पत्रिका पढ्दै चिया पिउँदै थिएँ । एउटा हेडलाइनले तान्यो, ‘नेपालका करिब ७५ प्रतिशत युवामा मानसिक समस्या’ ।
एक अध्ययनको हवाला दिएर लेखिएको उक्त समाचारमा ‘मानसिक समस्या’का कारण आत्महत्या गर्ने युवाको सङ्ख्या बढेको उल्लेख रहेछ । पढुन्जेल समाचारले तान्यो, पढिसकेपछि धेरै पर धकेल्यो ।
‘मेरो मानसिक समस्या ठीक छ कि छैन ?’ अर्थात ‘म पागल हो कि होइन ?’ भन्ने कुराले पिरोल्यो । आफैंलाई चिमोटें, दुख्यो । पागल भइसकेको रहेनछु जस्तो लाग्यो । साँच्ची, पागललाई पनि त दुख्छ होला नि ! म पागल नहुनुपर्ने कुनै कारण छैन । अर्थात्, ७५ प्रतिशतभित्र नपर्नुपर्ने कारण छैन । सम्झँदै, कल्पँदै एक्लै हाँसें ।
- मनलाई दास बनायो भने मान्छे मानसिक सन्तुलन ठीक भएको ठहर्छ ? यस्तो लाग्छ, ‘मन हाबी भएको मान्छेलाई यो समाजले पागल करार गरिदिन्छ ।’
‘पागलपन परीक्षण’ गर्न आफैंलाई चिमोटेको र एक्लै हाँसेको दृश्य चिया पसलका अरुले देखे कि भनेर यताउता हेरें । कसैले याद गरेको रहेनछ । त्यसपछि त म झन् ‘पागल प्रमाणित’ भए जस्तो भएँ ।
चिया पसलका अरु मान्छे आफ्नै तालमा अनेक कुरा गर्दै थिए । देशको चिन्ता गर्दै थिए । आफूबाहेक सबलाई गलत भन्दै थिए । म भने पागलबारेको समाचारले गम्भीर थिएँ । सोचें, ‘यो पागलपनको मापन कसले गर्ने रहेछ ? कसरी गर्ने रहेछ ? मानसिक सन्तुलन भनेको मन हो कि होइन ? कि मस्तिष्क र दिमाग मात्रै हो ? मन र मानसिक सन्तुलनबीच फरक छ कि छैन होला ?’
भनिन्छ, ‘मनलाई मालिक होइन, दास बनाउनुपर्छ ।’ के मनलाई दास बनायो भने मान्छे मानसिक सन्तुलन ठीक भएको ठहर्छ ? यस्तो लाग्छ, ‘मन हाबी भएको मान्छेलाई यो समाजले पागल करार गरिदिन्छ ।’
- मानसिक अस्पताल पाटनका डाक्टरसाबहरुको मानसिक सन्तुलनको ग्यारेन्टी कसले लिन्छ ? के ती डाक्टरसाबहरु २५ प्रतिशतभित्र पर्छन् ?
मनबिनाको मानसिकता जड हुन्छ । भावनाबिनाको विवेक त स्वार्थ मात्रै हो । विवेकको निर्माण यो समाजले गरिदिन्छ । जे पनि आफूअनुकूल बनाउन प्रेरित गर्छ । मनले सधैं आफूलाई प्रधान ठान्दैन । त्यसैले मनलाई सम्मान गर्नेहरु पागलको सूचीमा दर्ज हुन्छन् । र, पागल करार गर्नेहरु नै पागल हुन् कि होइनन् ? कसले मापन गर्ने ?
यस्तै कुरा खेलिरह्यो धेरैबेर मनमा ।
अब सोच्नुस्, ‘तपाईं पागल हो कि होइन ? अर्थात्, तपाईंको मानसिक सन्तुलन ठीक छ कि छैन ?’ त्यो कथित अध्ययनले मानसिक सन्तुलन नगुमेको भनेका २५ प्रतिशतभित्र म र तपाईं पर्न सक्ने सम्भावना एकदमै कम छ । र, त्यो अध्ययन गर्ने मान्छे र समाचार लेख्ने मान्छेचाहिँ २५ प्रतिशतभित्र पर्याे कि परेन ? कसले मापन गर्याे ? मानसिक समस्या र सन्तुलन गुमेका व्यक्तिबीचको फरक खोजौं न !
यहाँ मानसिक सन्तुतलन सही हुनेहरु चाहिँ को को हुन् ? नेता, वकिल, पत्रकार वा डिग्री पास गरेर गाउँमा बाख्रा पालन गर्ने युवा वा खाडीमा पसिना चुहाएर परिवार र रिमिट्यान्सले देशको अर्थतन्त्र धान्ने युवा वा प्ल्स टु गरेर स्टुडेन्ड भिसामा जापान, अस्ट्रेलिया जाने युवा वा कवि । मानौं न देवकोटा । खासमा कुन समूहको कसको मानसिक अवस्था सही छ ? मानसिक अस्पताल पाटनका डाक्टरसाबहरुको मानसिक सन्तुलनको ग्यारेन्टी कसले लिन्छ ? के ती डाक्टरसाबहरु २५ प्रतिशतभित्र पर्छन् ?
धार्जे भएका पत्रिकाका अक्षर केलाइरहेका, देशको चिन्ता गरिरहेका र भ्याकेन्सीको सिला खोजिरहेका मान्छेबीच धेरै बल्ढ्यांग्रे कुरा गर्न मन थिएन । तर, मनको दादागिरी चल्यो । भनें, ‘हामी ७५ प्रतिशतमा मानसिक समस्या छ रे । यहाँ भएका ७ जनामा कति जनालाई मानसिक समस्या होला ?’
चियाभट्टीको माहोल स्तब्ध बन्यो । एकछिन सोचे जसरी एउटा बोल्यो, ‘हामी सबैमा समस्या छ ।’
‘तपाईंचिं समस्या नभएको मान्छे पनि हुन सक्नुहुन्छ,’ मैले भनें ।
‘त्यसो त भनिएका पागलहरु सद्धे र सद्धेहरु पागल पनि हुन सक्छन् ।’
कुरा तन्क्यो । सबैलाई लिड गर्दै केही ठिस कुरा गरें ।
‘शौचालयभन्दा ओच्छ्यान बढ्ता फोहोरी ठाउँ हो । यो कुरा सुन्दा तपाईंलाई मेरो दिमाग खुस्केको जस्तो लागेन त ? शौचालयमा जेजति फोहोर हुन्छ र गरिन्छ, तत्काल सफा गरिन्छ । धोइन्छ । तर, आच्छ्यानमा, छि:छि ! कति पाप चिताइन्छ ओच्छ्यानमा सुतेर । पाप गरिन्छ, ओच्छ्यानमा ।’
‘घाम एउटा मात्रै छ भन्ने के प्रमाण छ ? हरेक दिन उदाउने घाम फरक–फरक पनि त कुन सक्छ । मान्छेले घामभन्दा माथि गएर फोटो खिचेको रे । मुला मान्छे त, यो धर्ती भएपछि भएको हो । यो पृथ्वीमा यति नै अक्सिजन, नाइट्रोजन, पानी, हावा, माटो र खानेकुरा । ठीक ठाउँमा ठीक अंगको सिर्जना कसले गर्याे ? सूर्यबाट फुटेको टुक्रो पृथ्वी ठ्याक्कै यही ठाउँमा आएर किन अडियो ? र, जहाँ अडियो त्यहीं यो सबै किन सम्भव भयो ? मेरो कुरा सुन्दा तपाईंलाई म पागल जस्तो लागेन त ?
सुन्नेहरुले सुने मात्रै, एउटाले मुख फोर्याे, ‘तर घामचाहिँ एउटै मात्र होला है सर !’
मैले साधें, ‘कसरी थाहा पाउनुभयो ?’
उसले तर्क गरेन । बरु उल्टै ‘हावा गफ’को संज्ञा दिएर बाहिरियो ।
बाँकी सबैले मुखामुख गरेर हाँसे । कि, त्यो उठ्नेको मानसिक सन्तुलन गुमेको हो । कि, बाँकी छ जनामा समस्या छ ।
मैले अर्को घान चियाको अर्डर गरें । मन्त्रमग्ध भएर मेरो गफ सुनिरहेका चिया पसलेदाइ ताप्के बसाल्न गए । त्यसपछि खास बोलिनँ । दाजुले चियामा चिनी हाल्न बिर्सेछन् । सायद मेरो गफले चिया पसले दाइको मानसिक सन्तुलन गुमायो । केही क्षणपछि उठ्न बाँकी दुई जना पनि एकएक कप चिया थप्ने निचोडमा पुगे । मलाई गफ तन्काउँनै पर्ने नैतिक जिम्मेवारी थपियो ।
‘एउटा समाजमा रक्सी सभ्यता, अर्कोमा अपराध । भेट्नेबित्तिकै चुम्बन गर्नुः कतै सभ्यता, कतै अपराध । कतै सुँगुर छोयो भने अपराध, कतै पूजा गर्ने प्रिय जनावर । भनेपछि खासमा सत्य के हो ? यहीं मान्छेको मन र मानसिकता हैन ?’
‘खै के, खै के ? मैले त केही बुझिनँ,’ यो सबै सोच्यो भने त पागल भइन्छ,’ आफू मानसिक सन्तुलन ठीक भएको दाबी गर्दै एउटा तर्किएर पन्छियो ।
‘सब नाटक, सब भ्रम,’ बाँकी अर्कोको बुझाइ ।
चियागफ समापन भयो । चियाको पैसा अर्को बसाइमा तिर्ने सर्तमा म पनि बाहिरिएँ । बाहिर एउटा ‘प्रमाणित पागल’ चुरोटका ठुटा टिप्दै रहेछ । उसको रगतले निकोटिन खोजेछ । कति ठीक ठाउँमा छ, उसको मानसिकता ? किन्नका लागि पैसा नभएर अर्कोले फालेको चुरोटको ठुटाले तलतल मेट्न खोज्दै छ । मानसिक सन्तुलन ठीक नभएको भए ऊ चोर्न जान्थ्यो होला !
हतारहतार कोठामा पुगेर एउटा कथालाई उपसंहार गर्नु छ । कथाको शीर्षक– तेस्रो विश्व ।
कथा यस प्रकारको छ :
नाम पत्तो नभएको १८औं ग्रहको एउटा प्राणी पृथ्वीमा आएको छ, मान्छेबारे रिसर्च गर्न । उक्त प्राणी मान्छे भन्दा ११ गुणा बढी विवेकशील छ, चेतनशील छ । संयोगवश ऊसँग मेरो भेट हुन्छ । कुकुरभन्दा अलि ठूलो । छ वटा खुट्टा । अगाडिका दुई वटा खुट्टामा दुई वटै मुख । चार वटा कान । प्रत्येक खुट्टा र ढाडमा गरी जम्मा सात वटा आँखा ।
भाषा त बुझ्ने कुरै भएन । उसका हरेक क्रियाकलापबाट बुझेको हो मैले । मैले बुझेको सत्य हो भनेर दाबी गरेको छु । संयोगवश त्यो प्राणी स्त्री जातिको हुन्छ । नियतवश हाम्रो यौनसम्पर्क हुन्छ । घनघोर संयोग, त्यस प्राणीबाट बच्चा जन्मन्छ, तीन महिनामा । भेट भएको सात महिनापछि त्यो प्राणी आफ्नै ग्रहमा फर्कन्छ, नयाँ जातको प्राणी पृथ्वीमै छाडेर ।
- मन मारेर विवेकी हुनुलाई अहिलेको समाजले बढी बाैद्धिक मान्छ । जुन रसबिनाको फल जस्तै हो । त्यसैले, हामी मानसिक सन्तुलन मिलाउन होइन, मन र विवेकको सन्तुलन मिलाउन प्रयास गरौं । तब मात्रै हामी सजीव प्राणीको अनुभूति गर्न सक्छौं ।
बच्चा : न मान्छे जस्तो छ, न त्यो प्राणी जस्तो । त्यसको वर्णन, त्यहीं कथामा गरौंला । कथाको ट्रेलर मात्रै हो, त्यसको जन्म । त्यहीँबाट सुरु हुन्छ, तेस्रो विश्वको नयाँ कथा । यो कथा छापिएपछि मलाई कसले पागल नभन्दो रहेछ ! हेरौंला नि ।
पुनश्चः मान्छे वा अरु जनावरका हर अंगले बराबर काम गर्दैनन् । मान्छेकै कुरा गरौं, कसैको हातले बढी काम गर्छ, कसैको गोडाले त कसैको मस्तिष्कले । एउटा अंगले कम काम गर्नेबित्तिकै ऊ कमजोर वा आपांग हुँदैन । जुन अंगको अभ्यास बढायो, त्यसले त्यति नै धेरै काम गर्छ । पेट फुलाएर अरु सामान राख्ने अभ्यास बढायो भने मान्छेको पेटमा गाडी नै गुडाउनु पनि सम्भव हुन्छ ।
मस्तिष्कको अभ्यास बढायो भने ऊ छोटो समयमा धेरै कुरा याद गर्न सक्ने हुन्छ । तर, कुनै पनि विषयको जानकारी हुनु र ज्ञान प्रप्त गर्नु फरक कुरा हो । हाम्रो मस्तिष्कद्वारा सञ्चालित विवेकलाई हाम्रो समाज व्यवस्थाले नेतृत्व गर्छ । भावनाको नेतृत्व मनले गर्छ । मन मारेर विवेकी हुनुलाई अहिलेको समाजले बढी बाैद्धिक मान्छ । जुन रसबिनाको फल जस्तै हो । त्यसैले, हामी मानसिक सन्तुलन मिलाउन होइन, मन र विवेकको सन्तुलन मिलाउन प्रयास गरौं । तब मात्रै हामी सजीव प्राणीको अनुभूति गर्न सक्छौं ।
र अन्त्यमा, यो मानसिक सन्तुलनसम्बन्धी सामग्री भएकाले लेखककै सन्तुलनमाथि प्रश्न गर्ने थुप्रै ठाउँ छन् । धन्यवाद ।