इतिहासमा पटकपटक महामारीले मानिसहरु आक्रान्त हुनुपरेका घटनाहरु अभिलेखित छन् । सय वर्षअगाडि मात्रै पनि भाइरसकै कारण सिर्जित स्पेनी फ्लू नामक संक्रामक रोगले महामारीको रुप लियो र त्यसले ५ करोडभन्दा ज्यादा मानिसहरुको ज्यान लियो । त्यसपछिका दिनहरुमा पनि बेलाबेलामा महामारीका घटनाहरु भए ।
सन् २००५, २००६ र २००७ मा सार्स, २०१२ मा मर्स, २०१४ मा इवोला भाइरसको प्रकोप आयो । रोग प्रकोपकै कुरा गर्दा सन् १९८१ बाट सुरु भएको एचआइभी एड्सबाट सन् २०१९ को अन्तिमसम्ममा विश्वभर ७ करोड ६० लाख मानिसहरु संक्रमित भइसकेको र ३ करोड ३० लाख मानिसहरुको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । अहिले पनि विश्वभर करोडौं मानिसहरु एड्सबाट संक्रमित छन् ।
- धेरैजसो महामारी रोगहरु सूक्ष्म भाइरसबाट नै संक्रमण भई विश्वभर फैलिएको देखिन्छ । हालको कोभिड–१९ ले पनि त्यही रुप लिएको हो । यस्तो किन भयो ?
गत शताब्दीमा निर्मूल भएको भनी घोषणा गरिएको विफर रोगको महामारी पनि इतिहासमा कम पीडादायक थिएन । ईसापूर्व तेश्रो शताव्दीतिर इजिप्टमा देखिएको भनी विश्वास गरिएको यो सरुवा रोग विश्वमा व्यापार व्यवसाय र यातायातको सञ्जाल विस्तारित हुँदै जाँदा सँगसँगै विश्वभर फैलिँदै गई १८ औं शताव्दीसम्ममा विश्वको हरेक कुनामा पुगेको देखिन्छ ।
नेपालमा पनि मल्ल कालमै यो रोगले प्रवेश गर्यो र हजारौं मानिसहरुलाई मृत्युको मुखमा पुर्याउने तथा अङ्गभङ्ग गर्यो । सन् १७९६ मा बेलायती वैज्ञानिक डाक्टर एडवार्ड जेनरले विफरको कारण पत्ता लगाई खोपको आविष्कार गरेपछि नियन्त्रणको थालनी भयो । यसको निर्मूल नै गर्ने विश्वव्यापी अभियान भने विश्व स्वास्थ्य संगठन सुरु भएपछि सन् १९५९ बाट मात्र सुरु भएको हो ।
विश्व स्वास्थ्य संगठनको पहलमा चलाइएका विश्वव्यापी खोप कार्यक्रमका कारण यो घातक सरुवा रोग सन् १९८० मा नियन्त्रणमा आयो । सोही वर्ष मे महिनामा विश्वलाई विफरबाट मुक्त भएको घोषणा गर्यो ।
धेरैजसो महामारी रोगहरु सूक्ष्म भाइरसबाट नै संक्रमण भई विश्वभर फैलिएको देखिन्छ । हालको कोभिड–१९ ले पनि त्यही रुप लिएको हो । यस्तो किन भयो ?
विश्व कार्यकारणको नियमबाट गतिशील
कुनै पनि रोग वा महामारीको पछाडि खास भौतिक कारण रहेको हुन्छ । वैज्ञानिकहरुले कार्यकारणको सिद्धान्तलाई पछ्याएर नै रोग तथा त्यसको उपचारका विधि एवं औषधी आविष्कार गरेका हुन्छन् । कार्यकारणको सिद्धान्त आधुनिक चिकित्सा पद्धतिको मूल आधार हो ।
वर्तमान वैज्ञानिक युगमा चिकित्सा विज्ञानमा मात्र होइन ज्ञानको हरेक क्षेत्रमा कार्यकारणको सिद्धान्तलाई आत्मसात् गरिएको हुन्छ । किनभने कार्यकारण एउटा यस्तो प्राकृतिक नियम हो, जसबाट यो विश्वब्रम्हाण्डका हरेक घटनाहरु भएका हुन्छन् ।
प्रकृति हाम्रो इच्छा र चाहनाको अधिनमा छैन, स्वयं आफ्नै नियममा चलायमान छ । प्रकृतिको नियमलाई हामीले न तोड्न सक्छौं, न त संशोधन नै ।
नव चेतना र बुद्धि–विवेकले प्रकृतिका नियमहरु थाहा पाई त्यसलाई हाम्रो हितमा उपयोग भने गर्न सकिन्छ । कार्यकारणको नियम पनि प्रकृतिको त्यस्तो नियम हो, जसलाई बुझ्दा घटनाहरुलाई हाम्रो हितमा मोड्न सकिने हुन्छ । यदि कार्यकारणको नियमलाई आत्मसात् गर्न सकिएन भने रोगव्याधीलगायत प्राकृतिक विपत्तिबाट उम्किने उपाय निकाल्न हामी असफल हुन्छौं । रोगको कारण पत्ता लगाउनु र त्यस अनुसार उपचारका विधि तथा औषधीको आविष्कार गर्नु भनेको नै कार्यकारणको सिद्धान्तलाई आत्मसाथ गर्नु हो ।
के हो त कार्यकारणको सिद्धान्त ?
विज्ञानको प्रमुख आधार नै भएको कार्यकारणको सिद्धान्त सुरुमा दार्शनिकहरुले अगाडि सारेका हुन् । पूर्वीय ज्ञान इतिहासमा प्राचीन साङ्ख्य दर्शनको स्थान उल्लेखनीय छ । वेद अन्तर्गत उपनिषदहरुमा ठाउँठाउँमा उल्लेख गरिएको यो दर्शनका प्रतिपादक महर्षि कपिललाई मानिएको छ । उनको ‘साङ्ख्य सूत्र’ नै यसको मूल आधार मानिन्छ (डा.भक्त राई, २०७४: २५९, पूर्वीय दर्शन) ।
ईश्वरवादी दर्शनको मूल ग्रन्थ वेदमा समाविष्ट भएको भएपनि साङ्ख्य दर्शनले सृष्टिको मूल कारण प्रकृति (पदार्थ)लाई मानेको भेटिन्छ । यस दर्शनले कार्यकारण सिद्धान्तलाई सत्कार्यवाद नाम दिएको छ । सत्कार्यवादले कुनै पनि वस्तु वा घटनाको उत्पत्ति हुनुपूर्व नै कारण विद्यमान रहने बताउँदछ । अर्थात्, उत्पत्ति हुनुपूर्व नै कारणमा कार्यको सत्ता कायम रहेको हुन्छ । यस अनुसार यदि कार्य हुन्न भने सृष्टि पनि हुन्न । तर, कार्य त सृष्टि हुनुपूर्व कारणमा नै विद्यमान हुन्छ । यसको अर्थ कारण भएपछि कार्य हुनु अवश्यम्भावी छ ।
यदि कार्य सृष्टि हुनुपूर्व नै कारणमा विद्यमान नहुने हो भने त्यो कारण असत् (असत्य) हुन्छ । असत्बाट सत् (सत्य)को उत्पत्ति हुन सक्दैन । सत्कार्यवादले के भन्छ भने उत्पत्तिको अर्थ अव्यक्तबाट व्यक्त हुनु हो र विनाशको अर्थ व्यक्तबाट अव्यक्त हुनु हो । अर्थात्, सृष्टि कार्यमा अव्यक्तभित्र व्यक्त लुकेको हुन्छ र विनाश कार्यमा व्यक्तभित्र अव्यक्त लुकेको हुन्छ ।
- गौतम बुद्धको अर्को सिद्धान्त ‘प्रत्यीत्यसमुत्पाद’ ले तृष्णा स्वयं पनि एउटा कार्य भएको व्याख्या गर्दछ । उनले त्यस सिद्धान्तमा तृष्णाको कारण मनुष्यमा हुने अविद्या भएको बताएका छन् । अर्थात्, अविद्याले गर्दा तृष्णा उत्पन्न हुन्छ र तृष्णाले दुःख जन्माउँछ ।
साङ्ख्य दर्शनले के भन्छ भने ‘असत्बाट सत् उत्पत्ति हुन सक्दैन किनभने जो हुँदैन त्यसमा उत्पन्न गर्ने सामथ्र्य पनि रहँदैन । अभावबाट भावको कल्पना गर्न सकिँदैन । हरेक कारण परिवर्तित भएर कार्यको रुपमा उत्पन्न हुन्छ । त्यसैले कारणको रुपमा अव्यक्त रहेको वस्तु नै कार्यको रुपमा व्यक्त हुन्छ’ । (उही, २७६)
बौद्ध साहित्यहरुमा सिद्धार्थ गौतम बुद्धले महाअभिनिष्क्रमण (गृहत्याग) पछि मगध राजधानी राजगृहमा गई आचार्यहरु आलार कालाम र उद्दक रामपुत्रबाट योग, ध्यानका साथै साङ्ख्य दर्शनबारे पनि जानकारी हासिल गरेको उल्लेख पाइन्छ । सिद्धार्थ गौतम बुद्धले ईसापूर्व ५२८ मा वोधगयाको वोधिवृक्षमुनि वोधिज्ञान प्राप्त गरे । त्यसपछि लगतै उनले पहिलो धर्मचक्र प्रवर्तन (धर्म देशना) सारनाथमा पञ्चवर्गीय भिक्षुहरुसामु गरे । त्यस धर्म देशनामा उनले ‘चार आर्य सत्य’ र ‘प्रत्यीत्यसमुत्पाद’ जस्ता सिद्धान्तबारे चर्चा गरे ।
यी दुईटै कार्यकारण सिद्धान्त अनुरुप निर्मित पृथक सिद्धान्तहरु हुन् । पहिलो सिद्धान्तले मनुष्य जीवनमा पहिलो आर्य सत्य दुःख हो, तर त्यो कारणबिना हुन्न भन्ने बताउँछ । त्यस सिद्धान्त अनुसार दुःख एउटा कार्य (घटना) हो र त्यो सिर्जना हुनुमा निश्चित कारण हुन्छ । मनुष्य जीवनमा दुःख हुनुको निश्चित कारण भनेको तृष्णा (अर्थात् कहिल्यै नटुङ्गिने चाहनाको श्रृङ्खला) हो भनी ‘चार आर्य सत्य’ सिद्धान्तले व्याख्या गर्दछ । त्यस सिद्धान्त अनुसार कारणको रुपमा रहेको तृष्णालाई हटाउने हो भने दुःखको अन्त्य अविसम्भाव्य छ । गौतम बुद्धले तृष्णालाई मेटी दुःखको अन्त्य गर्ने आठ अङ्गको मार्ग पनि सुझाएका छन्, जसलाई आर्य अष्टाङ्गी मार्ग भनिन्छ ।
गौतम बुद्धको अर्को सिद्धान्त ‘प्रत्यीत्यसमुत्पाद’ ले तृष्णा स्वयं पनि एउटा कार्य भएको व्याख्या गर्दछ । उनले त्यस सिद्धान्तमा तृष्णाको कारण मनुष्यमा हुने अविद्या भएको बताएका छन् । अर्थात्, अविद्याले गर्दा तृष्णा उत्पन्न हुन्छ र तृष्णाले दुःख जन्माउँछ ।
बुद्ध भन्छन्, “अस्मिन् सति इदं भवति” (म.नि. १।४।८) । यसको अर्थ ‘यो भएपछि यो हुन्छ’ । अर्थात्, एउटा कारणबाट एउटा कार्य (घटना वा वस्तु) उत्पन्न हुन्छ । यस सिद्धान्तमा बुद्धले एकको विनाशपछि अर्कोको उत्पत्ति हुने बताउँछन् । उनका अनुसार हरेक उत्पादन पछाडि कुनै प्रत्यय अर्थात् कारण विद्यमान हुन्छ । हेतु शब्दले पनि कारणकै अर्थ दिन्छ, जुन अन्य दर्शनहरुमा उल्लेख पाइन्छ । तर, बुद्धले प्रत्ययलाई हेतुजस्तै सामान्य कारण मात्र नभई एउटाको नष्ट भएपछि अर्कोको उत्पत्ति हुने विशिष्ट कारणको रुपमा प्रस्तुत गरेका छन् । अर्थात्, प्रत्यय यस्तो कारण हो जुन कुनै वस्तु वा घटना उत्पन्न हुनुपूर्वको क्षणमा सधैँ लुप्त भइरहेको हुन्छ । (राहुल सांकृत्यायन, १९९२ ः २९, बौद्ध दर्शन)
पूर्वीय दर्शनमा मात्र होइन पश्चिमा दर्शनमा पनि ‘कार्यकारण’ को चिन्तन प्रणालीको सुरुवात प्राचीनकालबाट नै भएको देखिन्छ । कुनै पनि वस्तु वा घटनाको उत्पत्ति पछाडि खास कारण खोतल्ने प्रयत्न गर्नु ‘कार्यकारण’ को चिन्तन प्रणालीलाई लागु गर्नु हो । सिद्धान्तकै रुपमा अगाडि प्रस्तुत नगरिएको भएपनि ईसापूर्व सातौं शताब्दीका थेल्स, ईसापूर्व पाँचौं शताब्दीका महान दार्शनिकहरु हेराक्लिटस र सुकरात, ईसापूर्व चौथो शताब्दीका अरस्तू आदिका विचार र कर्ममा ‘कार्यकारण’ चिन्तन प्रणाली देख्न सकिन्छ ।
- वैज्ञानिक डाक्टरहरुले कोविड–१९ बारे यथार्थ ज्ञान कार्यकारण सिद्धान्तलाई आत्मसात् गरेर नै हासिल गरेका छन् ।
पछिल्लो समयमा आएर १८ औं शताब्दीमा जर्मन दार्शनिक इमानुयल कान्तले अधिभूतवाद (metaphysics) को सरोकारको रुपमा ‘कार्यकारण’ को प्रकृतिलाई प्रस्तुत गरे । उनलाई लाग्थ्यो कि संसारको प्रगति वा उद्विकासबारे मानव बुझाई आउनुपूर्व नै काल र अन्तरिक्षको धारणा आएको हो, र उनी कार्यकारणको प्राथमिकतालाई महसुस गर्दथे । तर, कार्यकारणको सिद्धान्तलाई आधुनिक विज्ञानले दिएका गणितीय एवं भौतिक विज्ञानका आधारहरुबारे उनी अनभिज्ञ थिए ।
प्राचीन दर्शनहरुले ‘कार्यकारण’ को सिद्धान्तलाई विचारको तहमा व्याख्या विश्लेषण गरे । तर, उनीहरुले यस सिद्धान्तलाई यथार्थ भौतिक वस्तु एवं घटनामा लागु गरेर हेरेनन् । त्यसैले यो सिद्धान्त प्राचीन दर्शनहरुमा कैयौं त्रुटीहरुसहित अस्तित्वमा रह्यो । आधुनिक समयमा यस सिद्धान्तलाई विज्ञानले पूर्ण विकसित गरेको छ ।
विज्ञानले विकास गरेको कार्यकारणको सिद्धान्त
आधुनिक विज्ञानमा कार्यकारणको सिद्धान्त मुख्य आधारको रुपमा रहेको छ । विज्ञानले कार्यकारणलाई प्रभाव (influence) को रुपमा व्याख्या गरेको छ, जसमा एक घटना, प्रक्रिया वा कारण (Casuse) ले गर्दा अर्को घटना, प्रक्रिया, परिणति वा असर (effect) उत्पन्न भएको हुन्छ, जहाँ कारण असरका लागि आंशिक रुपले जिम्मेवार हुन्छ र असर पनि आंशिक रुपमा नै कारणमा निर्भर रहेको हुन्छ । सामान्यतः कुनै पनि प्रक्रियामा धेरै कारणहरु रहेका हुन्छन्, जसलाई कारण तत्वहरु पनि भन्ने गरिन्छन् । ती सबै कारण तत्वहरु अतितमा नै विद्यमान रहन्छन् । कुनै पनि असर भविष्यको अर्को नयाँ असरका लागि कारण बन्न पुग्छ । (Bunge, Mario, 1960, 1959, Causality and Modern Science)
विज्ञानले कार्यकारणको सिद्धान्तलाई वहुआयामिकता प्रदान गरेको छ । त्यसले कुनै पनि वस्तु वा घटनापछाडि कारण नै जिम्मेवार हुने कुरा त भयो नै, त्यसका साथसाथै कारणहरु एकल नभई धेरै हुने सत्यतालाई पनि औंल्याएको छ ।
कोविड–१९ मा कार्यकारण
कोविड–१९ को कारण नोवेल कोरोनाभाइरस हो । यहाँ नोबेल कोरोनाभाइरस कारण हो भने कार्य वा परिणति चाहिँ कोविड–१९ हो । तर, नोवेल कोरोनाभाइरस कारण मात्र नभई त्यो असर वा परिणति पनि थियो, जसको कारण अर्कै थियो । वैज्ञानिकहरुले नोवेल कोरोनाभाइरसको कारण चाहिँ उत्परिवर्तनबाट पुरानो कोरोना भाइरसभित्रको डिएनए संरचना परिवर्तन हुनु बताएका छन् । यहाँ उत्परिवर्तन कारण र डिएनए संरचना परिवर्तन कार्य वा परिणति हो । तर, उत्परिवर्तन स्वयंको पनि कारण हुन्छ । वैज्ञानिकहरु अहिले त्यही कारण पत्ता लगाउने अनुसन्धानमा लागी परेका छन् ।
वैज्ञानिक डाक्टरहरुले कोविड–१९ बारे यथार्थ ज्ञान कार्यकारण सिद्धान्तलाई आत्मसात् गरेर नै हासिल गरेका छन् । उनीहरुले यसको निदानका लागि यही सिद्धान्तका आधारमा नै खोपको आविष्कार पनि गर्दैछन् । चीन, रुस र बेलायतका विभिन्न वैज्ञानिक अनुसन्धान एवं प्रयोग परीक्षणहरुबाट कोविड–१९ को निदानका खोपहरु उत्पादन भएका छन् । ती खोपहरु अन्तिम चरणका परीक्षणहरुमा जाँदैछन् । सायद २०२० को अन्तिम सम्ममा ती खोपहरु आम प्रयोगका लागि उपलब्ध हुनेछन् । क्रमशः
विज्ञान/दर्शन नेपाली पब्लिकको हरेक मंगलबार प्रकाशित हुने स्तम्भ हो ।
विज्ञान/दर्शन अन्तर्गतका अरु लेखहरु पनि पढ्नुहोस्-
भाइरसले जीवकोषभित्र प्रशस्त प्रतिलिपि भाइरसहरु बनाउँछ
कोरोना सामान्य होइन, अहिलेको सर्वाधिक डरलाग्दो रोग