दाङका भविन्द्र चौधरी चार वर्षअघि आफन्तको साथ लागेर काठमाडौं आउँदा १२ वर्षका थिए । घरको आर्थिक अवस्था कमजोर भएकोले भविन्द्रलाई उनका पिताले दाङबाटै काठमाडौं पसेका एक धनाढ्यकोमा पठाएका थिए । घरबाटै रुदैँ काठमाडौं आएका भविन्द्र छ महिनापछि काम गर्न बसेको घरबाट भागे । घरबाट भागेको झण्डै पाँच महिनापछि उनी काठमाडौंकै सडकमा भेटिए ।
भविन्द्रका बुबाले छोरालाई घर त लगे, तर भविन्द्र घर बस्नै मानेनन् । पुनः सडकमै फर्किए । राम्रो खान लाउन पाउँछ भन्ने आशमा सहर पठाएको छोरो सडक बालकमा परिणत भएपछि त्यही पिरमा भविन्द्रका बुबाले विष सेवन गरेर आत्महत्या गरे ।
भविन्द्रका अरु तीन भाइबहिनीले पनि बुबाबाट बिछोडिनु पर्यो । भविन्द्र एक उदाहरण मात्रै हुन्, घरको आर्थिक अवस्थाका कारण बाबुआमा हुँदाहुँदै परिवारबाट विछोडिने र सडकमा आउने बालबालिका थुप्रै छन् ।
विभिन्न कारणले परिवारसँग बिछोडिएका बालबालिका लागुऔषध बेचबिखन तथा वेश्यावृत्तिमा फस्ने जोखिममा रहेको बाल–अधिकारकर्मी प्रदिप्ता कादम्बरी बताउँछिन् । ‘परिवारबाट बिछोडिएका बालबालिका नै घरेलु श्रमिक, कलकारखानामा बाल मजदुरका रुपमा काम गर्न पुग्छन् । कति बालबालिका सडकमा पुग्ने गरेका छन्’ उनले बताइन् । सरकारले बालबालिकालाई शिक्षा मात्रै भनेर नहुने पारिवारिक बिछोडको पाटोतर्फ पनि ध्यान दिनु पर्ने कादम्बरीको ठम्याइ छ ।
धनले खोसेको साथ
झापाकी अनुदिता राजबंशी दुई वर्ष पुग्नु तीन महिना अगावै काठमाडौंको एक मन्टेश्वरी पुगिन् । सरकारी जागिरको सिलसिलमा उनका पिता सोलुखुम्बु पुगे । एनजीओमा काम गर्ने उनकी आमाले मन्टेश्वरीमा ‘डे बोडर्स’ गरेर राखिदिइन् । अनुदिता हरेक बिहान ७ बजे झोला बोकेर आमाको कारमा मन्टेश्वरी पुग्थिन्, राती अबेर फर्किन्थिन् ।
हुर्कदैं गर्दा उनलाई परिवारको भन्दा मन्टेश्वरीको माया लाग्न थाल्यो । घरमा बुवा आमासँग रमाउनै नसक्ने, पिर्ने, खाना नखाने, नपढ्ने गर्न थालिन् । परिवारका कसैसँग नबोल्ने, आफ्नो कुराहरु शेयर नगर्ने । आफूमा भएको समस्या स्कुल गएपछि आफ्ना साथी तथा शिक्षिकाहरुसँग शेयर गर्न थालिन् । छ महिनादेखि भएको कोरोना महामारीका कारण अनुदिता घरमै छन्, तर उनी परिवारसँग रमाउन नसक्नुको पीडाले उनकी आमालाई पिरोलिरहन्छ ।
राम्रो शिक्षा दिने भन्दै थुप्रै उच्च खानदान तथा जागिरे परिवारका बालबालिकाले आफ्ना परिवारसँग विछोडिनु परेको बाल–अधिकारकर्मी कादम्बरी बताउँछिन् । अनुदिताको अहिलेको अवस्था पनि सानैमा आफ्नो परिवारसँग बिछोडिँदाको परिणाम भएको उनको ठम्याइ छ ।
भन्छिन्, ‘पछिल्लो समय राम्रो शिक्षा र व्यस्त समयले बच्चाको केयर गर्ने समय भएन भनेर होस्टेलमा राखिदिने क्रम बढ्दो छ । परिवारको माया पाउनु पर्ने बाल उमेरमै परिवारबाट विछोडिन पुगेका बालबालिमा एक्लोपन, कम अपनत्वको फिल, कुलतमा फस्न सक्ने सम्भावना बढी हुन्छ ।’
तर, शिक्षाका लागि होस्टलमा राखेका बच्चा पारिवारिक बिछोडमा परेका भन्न नमिल्ने राष्ट्रिय बालअधिकार परिषद्का निर्देशक मिलनराज धरेल बताउँछन् ।
विपत र पारिवारिक बिछोड
विभिन्न खाले विपदले पनि बालबालिकाहरु आफ्ना परिवारसँग छुटिरहेका छन् । यसै वर्ष गत साउनको १४ जना बालबालिकाले पहिरोमा आफ्ना आमाबुवा गुमाए । त्यसपछि विस्थापित भएका बालबालिका खानपान र शिक्षाको अन्योलमा परेका छन् ।
२०७२ सालको भूकम्पका कारण देशभरका ८२ जना बालबालिकाले आफ्ना आमा बुवा दुवै गुमाए । अन्य ४ सय २७ जना बालबालिकाले कसैले आमा कसैले बाबुलाई गुमाएको यूनिसेफको तथ्यांकमा उल्लेख छ । उनीहरु अहिले कहाँ कस्तो अवस्थामा छन् यकिन विवरण छैन । भूकम्पपछि १ हजार ४ सय बालबालिकाको सडकबाट उद्धार गरिएको राष्ट्रिय बालअधिकार परिषदसँग सडकबाट उद्धार गरिएका कति बालबालिका पुनः सडकमै फर्किए त्यसको तथ्यांक छैन ।
पछिल्लो समय कोरोना कहरले पनि बाल बिछोडको संख्यामा वृद्धि हुनसक्ने राष्ट्रिय बालअधिकार परिषदले जनाएको छ । परिषदकाअनुसार कोरोना कहरमा ७९ जना सडक बालबालिकाको उद्धार गरिएको छ । यो अवधिमा काठमाडौं उपत्यकाबाट मात्रै ३८ जना बालबालिकाको सडकबाट उद्धार गरी विभिन्न संस्थाको संरक्षणमा राखिएको परिषदले जनाएको छ ।
बाल बिछोड रोक्न के गर्ने
बालबिछोड रोक्नका लागि सबैभन्दा ठूलो भूमिका स्थानीय सरकारले खेल्नुपर्ने सिविनका अध्यक्ष माधव प्रधान बताउँछन् । स्थानीय तहमा रहेका बालश्रमिक, सडक बालबालिका, बालगृहमा आश्रित बालबालिका तथा स्थानीय तहबाट अन्यत्र गएका बालबालिकाको अवस्थाको बारेमा स्थानिय तहले नै विशेष जानकारी संकलन गर्नुपर्ने र संरक्षण गर्नुपर्ने प्रधान बताउँछन् ।
प्रधानमन्त्रीले सडक बालबालिका मुक्त बनाउने सपना देख्दै गर्दा त्यही अनुरुप काम हुन नसकेको उनको ठम्याई छ । भन्छन्, ‘सरकारले प्रत्येक नागरिकलाई एक भोटका रुपमा गणना गरेको छ । बालबालिकाले भोट हाल्न पाउँदैनन् । उनीहरुको व्यवस्थापनमा काम गरेर सरकारलाई तत्काल फाइदा छैन । त्यसैले पारिवारिक बिछोडमा परेका बालबालिकाका क्षेत्रमा सरकारले सोचेजति काम गरेको छैन ।’
उनी थप भन्छन्, ‘सडक बालबालिका मुक्त बनाउने प्रधानमन्त्रीको सपना राम्रो हो । काम नै गर्ने गरी उहाँले सपना देख्नुभएको हो भने हामी सबैले साथ दिनुपर्छ ।’ स्थानीय रोजगारीका कार्यहरूसँग जोडेर पनि आर्थिक संकटमा धकेलिएका बालबालिकाको बिछोडिने क्रम रोक्न सकिने प्रधानको सुझाव छ ।
उनी भन्छन्, ‘बालबालिकाको विवाह दर्ता हुँदैन । आमाबाबुकै विवाह दर्ता नहुनाले त्यस्ता बालबालिकाबाट जन्मिएका बच्चा अवैध हुन्छन् । फलस्वरुप परिवारबाट परित्याग हुने खतरा बढी हुन्छ । यसरी परिवारबाट बिछोडिएका बालबालिकालाई पुनः परिवारसँग मिलन गराउन उनीहरुको पहिचान नै हुँदैन ।’
पारिवारिक बिछोडमा परेका बालबालिका पूनर्मिलनमा रमाउँदैनन्
सिन्धुपाल्चोकका एक १२ वर्षीय बालक काठमाडौंको एक माइक्रोमा सह–चालकको काम गर्थे । उनलाई बालबालिका खोजतलास समन्वय केन्द्रले उद्धार गरी परिवारको जिम्मा लगायो, तर पारिवारिक पूर्नमिलनमा रमाउन सकेनन् । दोस्रो साता नै पुरानै काममा फर्किए । उनी जस्तै बालश्रम गर्ने, सडक बालबालिका, दुव्र्यसनमा फसेका र बेवारिसे बालबालिका बालगृह तथा परिवारको जिम्मा लगाएपनि पटकपटक पुरानै अवस्थामा फर्कने गरेको तितो अनुभव सरोकारवालाहरुसँग छ ।
खोजतलास समन्वय केन्द्रले सुधार केन्द्र तथा बालगृहमा पठाएका बालबालिका भन्दा घरपरिवारलाई जिम्मा लगाइएका बालबालिका पुनः पुरानै अवस्थामा फर्कने गरेका छन् ।
बालबालिकाको उद्धार गरिरहेका संघसंस्थाले मनोभावना नबुझ्दा पुरानै अवस्थामा फर्कने गरेको सिबिन अध्यक्ष प्रधानले बताए । परिवारमा फर्किएका बालबालिकालाई पनि सामाजिक दृष्किोण, उनीहरुलाई गाउँ, समाज र परिवारले गर्ने सम्बोधन र व्यवहारका कारण पनि उनीहरु प्रिवारमा बस्न नसक्ने प्रधानको भनाई छ ।
उनी भन्छन्, ‘पारिवारिक बिछोडको १५ दिनभित्र बच्चाको उद्धार गरेर परिवारको जिम्मा लगाउन नसक्ने हो भने उनीहरु दुुव्र्यसनमा फसिसक्ने र पुनः पारिवारिक वातावरण रमाउन नसक्ने भैसक्छन्’ ।
यो पनि पढ्नुहोस्
बालबालिकालाई परिवारबाट छुटाउनु अपराध हो