विद्यार्थी आन्दोलनबाट स्थापित नेकपाका नेता लेखनाथ न्यौपाने अध्ययन र बहसमा खरो मानिन्छन् । तत्कालिन माओवादी आन्दोलनमा लागेर भूमिगत जीवनदेखि जेलजीवन हुँदै खुल्ला राजनीतिमा सक्रिय छन् । वैचारिक रुपमा नेतृत्वको पनि आलोचना गर्न पछि नपर्ने नेकपा केन्द्रीय सदस्य न्यौपानेसँग नेपाली पब्लिकका कृष्ण गिरीले नेकपा विवाद र समाधानमा गरेको संक्षिप्त कुराकानी
नेकपाको विवाद त चमत्कारी तरिकाले मिल्यो नि, यसको कारण के हो ?
यो जोगी र भैसीको कथा जस्तो छ, एकले अर्कोलाई जित्न नसकेको अवस्था छ । एउटा अर्कोमा विलय हुन पनि नसकेको मनोविज्ञानको लडाईं हो । व्यक्तिगत लडाईं पनि पार्टीगत हुँदो रहेछ, यहाँ मिल्नुको विकल्प थिएन । पदीय भागबण्डाले पनि काम गरेको छ । अहिले तपाईंको कुर्सीबीचमा राखेर जाऔं महाधिवेशनपछि पार्टी अध्यक्ष र प्रधानमन्त्री तपाईं नै हो भनेपछि प्रचण्ड पनि मिलेका हुन । प्रचण्डले खोजेका पनि यत्ति थिए । उता पाँच वर्षको लागि ओलीको कुर्सी पनि सुरक्षित भयो ।
यो पदीय स्वार्थले धेरै कुरासँगै लैजान्छ जस्तो लागेको छ । यो पद मिल्दा धेरै कुरामा गडबढ पनि भएको छ । यसमा एमसीसी पनि लेनदेन भयो भन्ने लाग्छ । तर बाहिर हेर्दा विचारको लडाईं हो त्यही मिल्यो भन्न बाध्यता पनि छ । तर अन्ततः यो पदको लडाईं थियो, मिल्यो । यहाँ विचार,सिद्धान्त ,संस्कृति, नैतिकता, इमानदारिता केही छैन ।
नेकपामा पदको, विचार र कार्यशैलीमा के को विवाद बढी हो ?
विचारको लडाईं छैन, विचारमा फरक छैन, बहुदलता स्वीकारेको छ । नेपाली समाजको चरित्रमा सहमति भएपछि एकता भएको हो । अब यसमा समस्या छ जस्तो लाग्दैन । यी सबै कुराको प्रतिविम्ब नै विचार हो, कार्यशैलीको फरकपन देखाउँछ । यसमा इतिहासको मूल्याङकनमा फरक छ । इतिहासको विषयमा भने एक धारणा छैन । इतिहासमा लडाईं फरक फरक तरिकाले लडेका हौं । यसको मूल्याङकनको कुनै एकरुपता अपनाएका छैनौं ।
अर्को कुरा हो पदको लडाईं । यसको सबैभन्दा ठूलो उदाहरण हो एकता हुनुभन्दा अघिल्लो दिन भएको ५ बुँदे सहमति हेर्दा हुन्छ । यो सम्झौताको ४ नं बुँदा अहिलेसम्मको विवादको कारण हो ।
विधिमा केपी ओली चल्नुभएन, सम्झौता मान्नुभएन भन्ने नै हो । मंसिरमा भएको सम्झौता कार्यन्वयन भएन । विधिका कुरा गर्ने हो भने यी सबै प्रमुख हुँदा कति चले त्यो पनि समिक्षाको विषय हो । हिजो आपुू कति विधिमा चले कति चलेन सबैलाई थाहा छ । अहिले पनि ओली र अरुमा केही पनि फरक छैन विधि विधानमा चल्नुमा ।
तत्कालिन माओवादी केन्द्र र एमालेबीच कार्यशैलीको भिन्नता कत्तिको छ ?
फरक छ, हामी स्कुलिङ भन्छौ, सोच्ने तरिका, काम गर्ने तरिका, बुझाइमा पनि भिन्नता छ । तत्कालिन एमालेको लामो समय शान्ति प्रक्रियामा काम गरेको भएर हामी भन्दा फरक छन् । उहाँहरुमा पारदर्शिता भनौं अथवा सबै कुरा प्रष्ट देखिने । स्थिर छन् व्यवस्थित छन् । हाम्रोमा अस्थिर, भएको कुरा पनि अस्वभाविक लाग्ने ।
एमालेमा दुई पंक्ति छ, एक राजनीतिक चरित्र भएका छन् । शालिन र वैचारिक बहस गर्नु पर्छ भन्ने खालका छन् । अर्का पक्ष भनेको नामका कम्युनिस्ट भए भयो भन्ने खालको, राजनीतिक भाषामा भन्दा बहुलठ्ठी टाइपका छन् ।
हाम्रोमा अभिव्यक्त हुँदा छिटो बिग्रेका छौं लाग्ने । हामीले उपभोग गरेका सुविधा हेर्दा, हाम्रो जीवनशैली हेर्दा बिग्रेको लाग्ने, एमालेमा घरजग्गा, शेयर बजार खुल्ला रुपमा छ । हाम्रोमा खुलेको छैन, यही फरक छ ।
विवाद अहिलेलाई मात्र मिलेको हो कि लामो समयसम्म जान्छ होला ?
यो दिर्घकालिन होइन, मध्यकालिन पनि हो कि होइन । तत्काललाई भने मिलेको हो । यो चोचोमोचो मिलेको हो । उदाहरणको लागि मेरो विरुद्ध मेरो पार्टीका नेताहरु भारतसँग मिलेका छन्, सबै दलाल हुन भने । यो विषय उठेपछि उनका निकटका कार्यकर्ताले सडकमा प्रर्दशन ग¥यो । सबलाई भारतीय दलाल भनियो । यो विषय समान्य हुन कि ? बोल्न हुने र नहुने विषय के के हुन ? विगतमा एकले अर्कोलाई लगायतका आरोपको बारेमा केही कतै बहस भएको छैन । कसको गल्ती हो अहिलेसम्म केही कतै निश्कर्ष निकालिएन । ललितपुरको तुलसीलाल प्रतिष्ठानमा प्रचण्डले ओलीेको निर्देशनमा निर्वाचन आयोगमा एमाले नामको पार्टी दर्ता भयो भन्नुभयो । तर यसको बारेमा पनि छलफल भएन । सबै कुराहरु पेण्डिङमा राखेर चोचोमोचो मिलेको हो ।
कम्युनिस्टले त पार्टीले सरकार संचालन गर्छ भन्ने छ, तर यहाँ त दुई चार जना नेताहरुले जे गरेपनि हुने हो ? यहाँभित्र धेरै विरोधाभास छ । हामीले आफूलाई कम्युनिस्ट भन्दै आएका छौ । तर विश्वभरीका कम्युनिस्टहरुले हामीलाई कम्युनिस्ट मान्न तयार छैनन् । स्वयं ओलीले पनि कम्युनिस्ट बन्ने रहर, हँसिया हतौडाको प्रेम धेरै नमानेपनि हुन्छ भन्ने संकेत गदै आएका छन् ।
नामका कम्युनिस्ट भनेपनि व्यवहार, समाज पूँजीवादी भएको छ । हाम्रो संस्कृति पनि पूँजीवादी छ । सबै कम्युनिस्ट पार्टीका नेताहरु पूँजीवादी भएका छौं । हाम्रोमा हिरोइज्म छ । कम्युनिस्टले सामूहिकताको कुरा हुन्छ । पूँजीवादले हिरोइज्म भन्छ । प्रचण्डले जनयुद्धमा यस्तो गरे उस्तो गरे भन्ने पूँजीवाद हो । ओलीले यो गरे त्यो गरे भन्ने पूँजीवाद हो । त्यो हामी सबैमा छ । हिरोइज्म भनेको कम्युनिस्ट विरोधी संस्कृति हो । यो म भन्ने कुरा नै पूँजीवाद हो ।
प्रवृति नै पूँजीवाद भएपछि अरु कुरा केही पनि कम्युनिस्टका हुँदैनन् । कम्युनिस्ट भएपछि त पार्टीले नीति बनाउने र सरकारद्धार लागु गर्ने हो । त्यो कार्यान्वयन भएको पार्टीले संयन्त्र बनाएर हेर्ने हो । सरकारमा गएर कमिकमजोरी भए सच्याउने, सच्याउनै नमिल्ने गल्ती गरेका भए फिर्ता बोलाउने हो । तर यहाँ त यो विषयमा प्रवेश नै पाउँदैन ।
पछिल्लो सयमा सरकारका विरुद्ध सडकदेखि सदनसम्म विरोध हुँदै आएको छ । यसको बारेमा पार्टी भित्रबाट कसरी हेरिएको छ ?
सरकारको मूल्याङ्कन गर्ने हो भने वातावरण नै अर्कै बन्छ । स्वास्थ्यका महामारी छ, बर्खाको समयमा बाढी पहिरोले र डुवानले देश बेहाल भएको छ । नेकपामा भने पदको विवाद यति बढ्यो कि पार्टी नै कताकता भन्ने भयो । सरकारले पिसिआर गर्नेबाहेक केही पनि काम प्रशंसा गर्न लायक गरेको छैन । हिजो हामीप्रति सकारात्मक कुरा गर्नेहरु पनि अहिले हाम्रा कामबाट खुशी छैनन् । यो काम ग¥यो सरकारले भनेर भन्न सक्ने अवस्था छैन ।
पहिलो, दोस्रो तहका नेताहरुको मनोमानी गरिरहँदा युवा नेताहरुले पनि केही दवावमुलक काम गर्न सक्नु भएन भन्ने आरोप लाग्ने गरेको छ नि ?
पछिल्लो तेस्रो पुस्ता भन्नु हुन्छ कि युवा भन्नु हुन्छ । उहाँहरु पनि अवसर नपाउँदा न हो । एकाध व्यक्ति अवसर नपाएर पनि बदमासी गर्नु हुँदैन भन्ने छन् । संगठित हिसावले युवा पुस्ताले पनि काम गर्न सकेनन् । पूँजीवाद अथवा विचौलिया चरित्र सबैमा छ । संगठित नभएर केही पनि गर्न सकिदैन । जीवन शैलीका हिसावले पनि फरक छैनौं ।
अर्को पक्षका नेताका पनि कुरा सुनौं : सरकारले काम गरेन भन्नु काँडाको आँखामा काँडै संसार हो