विदेशमै रहेर अन्तर्राष्ट्रिय फेसन संसारमा जमेका नेपाली डिजाइनहरु छँदैछ । यसको मूल सामाग्रीमा प्रवल गुरुङ र संयुक्ता श्रेष्ठको चर्चा गरिसकेका छौं ।
त्यसका अलवा नेपालमा रहेर अन्तर्राष्ट्रिय फेसन संसारमा चर्चा कमाइरहेका, प्रभाव छाडिरहेका र यसको प्रवद्र्धनसँगै नेपाललाई अन्तर्राष्ट्रिय फेसनमा ब्राण्डिङ गरिरहेकाहरु पनि केही छन् । तीमध्ये केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छवि बनाएका नेपाली फेसन डिजाइनरहरुको यहाँ चर्चा गरिन्छ ।
राजेश धाख्वा
नेपालका पहिलो डिजाइनरका रूपमा चिनिने चाहत बुटिकका सञ्चालक राजेश धाख्वा पनि विदेशमा धेरै पटक फेसन शो गरेका नेपालका डिजाइनरमध्ये पर्छन् । न्युयोर्कमा भएको भेषभुषा सप्ताहमा उनको उत्कृष्ट प्रस्तुतिसँगै उनी चर्चाको शिखरमा पुगेका थिए ।
उक्त भेषभुषा सप्ताहमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने उनी मात्र एक नेपाली थिए । न्युयोर्कको म्यानहन्टनमा सम्पन्न प्रदर्शनमा ‘एसएम ग्लोबल क्याटवाक’ मा अमेरिकी मोडलहरु समेतले धाख्वाका पहिरनमा क्याट वाक गरेका थिए ।
त्यस्तै उनले अमेरिकाको म्यारिल्यान्ड राज्यको बाल्टिमोरमा फेसन शो गरेका थिए । धाख्वाले जापानमा मात्र सात पटक एकल फेसन शो गरिसकेका छन् ।
आस्तिक शेरचन
पेरिसको स्टुडियो बरकोटमा पाँच वर्ष बिताएका आस्तिक शेरचन अहिले नेपालका चर्चित फेसन डिजाइनर हुन् । सन् २०११ मा पेरिसबाट फर्कनासाथ लाजिम्पाटमा ‘आस्तिक डिजाइन्स’ खोले जुन शो–रुमको चारैतिर सिसाले बारिएको थियो । अचेल जताततै यही शैलीका बुटिक देखिन्छन् ।
भूकम्पपछि उक्त बुटिक विस्थापित भयो, तर वेस्टर्न क्लोथिङका लागि कहलिएको आस्तिकको ब्रान्ड भने ‘पुल्चोक थ्री’ को नाममा ब्राइडल वेयर तथा इथनिक वेयरतर्फ मोडिएको छ । पुल्चोक थ्री आस्तिकको महत्वाकांक्षी प्रोजेक्ट हो । यो नेपालको पहिलो लक्जरी फेसन स्टोर हो ।
काम गर्न स्वदेश जति सजिलो अन्यत्र नहुने शेरचनको अनुभव छ । त्यसमाथि फेसनको जगसमेत राम्रोसँग नबसिसकेको नेपालमा गर्न सकिने थुप्रै काम भएकाले उनी यतै रमाउन थालेका हुन् ।
आस्तिकबाट कुनै डिजाइनको नक्कल उतार्ने काम हुँदैन । उनी आफ्नो डिजाइनको नक्कल गरेको पनि रुचाउँदैनन् । ‘एक–अर्काको कला चोरी गर्न पाइँदैन,’ शेरचनले भने, ‘कसैले मेहनत गरेर निकालेको डिजाइन अरूले दुरुस्त उतार्नु अपराध हो ।’
उनको सोरुममा जान पहिले नै अपोइन्टमेन्ट लिनुपर्छ । एक्लैले गरेको काम अनौठो हुने भएकाले उनी यस्ता सोरुम अझै खोलिएको हेर्न चाहन्छन् । शेरचनका धेरै जसो ग्राहक नेपालका साथै विदेशमा भएका नेपालीहरू हुन् भने त्यसमा विदेशीहरू पनि उत्तिकै छन् ।
मिसु श्रेष्ठ
फेसन डिजाइनर मिसु श्रेष्ठले नेपालमा थुप्रै फेसन शो गरे तर उनी त्यति चर्चामा आउन चाहँदैनन् । उनले तयार पारेका पहिरन नेपालका चर्चित मोडल, नायिका तथा मिस नेपालहरूले लगाइरहेका हुन्छन् ।
गत वर्ष उनले तयार पारेका दुई दर्जन डिजाइन कान्स–२०१८ फेसन शोमा अन्तर्राष्ट्रिय मोडलहरूले र्याम्पमा प्रस्तुत गरेका थिए । जसमा मिस वल्र्ड–२०१७, मिस युरोप तथा मिस क्यानाडा पनि थिए । त्यहाँ नेपाली मोडल अञ्जली लामा नेपालका तर्फबाट सहभागी थिइन् ।
यसपटक पनि मिसु श्रेष्ठले डिजाइन गरेका पहिरनमा कान्समा सहभागी केही सेलिब्रेटीले लगाएका थिए । यस पटक कान्सको रेड कार्पेटमा स्लोभियाकी नायिका काटियानाले मिसुको पहिरन लगाएकी थिइन् । त्यसका साथै ७ कन्टिनेन्टकी ब्रान्ड एम्बेसडर मिसुकी मोडल अञ्जली लामालाई बनाइएको थियो ।
रमिला नेमकुल
डेढ दशकअघि काव्य बुटिक खोलेर फेसन डिजाइनिङमा परिचित बनको नाम हो, रमिला नेमकुल । उनी अरुले सितिमिती आँट्न नसकेका प्रोजेक्टहरु सजिलैसँग गर्छन् । एक वर्षकै दौरानमा उनले दुईवटा फेसन शो आयोजना गरे ।
जुन अन्तर्राष्ट्यि स्तरमा पनि नयाँ र नौलो प्रयास थियो । पाटन दरबार स्क्वायरस्थित संग्रहालयभित्र विदेशका दर्जनौं स्थापित मोडल र नेपाली चर्चित सेलिब्रेटीहरु माझ फेसन शो आयोजना गरे । त्यसको लगत्तै उनले कालापत्थरमा एर फेसन शो गरिन् । जसवाट गिनिज बुक वल्र्ड रेकर्डमा समेत नाम राख्न सफल भइन् ।
रमिला एक दशक नेपालमा काम गरेर थप अध्ययनका लागि फिनल्यान्ड पुगेकी थिइन् । फिनल्यान्डमा एक दशक पढाइका साथै व्यवसाय पनि गरेर देशकै फेसन डिजाइनिङमा केही नयाँ काम गर्ने सोचका साथ फर्किएकी हुन् ।
फिनल्यान्डको अध्ययनले उनलाई वेस्टर्न डिजाइन बुझ्न ठूलो सहयोग गर्यो । नेपालमा अहिलेको आवश्यकता भनेको क्याजुअल स्मार्ट लुक्स हो भन्ने सोचले नै उनले चलिआएको बुटिक ट्रेन्डभन्दा फरक शैलीलाई अघि सकिन् ।
रमिलाले फिनल्यान्डमा सिकेको वेस्टर्न वेयरलाई कासा ब्रान्डमार्फत नेपालमा प्रस्तुत गर्दै आएकी छिन् । मुख्यत: नेपालमा यस्तो बुटिक पनि खोलिनुपर्छ भन्ने सोच कसैमा आएन । धेरैले वेस्टर्न स्मार्ट लुक्सका लागि रेडिमेड लगाउनुपर्ने वा आफै डिजाइन दिनुपर्ने बाध्यता थियो । उक्त अभाव रमिलाले कासामार्फत पूरा गरिदिएकी छिन् ।
कासा खोल्नुको मुख्य उद्देश्य नै नेपाली ब्रान्ड पनि अन्तर्राष्ट्रिय स्तरमा पुग्न सक्छ भन्ने कुरा सावित गर्नु रहेको उनी बताउँछिन् । केही समयअघि मात्र कासाले विदेशी मोडलहरूलाई नेपाल बोलाई कासा फेसन शो सम्पन्न गरेकी थिइन् । त्यस्ते रमिलाले पेरिसको मिलान तथा नेपालमा दुईवटा फेसन शो गर्ने योजनासमेत बनाएकी छिन् ।
अहिले उनका पाटनढोका, बौद्ध तथा गैरीधारामा गरी ३ वटा आउटलेट कासाको छ । रमिला भन्छिन्, ‘डिजाइनिङ आइडिया र विजनेश स्किल हुनुपर्छ । आफूले जुन डिजाइन तयार गरिएको छ त्यसमा कन्फिडेन्ट हुनुपर्छ । अरूको कपीभन्दा आफ्नै सिर्जनालाई प्राथमिकता दिन सकियो भने त्यो मानिसहरूको नजरमा पर्छ ।’ रमिला मिलानको फेशन शोको तयारीमा समेत छिन् ।
तेन्जिङ छेतेन भुटिया
नेपाली फेसन उद्योगमा परिचित अर्को नाम हो– तेन्जिङ छेतेन भुटिया । तेन्जिङले सन् २००५ मा बेंगलुरुस्थित नेसनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीबाट ग्राजुएसन गरेका हुन् ।
एक दशकभन्दा बढी समयदेखि नेपाली फेसन डिजाइनिङमा सक्रिय तेन्जिङले नेपालका चर्चित सेलिब्रेटीहरूका लागि फेसन डिजाइन गरिसकेका छन् । सन् २०१२ मा चलचित्र भिसा गर्लमा काम पाएपछि तेन्जिङ क्रिएसनमार्फत फेसन डिजाइनिङमा सक्रिय छन् ।
तेन्जिङ भारतको जुम टिभीबाट प्रसारित रियालिटी शो लेट्स डिजाइन सिजन–२ का फाइनलिस्टसमेत हुन् । अहिले उनका पहिरन नेपालका चर्चित नायिका, मोडल तथा मिस नेपालहरुको पहिलो रोजाइमा पर्छन् ।
त्यसमा पनि मिस नेपालका विजयीहरू आफ्नो अन्तर्राष्ट्रिय सहभागिताका लागि उनका डिजाइन लगाउन मरिहत्ते गर्छन् । तेन्जिङले नेपाल लगायत हङकङ, मलेसिया, अस्ट्रेलिया, अमेरिका आदि देशका फेशन शोहरुमा भाग लिइसकेका छन् ।
मनिष राई
अहिलेको युवा पुस्ताका चर्चित डिजाइनरमध्ये एक हुन्, मनिष राई । छोटो समयमै स्थापित भएका राई विगत तीन वर्षदेखि मिस नेपालका अफिसियल फेसन डिजाइनरका रूपमा आवद्ध छन् ।
गाउन तथा ब्राइडल वेयरमा नयाँपन दिई नेपाली टचलाई पनि पछ्याइरहेका मनिष आजभोलि विदेशका र्याम्पमा समेत व्यस्त छन् । हङकङ, अस्ट्रेलिया, कतार, दुबई, मलेसिया आदिमा फेसन शोको अनुभव बटुलिसकेका राई नेपालमै रहेर फेसन क्षेत्रमा रमाइरहेका छन् ।
उनी भन्छन्, ‘कलाले भूगोल मापन गर्दैन । यदि राम्रो र युनिक डिजाइन छ भने हामी जता भए पनि प्रशंसा बटुल्न सक्छौं ।’
विदेशी र्याम्पमा नेपाली डिजाइनरको पहिरन लगाएर हिडेको देख्दा उनी आफै दङ्ग पर्छन् । उनका धेरैजसो ग्राहक पनि विदेशमा भएका नेपालीहरू नै हुन् ।
पुनम क्षेत्री गौतम
सबैले बुटिक व्यवसायका लागि खोल्छन् तर फेसन डिजाइनर पुनम क्षेत्री गौतम आफूले फेसन डिजाइनिङ पढेको कन्फिडेन्टका लागि भन्न रुचाउँछिन् । डिजाइनिङलाई कमाउने कामभन्दा कसरी प्रयोग गर्ने भन्नेमा बढी केन्द्रित छिन् उनी ।
उनले आफ्नो डिजाइन फिल्मका लागि पनि प्रयोग गर्दै आएकी छिन् । पुनम अमेरिका जाँदा न्युयोर्क फेसन शो हेर्न पुगेकी थिइन्, जहाँ अरू देशका डिजाइनहरू थिए, तर नेपाली थिएनन् । उनले त्यसका लागि तयारी गरिन् अनि २०१६ मा अमेरिकाको न्युयोर्क फेसन विक–३ मा भाग लिन पुगिन् ।
त्यतिबेला नेपालका विभिन्न १४ जातजातिका परम्परागत पहिरन अन्तर्राष्ट्रिय मोडलहरूले प्रदर्शन गरे । फेसन शोमा पुनमले तयार पारेका ब्राह्मण, क्षेत्री, शेर्पा, तामाङ, गुरुङ, थारु, राउटे, राजकीय, मगर, नेवार, मैथिली आदि जातिका मानिसहरूले लगाउने परम्परागत पहिरनलाई मोडिफाई गरी ‘इजी टु वेयर’ कन्सेप्टमा प्रदर्शन गरिएको थियो ।
लन्डन फुल्हामस्थित चेल्सी फुटबल क्लब स्टेडियमको एउटा प्रेक्षालयमा प्रस्तुत ‘एसएम ग्लोबल क्याटवाक फेसन रिभोलुसन लन्डन’ मा पुनमको नेपाली पोसाकले उल्लेखनीय प्रभाव छाड्यो । यसपछि उनलाई पेरिस फेसन शोबाट अफर आयो ।
पुनम भन्छिन्, ‘नयाँ जेनरेसन धेरै कन्सस छ, पुराना डिजाइन नयाँ तरिकाले लगाउन खोज्छन् ।’ उनले केही वर्षअघि नेपालमा नयाँ तथा पुराना ५० जना सेलीब्रेटीलाई र्याम्पमा उतारेकी थिइन् । यो वर्षको अन्त्यतिर उनी नेपालमा अन्तर्राष्ट्रिय कल्चरल ड्रेसको फेसन शो आयोजना गर्ने सोचमा छिन् ।
विदेशी र नेपाली मोडलबीच उनले थुप्रै फरक पाएकी छिन् । दुई पटक न्युयोर्कका साथै लन्डन र पेरिसको फेसन शोको अनुभवमा पुनम भन्छिन्, ‘नेपाली मोडलहरूको उचाई, कम्प्लेक्सन तथा एटिच्युडमा कमी–कमजोरी छ । यहाँ रहरले मात्र आएका छन्, प्रोफेसनल्ली आउने कम छन् । एउटा र्याम्पमा हिँड्दैमा कोही मोडल हुँदैनन् तर नेपाली मोडलहरूमा त्यस्तै प्रवृत्ति छ । विदेशमा मोडलका रूपमा अगाडि आउन हरेक क्रायटेरिया पार गर्नुपर्छ ।’
रस्ना श्रेष्ठ
फेसन डिजाइनर रस्ना श्रेष्ठले विदेशमा पहिलोपटक फेसन शो गरेको क्यानाडामा हो । त्यसपछि उनले विभिन्न देशमा नेपालको प्रतिनिधित्व गर्दै फेसन शोहरूमा सहभागिता जनाउँदै आएकी छिन् ।
त्यसमध्ये काजिकास्थानमा भएको फेसन शोमा उनले हातैले तयार पारेको पहिरन प्रस्तुत गरेकी थिइन् । जुन त्यहीँका मोडलहरूले लगाएर र्याम्प नापेका थिए जसलाई धेरै रुचाइएको पनि थियो । रस्ना मुख्यतया: नेपाली फेब्रिकलाई स्मार्ट क्याजुअल लुक्समा ढालेर प्रस्तुत गर्छिन् ।
उनी भेडाको ऊन, अल्लो, नेपाली कटन, ढाका आदि फेब्रिकलाई आफ्नो पहिरनमा प्राथमिकता दिन्छिन् । नाम र दाम कमाउन विदेश नै जानुपर्छ भन्ने छैन, नेपालमै रहेर कर्मलाई ध्यान दिइयो भने विदेशमा अतिथिका रूपमा जान पाइने श्रेष्ठले बताइन् ।
अन्तर्राष्ट्रिय बजारमा नेपाली फेसन डिजाइनरको मूल सामाग्री पढ्नुहोस्
बेलायतकी युवराज्ञीदेखि हलिउडका सेलिब्रेटी सजाउने नेपाली फेसन डिजाइनर