जुन बेला अमेरिका कोभिड–१९ को हटस्पट बनिसकेको थिएन, त्यतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ‘कोरोना भाइरस रुघाखोकी ल्याउने भाइरस जस्तै सामान्य हो, भयभीत हुनु जरुरी छैन । यसको उपचार अमेरिकी स्वास्थ्य प्रणालीका लागि खास ठूलो कुरो होइन ।’
ट्रम्पको बुझाइ र प्रचारप्रति पश्चिमा अन्य राष्ट्रहरुले मौन समर्थन गरे । उनीहरुले गत २०१९ को डिसेम्बरको अन्त्यतिर चीनको वुहान सहरमा पहिलोपटक देखापरेको नोबेल कोरोना भाइरस र त्यसले ल्याएको कोभिड–१९ लाई लिएर विश्व स्वास्थ्य संगठनले महामारी खतराको चेतावनीलाई बेवास्ता गरे ।
बेलायत, स्पेन, फ्रान्स, इटाली, पोर्चुगललगायतका पश्चिमा धनी पुँजीवादी देशहरु आफ्ना समृद्ध र उन्नत आधुनिक स्वास्थ्य सेवा प्रणालीमा ढुक्क थिए । उनीहरु त्यतिखेर वुहानका मानिसहरु धमाधम मरिरहँदा चीनको स्वास्थ्य सेवा प्रणाली देखाई खिसी गरिरहेका थिए । उनीहरु कोभिड–१९ ले युरोपेली नश्ललाई छुन नसक्ने अहंकार र भ्रममा लिप्त थिए ।
परिणाम के भयो ? जब युरोपमा नोवेल कोरोना भाइरस प्रवेश गर्यो र चर्को रुप लिन थाल्यो, त्यहाँका कुनै पनि स्वास्थ्य सेवा प्रणालीले थेग्न सकेन । कोभिडका बिरामीहरु धमाधम मर्न थाले । एकै मुलुकमा दिनमै सय, दुई सय हुँदै आठ, नौ सयको सङ्ख्यामा मर्न थाले । यस्तो भयावह सुरुमा इटालीमा देखियो । यसले इटालीको स्वास्थ्य सेवा प्रणालीलाई नै धराशायी बनायो ।
छोटो समयमा नै इटालीमा लाखौं मानिसहरु कोरोना भाइरसबाट संक्रमित भए, दशौं हजार मानिस मरे । त्यसपछि क्रमशः स्पेन, बेलायत र फ्रान्सको स्वास्थ्य प्रणाली धराशायी बन्न पुग्यो । यो क्रमले व्यापकता पाउँदा छोटो समयमा नै युरोपका सबै मुलुकहरु एकपछि अर्को गरी कोभिडबाट आक्रान्त बने । कोभिडको त्यो तीव्र दौडपछि युरोपबाट अमेरिका छिर्याे । त्यसपछि त्यो मेक्सिको, ब्राजिल हुँदै एसियातिर छिर्ने क्रममा भारतमा पुग्यो र भारतबाट नेपालमा आयो ।
- कोभिडबाट थोरै मान्छे मात्र मरे भन्ने कुरा सत्य होइन । भन्नेहरुले विश्वमा वर्षभरमा करोडौं मान्छेहरु मरिरहन्छन्, रुघाखोकीले नै लाखौं मान्छे मर्छन् भन्ने तर्कहरु असत्य होइनन् । तर...
अहिले विश्वका एकाध मुलुकबाहेक सबैलाई कोभिड १९ ले सताइरहेको छ । सोमबारसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको सङ्ख्या २ करोड ८६ लाख ३७ हजार ९ सय ५२ पुगिसकेको छ । त्यस्तैगरी कोभिडबाट विश्वभर मृत्यु हुनेहरुको सङ्ख्या ९ लाख १७ हजार ४ सय १७ पुगिसकेको आँकडा छ । यो बढ्ने क्रम छँदै छ ।
अहिले कोभिडबाट सबैभन्दा बढी आक्रान्त बन्ने मुलुक अमेरिका बनेको छ, जुन देशका राष्ट्रपतिले कोभिड केही होइन भनी आफ्ना जनतालाई भ्रममा पारे । अहिलेसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको सङ्ख्या ६३ लाख ८६ हजार ८ सय ३२ र मृत्यु हुनेहरुको सङ्ख्या १ लाख ९१ हजार ८ सय ९ पुगेको छ ।
संक्रमणको हिसाबले दोश्रो स्थानमा छिमेकी मुलुक भारत छ । त्यहाँ ४७ लाख ५४ हजार ३ सय ५६ जना कोरोना भाइरसबाट संक्रमित बनिसकेका छन् भने मर्नेहरुको ७८ हजार ५ सय ८६ पुगेको छ । तेश्रो स्थानमा रहेको दक्षिण अमेरिकी देश ब्राजिलमा संक्रमितहरुको सङ्ख्या ४२ लाख ८२ हजार १ सय ६४ पुगेको छ, मर्नेहरुको सङ्ख्या १ लाख ३० हजार ३ सय ९६ पुगेको छ । नेपालमा भने संक्रमितहरुको सङ्ख्या यो लेख तयार पार्दासम्म ५५ हजार ३ सय २९ र मर्नेहरुको सङ्ख्या ३ सय ६० छ ।
यसअघि इतिहासमा महामारीको रुपमा फैलिएका हैजा, प्लेग, बिफर आदिजस्ता घातक रोगहरु रोक्न वैज्ञानिक डाक्टरहरुले औषधी तथा प्रतिरोधात्मक खोप निर्माण गरे र घातक रोगको सूचीबाट हटिसके । विफर त अहिले विश्वबाट निर्मूल नै भइसक्यो । पोलियोजस्तो खतरनाक रोग अहिले नियन्त्रण हुँदै छ । औषधि र खोपको विकास भइनसकेको कारण कोभिड अहिले सर्वाधिक डरलाग्दो रोग बनेको छ ।
अहिले नेपाली मिडियामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले भनेजस्तै कोभिड एक हौवा वा सामान्य भाइरस हो भन्ने चर्चा चलेको छ । चर्चा चलाउनेहरुले कोरोना भाइरस संक्रमित भए भनिएका मानिसमध्ये थोरै मात्र मरेको र मर्नेहरु कोभिड १९ ले नभएर अन्य घातक रोग, हृदयघात, निमोनिया, मिर्गाैलाले काम गर्न छोड्नु, मस्तिष्कघात आदिजस्ता रोगबाट निधन भएको तर्क गरेका छन् ।
संक्रमितमध्ये थोरै मात्र मृत्यु हुने रोग कसरी महामारी हुन सक्छ भन्ने प्रश्न पनि गरेका छन् । तर, यथार्थलाई केलाउँदा उनीहरुले भनेजस्तो चित्र र वास्तविकता छैन ।
पहिलो कुरो कोभिडबाट थोरै मान्छे मात्र मरे भन्ने कुरा सत्य होइन । भन्नेहरुले विश्वमा वर्षभरमा करोडौं मान्छेहरु मरिरहन्छन्, रुघाखोकीले नै लाखौं मान्छे मर्छन् भन्ने तर्कहरु असत्य होइनन् । तर, यो कुराबाट कोभिड १९ले मर्नेहरु थोरै भन्न मिल्ने पुष्टि हँदैन । किनकि वर्षभरमा मर्ने भन्नु र एकै रोगको कारण एकै ठाउँ र एकै समयमा सयौं वा हजारौं मानिसहरु मर्नु एउटै कुरो हुन सक्दैन ।
- रुघाखोकी जस्तो सरुवा रोगले पनि त थुप्रै मान्छे मार्छ र कोभिडको मृत्युदर खासै छैन भने कसरी महामारी हुन्छ भन्ने प्रश्नमा ज्ञानको कमी देखिन्छ ।
कोरोनाका कारण इटाली, स्पेन, बेलायत, अमेरिका, ब्राजिल र अहिले भारतमा एकै दिनमा हजारौं मरे । मरेकाहरुको दाह संस्कारको व्यवस्थापन गर्न कठिन भयो । दर्जनौं मृत शवहरुको सामूहिक दाहसंस्कार गर्नुपर्ने अवस्था भयो । अन्य रोगबाट मरेकाहरुलाई त्यसरी एकै समय र ठाउँमा सामूहिक दाहसंस्कार गर्नुपर्ने अवस्था बनेको छैन ।
दोश्रो कुरो, कोभिडबाट भनिए पनि खासमा अन्य रोग नै मृत्युको कारण हो भन्ने तर्क र बुझाइले कोभिडसम्बन्धी ज्ञानलाई प्रतिनिधित्व गर्दैन । किनकि विज्ञहरुका अनुसार कोभिडले मुख्य रुपमा फोक्सोमा संक्रमण गरी श्वासप्रश्वास प्रणालीलाई धराशायी बनाउने भएकाले यसले शरीरमा अक्सिजनको मात्रा घटाइदिने गर्दछ, फलस्वरुप अक्सिजन कमीकै कारणले शरीरका विभिन्न अङ्गहरु काम नलाग्ने गरी बिग्रिन पुग्छन् ।
यस्तो अवस्थामा शरीरका बहुअङ्ग एकसाथ बिग्रिन गई (Multi Organ Failure) रोगी मृत्युको मुखमा पर्न जान्छ । अझ कोही अगाडि नै श्वासप्रश्वाससम्बन्धी रोग, मुटुसम्बन्धी रोग, मिर्गाैलाको रोग, उच्च रक्तचाप, मधुमेह आदिजस्ता दीर्घ रोगबाट पीडित छन् भने ती मान्छेलाई कोभिडले चाँडै नै गम्भीर बिरामी बनाउने सम्भावना प्रबल रहन्छ । त्यस्ता व्यक्तिहरु तत् रोगबाट मृत्यु भएको देखिए पनि यदि कोभिड नलाग्दो हो उनीहरु अहिले नै मृत्युको मुखमा परिहाल्ने स्थिति बन्दैनथ्यो ।
तेश्रो कुरो, रुघाखोकी जस्तो सरुवा रोगले पनि त थुप्रै मान्छे मार्छ र कोभिडको मृत्युदर खासै छैन भने कसरी महामारी हुन्छ भन्ने प्रश्नमा ज्ञानको कमी देखिन्छ । किनकी महामारीको सम्बन्धमा मृत्युदर एउटा पक्ष मात्र हो । मृत्युदर अत्यन्त उच्च भएर पनि कुनै रोगले वैश्विक महामारीको रुप नलिन सक्छ । सन् २०१४ मा पश्चिम अफ्रिकामा फैलिएको इवोला भाइरसको महामारीको मृत्युदर ५० प्रतिशत थियो । तैपनि त्यो वैश्विक महामारी हुन सकेन । किनकि त्यो पश्चिम अफ्रिकाबाट विश्वका अन्य क्षेत्रहरुमा फैलिन पाएन । त्यस्तो हुनुमा त्यस रोगको संक्रमण गति र रुप जिम्मेवार थियो ।
- हेलचेक्रयाइँ गर्दा अमेरिका, भारत र ब्राजिल अहिले कुन हालतमा रहे भन्ने दृश्य हाम्रो अगाडि छर्लङ्गै छ । यी सबै कुराबाट कोरोना भाइरस सामान्य भाइरस होइन भन्ने पुष्टि मिल्दछ ।
इवोला भाइरसको संक्रमण दर कोरोना भाइरसको भन्दा ज्यादै न्यून थियो । त्यसो हुनुमा कारण के रह्यो भने इवोलाबाट संक्रमित मान्छेमा रोगको लक्षण तुरुन्तै देखिने भएकोले रोगीको पहिचान तुरुन्त नै हुन्थ्यो र उनीबाट अरु संक्रमित हुनुपूर्व नै उनलाई आइसोलेसनमा राखी उपचार गर्न सम्भव हुन्थ्यो । तर, कोभिडको सन्दर्भमा भने संक्रमित मान्छेमा तत्काल लक्षण देखा नपर्नाले उनी बिरामी हुनुपूर्व नै उनीबाट थुप्रै मानिसहरु संक्रमित हुन सक्ने भयो ।
दक्षिण कोरियामा संक्रमित एकै व्यक्तिबाट हजारभन्दा बढी मानिसहरु संक्रमण पुग्नुले यो कुरालाई पुष्टि गर्छ । विश्व स्वास्थ्य सङ्गठनले यसको मृत्युदर गत २०२० को मार्च ३ मा ३.४ प्रतिशत हुने अनुमान गरेको थियो । आजको बिन्दुमा यसको वैश्विक मृत्युदर ३.२ रहेको छ । मृत्युदर कम भएर पनि मृत्यु हुनेहरुको सङ्ख्याको हिसाबले कोभिड वैश्विक रुपमा इवोलाभन्दा धेरै खतरनाक रोग बन्यो । संक्रमित व्यक्तिको मृत्यु हुने निश्चित नभए पनि सम्भावना भने रहेकै हुन्छ । त्यसैले विश्वभरका मानिसहरु यसको संक्रमणबाट जोगिनुको अहिले अर्को विकल्प छैन ।
संक्रमण फैलावटलाई रोक्न प्रयोग गरिएका विविध तरिकाहरुको सवालमा कति ठिक कति बेठिक भनी बहस गर्न सकिन्छ । तर, एउटा कुरा सत्य के हो भने यसको फैलावटलाई रोक्न विश्वव्यापी चलाइएका सञ्चारप्रणाली र विधिहरुका कारणले संक्रमणको फैलावट उल्लेखनीय रुपमा न्यूनीकरण भएको छ । हेलचेक्रयाइँ गर्दा अमेरिका, भारत र ब्राजिल अहिले कुन हालतमा रहे भन्ने दृश्य हाम्रो अगाडि छर्लङ्गै छ । यी सबै कुराबाट कोरोना भाइरस सामान्य भाइरस होइन भन्ने पुष्टि मिल्दछ ।
जीव एवं चिकित्सा विज्ञानको शाश्वत नियम
समग्रमा भन्दा प्रकृतिका शाश्वत नियमहरु छन्, जुन मानवको इच्छाले परिवर्तन हुन्नन् । तर, मानवले ती नियमहरुको ज्ञान प्राप्त गरी वस्तु तथा प्राकृतिक घटनाहरुलाई मानवको अहितबाट पृथक् गर्ने वा हितमा प्रयोग गर्न सकिन्छ । जीव विज्ञानमा पनि यही कुरा लागु हुन्छ, चिकित्सा विज्ञानमा पनि लागु हुन्छ । जीव विज्ञान नै चिकित्सा विज्ञानको आधार हो । त्यसैले रोग एवं चिकित्सा पद्धतिको कुरा गर्दा हामी जीव विज्ञानलाई अगाडि सार्दछौं ।
कोरोना भाइरस कोभिडको कारण हो, त्यसको यथार्थ ज्ञानले नै हामीलाई कोभिड निदानको उपायतर्फ अग्रसर गराउँछ । हाम्रा अनुभवहरु, अनुमानहरु यथार्थ ज्ञानको मार्गमा जान सुराग (Clue) हुन्, त्यसकै आधारमा मात्र बनाइएको निष्कर्ष सत्य नहुन सक्छ । किनकि प्राकृतिक नियम नै अन्तिम सत्य हो, जुन हाम्रो चेतनाभन्दा पृथक् छ ।
यो प्रकृति कार्यकारण वा कारणकार्यबाट गतिशील रहेको छ । कार्यका आधार कारण हो भने कारणले नै कार्यलाई सम्भव तुल्याउँदछ । कारण–कार्य वा कार्य–कारणको अन्योन्याश्रित सम्बन्धमा नै प्रकृतिको नियम चलायमान छ । कोरोना भाइरस र कोभिड पनि प्राकृतिक वस्तु र घटना भएकाले तीभित्र प्रकृतिका शाश्वत नियमहरु लागु हुन्छ । जीव विज्ञान र चिकित्सा विज्ञानले ती नियमहरुबारे ज्ञान हासिल गरेर नै कोभिड निदानको उपाय निकाल्न सक्छन् । यस कार्यमा अहिले वैज्ञानिक डाक्टरहरु लागिपरेका छन् । क्रमशः
विज्ञान/दर्शन नेपाली पब्लिकको हरेक मंगलबार प्रकाशित हुने स्तम्भ हो ।
विज्ञान/दर्शन अन्तर्गतका अरु लेखहरु पनि पढ्नुहोस्-
भाइरसले जीवकोषभित्र प्रशस्त प्रतिलिपि भाइरसहरु बनाउँछ