको नेपाली फिल्मबारे कोरियाबाट सुखद समाचार आएको छ ।
काठमाडौं– एसियाको प्रतिष्ठित दक्षिण कोरियाली बुसान इन्टरनेशनल फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा पहिलोपटक नेपाली फिल्म छनौट भएको छ ।
सुजित बिडारीको लेखन, निर्देशनको फिल्म ‘ऐना झ्यालको पुतली’ बुसान फेस्टिभलको २५ औं संस्करणको मुख्य प्रतिस्पर्धामा छनोट भएको हो ।
बुसानको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको ‘न्यु करेन्ट सेक्सन’मा छानिदैं ‘ऐना झ्यालको पुतली’ले नेपाली सिनेमाको एतिहास रचेको हो ।
यसअघि बुसानमा केही नेपाली फिचर तथा सर्ट फिलम सहभागी भइसकेको भएपनि मुख्य प्रतिस्पर्धामा भने ‘ऐना झ्यालको पुतली’ नै पहिलो हो ।
सोमबार भर्चुअल कार्यक्रम गर्दै सन् २०२० को छनोट भएका फिल्महरुको सूची सार्वजनिक गर्दै बुसानले सो सेक्सनमा छनोट भएका विश्वभरीका १० फिल्ममध्ये एक नेपाली फिल्म परेको हो ।
‘न्यु करेन्ट सेक्सन’मा कुनै पनि निर्देशकको पहिलो र दोस्रो फिल्म मात्र छनोट हहुने प्रावधान छ । सो सेक्सनको सर्वोत्कृष्ट दुई वटा फिल्मले ३० हजार अमेरिकी डलर अर्थात् करिब ३५ लाख नेपाली रुपैयाँ पुरस्कार पाउनेछन् ।
यसअघि नबिन सुब्बाको फिल्म
यसअघि नविन सुब्बा निर्देशित ‘गुडबाई काठमाडौं’ ‘किम जेसिओके अवार्ड सेक्सन’ अन्तर्गत छनोट भई सहभागी भएको थियो । यो ‘न्यु करेन्ट सेक्सन’पछिको सर्वाधिक पुरस्कार राशि रहेको अर्को सेक्सन हो । यसमा पनि दुई फिल्मलाई पुरस्कृत गर्ने गरिन्छ । जसको पुरस्कार राशी १० हजार अमेरिकी डलर रहेको छ ।
बुसान इन्टरनेशनल फिल्म फेस्टिभललाई कान्स, बर्लिन, टोरन्टो, सन्डान्सपछिको प्रतिष्ठित फिल्म फेस्टिभल मानिन्छ ।
फेस्टिभल आउँदो अक्टोबर २१ देखि ३० सम्म दक्षिण कोरियाको बुसान सहरमा हुनेछ । कोभिड १९ को महामारीका कारण यसपटक फेस्टिभल भर्चुअल रुपमा आयोजना हुँदैछ ।
सुजितको डेब्यु फिचर
‘ऐना झ्यालको पुतली’ बाट सुजित बिडारीले फिचर फिलममा डेब्यु गरेका हुन् । यसअघि उनले १४ मिनेट लामो सर्ट फिल्म ‘सावित्री’ निर्देशन गरेका थिए । जसले राष्ट्रियस्तरमा चर्चा पाएको थियो । ‘सावित्री’ अहिले युट्युवमा पनि हेर्न सकिन्छ ।
फिल्मको कथावस्तु
‘ऐना झ्यालको पुतली’मा नेपालको पहाडी जिल्लाको गाउँमा पढ्ने निम्न वर्गीय परिवारका दिदीभाइको कथा छ । १३ वर्षीया दिदी (विद्या)को माध्यमिक तह पढ्ने सपना र सो सपना पूरा गर्न यनले गर्ने संघर्षलाई फिल्मले बुनेको छ ।
संघर्षको क्रममा उनी सपनाको नजिक पुगेर पनि बारम्बार हण्डर र ठक्कर खाइरहन्छिन् । यसक्रममा उनको भाइ र आमासँगको अन्तरंग सम्बन्ध, भाइको दिदीप्रतिको हेराई र बुझाई मुख्य सन्दर्भ हुन् ।
बाल पात्रहरुको मनोदशा, उनीको बालापन, अवोधपनसँगै परिवारप्रतिको जिम्मेवारी र वयस्कता फिल्मको मूल मर्म हो । यसरी फिल्मले एक ग्रामिण परिवेश चित्रित गर्दै सामाजिक, राजनीतिक तथा शैक्षिक परिपाटीलाई उधिन्ने प्रयत्न गरेको छ ।
सांकेतिक रुपमा पात्रको नाम राख्दै दिदी ‘विद्या’ र भाइ ‘बसन्त’मार्फत निर्देशकले शिक्षाप्रतिको चाहना र पारिवारिक र सामाजिक परिस्थितिजन्य समस्या उजागर गरेको छ ।
ऐना अर्थात् सिसाको झ्यालमा अड्किएको पुतलीले बाहिर सबै देखेपछि बाहिर निस्कन नसक्ने दुःखदायी परिस्थितिजस्तै विद्याको त्यस्तै परिस्थितिलाई संकेत गर्दै फिल्मको नाम पनि विम्वात्मक रुपमा ‘ऐना झ्यालको पुतली’ राखिएको निर्देशकले जनाए ।
निर्देशक यसो भन्छन्
बुसानमा इतिहास बनाएपछि नेपाली पब्लिकसँग कुरा गर्दै निर्देशक सुजित बिडारीले खुशी व्यक्त गरेका छन् । उनले नेपाली मौलिक फिल्म आफ्नै बलबुतामा पनि बनाउन सकिने उदाहरण बनेको बताएका छन् ।
उनले भने, ‘कुनै विदेशी फण्डविना पनि केही लगानीमा नेपाली मौलिक फिल्म बनाउन सकिन्छ भन्ने ऐना झ्याल बुसनमा छानिएपछि लागेको छ’, उनले भने, ‘हाम्रै बलबुतामा इमानदार पूर्वक बन्ने फिल्मले नेपाली परिवेशको इमानदार कथावाचन गर्न सक्छ जस्तो लाग्छ ।’
फिल्मको कथावस्तुबारे बताउँदै सुजितले विद्याको पढ्ने सपनालाई ऐना जस्तो झ्यालमा अड्किएको पुतलीसँग तुलना गरेर कथानक तयार गरेको उल्लेख गरे ।
‘मुख्य पात्रलाई बाहिर निस्कनु छ तर उसको प्रयासमा अड्चन आइरहन्छ । यसले हाम्रो देशका महिलाको प्रतिविम्व पनि देख्न सक्छौं’ सुजितले सुनाए, ‘दिदीले आफ्नो सपना बिट मार्न लागेको देखेपछि उनलाई मद्दत गर्न भाइले गर्ने प्रयत्न फिल्मको महत्वपूर्ण हिस्सा हो ।’
स्थानीय बालबालिका प्रमुख भूमिकामा
फिल्ममा कञ्चन चिमरिया, दिनेश खत्री, बिशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ, क्षितिज याख्या राई, प्रशन्न पौडेल, संजिव, सुगम ढकाल, निश्ठा श्रेष्ठ आदि कलाकारले बाल चरित्रमा अभिनय गरेका छन् । संखुवासभाको चैनपुर र आसपासमा छायाँकन गरिएको फिल्ममा स्थानीय बालबालिकाहरुले नै अभिनय गरेका हुन् ।
वयस्कको भूमिकामा रहेका सिरु बिष्ट, राज थापा, अशोक शिवाकोटी, पदमप्रािद पोडेल, मदन गुप्ता मात्रै व्यावसायिक कलाकार हुन् । स्थानीय बालबालिका तथा वयस्क कलाकारको कास्टिङ तथा बालबालिकालाई अभिनय प्रशिक्षण दिने काम रङ्गकर्मी केदार श्रेष्ठले गरेका थिए । उनलाई कलाकार आकाश मगरले सघाएका थिए ।
सबा करोडको निर्माण
आइसफल प्रडक्सन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मको निर्माताहरु आकाश पौडेल, प्रबिन स्याङ्बो, सुजित बिडारी, रामकृष्ण पोखरेल र सुशान्त श्रेष्ठ हुन् । फिल्म निर्माणमा सबा करोड खर्च भएको निर्माताहरुले बताउका छन् ।
अमर महर्जनको सिनेमाटोग्राफी छायांकन, किरण श्रेष्ठको सम्पादन, पुष्प संगमको संगीत, कला संग्रौलाको प्रोडक्सन डिजाइन, किशोर आचार्यको साउन्ड डिजाइन र राजेन्द्र मोक्तानको कलर ग्रेडिङमा फिल्म निर्माण भएको हो ।
सुनिल पाण्डे एसोसिएट निर्देशक, हिमाल रायमाझी, प्रदीप भण्डारी सहकायक निर्देशक, शिशिर बिसंखे र अंकित पौडेल सहायक सेनेमाटोग्राफरको रुपमा टिममा थिए ।
अर्को फिल्म पनि बुसानमा
‘ऐना झ्यालको पुतली’को निर्मातामध्येका रामकृष्ण पोखरेलले निर्माण गर्न लागेको अर्को फिल्म ‘रिभर इन दि मिरर‘पनि बुसानकै एसियन प्रोजेक्ट मार्केटमा छानिएको छ ।
एसियन प्रोजेक्ट मार्केट एसियाली फिल्ममेकरका लागि सह निर्माता खोज्ने प्लेटफर्म मानिने गरेको छ । निर्माता पोखरेलले यो फिल्म भुटानी निर्माता, निर्देशक टासी ग्याल्क्षेनसँगको सहकार्यमा निर्माण गर्न लागेका हुन् ।