स्मार्ट एप्स र ग्याजेटको संसारमा ‘स्मार्ट पर्सन’ बन्ने इच्छा अधिकांशको हुन्छ । विश्वबजारीकरणको यो समयमा स्मार्ट बन्ने मानवीय रहर फेसन बजारसँग जोडिएर आउँछ । फेसन बजारले विकसित राष्ट्रहरुको अर्थतन्त्रमा उल्लेख्य स्थान लिएकै छ । नेपाल जस्तो तेस्रो मुलुकमा झन् फेसनको माहौल तीव्रत्तर छ ।
देशभित्र मात्र होइन, नेपाली फेसन डिजाइनरहरूले अहिले अन्तर्राष्ट्रिय र्याम्पमा समेत स्थान बनाइरहेका छन् । कतिपय सवालमा सिर्जनात्मक क्षमताले चर्चा बटुल्न भूगोल हेर्दैन भन्ने उदाहरण समेत बनेका छन्, यी फेसन डिजाइनरहरू ।
प्रवल गुरुङ, संयुक्ता श्रेष्ठ, समा बानु तथा शुभेच्छा भँडेललगायत विदेशमै रहेर यो यात्रा गरिरहेका छन् । नेपालमै रहेर पनि विदेशमा समेत चर्चा बटुलिरहेका नेपाली डिजाइनरहरू पनि उत्तिकै छन् ।
नेपालका प्रवल गुरुङले विश्व फेसन बजारमा एउटा आयाम नै थपेको छ । सेलिब्रेटीहरूले रुचाएका संसारकै उत्कृष्ट फेसन डिजाइनरमा पर्छन् उनी । सिंगापुरमा जन्मिएर काठमाडौंमा हुर्किएका प्रवलले डिजाइन गरेका पहिरन फेसन शोहरूमा उत्कृष्टमा गनिन्छन् अनि लाखौंमा बिक्री हुन्छन् । उनका पहिरन रुचाउनेमा हलिउड, बलिउडका मोडल तथा कलाकार मात्र नभएर पूर्वअमेरिकी प्रथम महिला मिसेल ओबामा पनि पर्छिन् ।
बेलायतकी युवराज्ञी केट मिडल्टनको पहिरन पनि डिजाइन गरेका प्रवललाई विभिन्न अन्तर्राष्ट्रिय मिडियाले ‘डार्लिङ अफ रेड कार्पेट’ को उपनाम दिएका छन् । एको डोमानी फेसन पुरस्कार, सीएफडीए स्वाराब्स्की सम्मान, ड्रइङ सेन्टर रचनात्मक पुरस्कार जस्ता थुप्रै सम्मान तथा पुरस्कारद्वारा विभूषित उनले हरेक वर्ष समयानुकूल डिजाइन ल्याइरहेका हुन्छन् ।
अहिले अन्तर्राष्ट्रिय जगतमा नेपालको ब्रान्डिङ गर्नेमा सबैभन्दा अगाडि पर्ने फेसन डिजाइनर हुन्, प्रवल गुरुङ । काठमाडौंमा हुर्केर नयाँ दिल्ली हुँदै न्युयोर्क पुगेका उनी अहिले विश्व फेसन बजारमा जरा गाढेर बसेका छन् ।
उनको डिजाइनमा झल्कने नेपाली पन र नेपाली विभिन्न जातजाति, भाषाभाषी र फरक फरक स्थानीय क्षेत्रको पोशाकको फ्युजन मुख्य आकर्षण हो । मुस्ताङको स्थानीयले लगाउने वस्त्र, नेवारको हाकुपटासी, तराईको थारू पहिरन, चेलीहरूका पाउजुदेखि बौद्ध गुम्बा, माने र स्तूपहरूमा सजाइने ध्वजाले न्युयोर्क फेसन विकको रन–वे तताएको थियो । न्युयोर्क फेसन विकमा पछिल्ला दुई शोमा प्रवलको बौद्ध परम्पराबाट प्रभावित रन–वेसँगै उस्तै डिजाइनका पहिरनको समीक्षकहरूले खुबै तारिफ गरेका थिए ।
त्यस्तै लन्डनमा संयुक्ता श्रेष्ठ ब्राइडल फेसन डिजाइनिङको क्षेत्रमा चर्चित छिन् । नेपाली फेसनमा नाम र दाम दुवै कमाएकी डिजाइनर हुन् उनी । १६ वर्षदेखि यस क्षेत्रमा सक्रिय उनी सेलिब्रेटीका लागि फेसन डिजाइन गर्न माहिर छिन् ।
पत्रपत्रिकामा उनैले डिजाइन गरेका पहिरन लगाएर गरिएको फोटोसुट थुप्रै छापियो । मिस नेपालहरू पनि उनले डिजाइन गरेका पहिरनमा आकर्षित हने गर्छन् ।
सधैं नयाँ गर्ने र पहिचन बनाउने सोचले उनलाई लन्डन पुर्यायो । जहाँ उनले ब्राइडल वेयरलाई आफ्नो थिम बनाइन् । पूर्वी र पश्चिमा अवधारणा मिसाउनु उनको विशेषता हो । त्यो उनका लागि प्लस प्वाइन्ट भयो ।
उनले बेलायतको फेसन डिजाइनिङको क्षेत्रमा प्रतिष्ठित मानिने वेडिङ बुटिक अफ दि इयर–२०२० को अवार्ड पाइन् । लन्डनमा बेहुली बुटिक सञ्चालन गरिरहेकी डिजाइनर श्रेष्ठले बेलायतका ११ ब्राइडल फेसन डिजाइनरलाई पछि पार्दै अवार्ड हात पारेकी हुन् ।
अवार्डका लागि विजेता चयन आह्वान गरिएको अनलाइन भोटिङमा उनलाई सबैभन्दा धेरै रूचाए । यसलाई संयुक्ताले जीवनकै सबैभन्दा खुसीको पल बताएकी छिन् । मेहनत र धैर्यताको परीक्षामा आफू उत्तीर्ण भएको अनुभव उनले सुनाइन् ।
लन्डन कलेज अफ फेसनबाट फेसन डिजाइनिङमा ग्राजुएट संयुक्ताले डिजाइन गरेका पहिरनहरू विश्व चर्चित सेलिब्रेटीहरूले लगाइसकेका छन् । चर्चित गायिका लरा राइट, फिथ हार्मोनीदेखि भिक्टोरिया सेक्रेटकी सुपर मोडल क्यान्डिस स्वानिपोएलसम्म संयुक्ताका डिजाइनमा सजिएका छन् ।
थुपै्र देशमा फेसन शोसमेत गरिसकेकी उनको डिजाइन लन्डनको फेसन म्युजियममा समेत राखिएको छ । जहाँ एलेक्जेन्डर म्याकक्विन, भीभीएन वेस्ट वुडलगायतका विश्वप्रख्यात डिजाइनरका डिजाइन छन् ।
उनको डिजाइनले बेलायतको वेल्स, उत्तरी आयरल्यान्ड तथा गणतन्त्र आयरल्यान्डका लक्जरियस बुटिकहरूमा बजार जमाएको छ । सस्टेनेबल लक्जरी डिजाइनरका रूपमा समेत परिचित उनका फेब्रिकहरूमा केमिकल प्रयोग हुँदैन, त्यसैले ती वातावरणमैत्री पनि हुन्छन् ।
चर्चामा रहेका थुप्रै फेसन डिजाइनर
आज विश्व गौतम, शुभेच्छा भँडेल, तेन्जिङ छितेन भुटिया, आस्तिक शेरचन, पुनम क्षेत्री गौतम, युवी थापा, मनिष राई, रमिला नेमकुल, रश्ना श्रेष्ठ मुसी, सुषमा सिंह, विजय गौतम, मञ्जु ढकाल, उत्तम बनेपाली, खुश्बु डंगोल, मुक्ता श्रेष्ठ आदि कैयन डिजाइनरले स्टारडम प्राप्त गरेका छन् । उनीहरूले आफूलाई सेलिब्रेटीहरूको वार्डरब डिजाइनरका रूपमा समेत स्थापित गर्न सफलता पाएका छन् ।
नेपालमै रहेर अन्तर्राष्ट्रिय फेसन क्षेत्रमा पुगिरहेका फेसन डिजाइनरबारे अर्को सामाग्रीका लागि तलको लिंकमा जानुहोस् ।
जो नेपालमै रहेर अन्तर्राष्ट्रिय फेसन बजारमा चर्चा कमाइरहेछन्